
तिलोत्तमा सिटी,६ कार्तिक २०७८। बहुमूल्य पत्थर ह्वाइट जेड स्टोनबाट बनेको साढे २ अर्ब मूल्य बराबरको बुद्धमूर्ति भैरहवा ल्याइएको छ ।गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा राख्न ल्याइएको बहुमूल्य बुद्धमूर्तिलाई शनिबार भैरहवा नगर परिक्रमा गराइएको हाे ।म्यान्मार, हङकङ हुँदै भारतको कोलकाता बन्दरगाहबाट शुक्रबार भैरहवा आइपुगेको उक्त मूर्तिलाई शनिबार भैरहवा र लुम्बिनी क्षेत्रका व्यवसायिक संघसंस्थाहरूले भव्य स्वागत गर्दै नगर परिक्रमा गराएका हुन्।सिद्धार्थ उद्योग वाणिज्य संघ भैरहवा तथा विभिन्न संघ संस्थाहरूको अगुवाईमा भैरहवा भन्सार परिसरबाट शोभा कलश यात्रा गरी उक्त बुद्धमूर्तिलाई आँखा अस्पताल, देवकोटा चोक, मिलन चोक, नारायण पथ हुँदै बुद्धचोकबाट लुम्बिनीतर्फ पठाइएको हो।
उक्त बुद्धमूर्तिलाई लुम्बिनीबाट पुनः विमानस्थल ल्याएर राखिने छ।म्यान्मारस्थित खानीसम्बन्धी कम्पनी मालविन ग्रुपले स्पेनमा रहेको लुम्बिनी गार्डेन फाउण्डेसनलाई उक्त बुद्धमूर्ति उपलब्ध गराएको थियो। फाउण्डेसनले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा राख्न नेपाल ल्याएको हो।विमानस्थलमा राखेपछि आगामी कात्तिक १४ गते राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त बुद्धमूर्ति अनावरण गर्ने कार्यक्रम तय भइसकेको लुम्बिनी गार्डेन फाउन्डेसनका सचिव तुलसीराम लामिछानेले जानकारी दिए।एक दशमलव ९ मिटर उचाइ र ६० सेन्टिमिटर चौडाइ रहेको बुद्धमूर्तिको तौल १ हजार ८ सय किलोग्राम रहेको छ।
कमेन्ट गर्नुहोस्