लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिनाउ काण्ड: झण्डै एक हजार ‘पेट्रोल बम’ भेटिएको प्रहरीको दाबी

tillotmacitynews - 2021 Oct 13 08:57 PM
IMG

तिलोत्तमा सिटी,२७ असोज २०७८। रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्रमा झण्डै एक हजार बोतल ‘पेट्रोल बम’ र घरेलु हतियारहरु फेला परेको सशष्त्र प्रहरीले दाबी गरेको छ ।प्रस्तावित मोतिपुर औद्योगिक क्षेत्रको जग्गामा सुकुम्बासीको नाममा टहरा बनाउने समूह र प्रहरीबीच आइतबार चारजनाको ज्यान जाने गरी झडप भएको थियो ।घटनास्थलमा चलाएको सर्च अभियानका क्रममा झण्डै एक हजार थान बियर र मदिराका बोतलमा पेट्रोल, सिसा र फलामका टुक्रा भरेको अवस्थामा फेला पारेको सशष्त्र प्रहरीले जनाएको छ ।घटना भएका स्थानहरु रानीगन्ज, मगरघाट पुल मुनिको बगर र हरिहरगन्जमा खोजतलास गर्दा तयारी अवस्थामा राखिएका पेट्रोल बम र हसिया,भाटा लगायत घरेलु हतियारहरु फेला परेको सशस्त्र प्रहरी नं.. २७ गणका सूचना अधिकृत सशस्त्र प्रहरी नायब उपरीक्षक निराकार शुक्लाले बताए ।



‘अहिलेसम्म बियर र मदिराका करिब एक हजार थान बोतलमा पेट्रोल,शिशा र ढुंगाका टुक्रा भरेर तयारी हालतमा राखेको भेटियो’–शुक्लाले भने–‘प्रहरीमाथि आक्रमण गर्न निकै ठूलो र योजनावद्ध तयारी गरेको देखिन्छ ।’सर्च अभियान जारी रहेकाले पेट्रोल बम र घरेलु हतियारको यकिन परिणाम बढ्न सक्ने शुक्लाले बताए । गत आईतवार मोतिपुर औधोगिक करिडोरको जग्गा कब्जा गरेर बसेकाहरुलाई हटाउने क्रममा प्रहरी र अतिक्रमणकारी बिच झडप भएको थियो ।झडपमा अतिक्रमणकारीहरुले प्रहरी माथि पेट्रोल बम प्रहार गरेका थिए । पेट्रोल बम लागेर प्रहरी उपरीक्षक राजेश उप्रेतीसहित प्रहरीहरु घाइते भएका थिए ।प्रहरीमाथि आक्रमण भएपछि प्रहरीले गोली चलाउंदा ४ जना सर्वसाधारणको ज्यान गएको थियो । झडपमा नेपाल प्रहरीका ३३ र सशस्त्र प्रहरीका २३ जना गरी ५६ जना सुरक्षाकर्मी घाइते भएकामा १० जना गम्भीर घाइते भएका थिए ।


झडपमा परी १८ जना सर्वसाधारण घाइते भएको प्रहरीले जनाएको छ । घटनाको निष्पक्ष छानवीन गर्न मानव अधिकार तथा शान्ति समाज लगायतका संस्था र प्रमुख विपक्षी दल एमालेले माग गरेका छन् ।स्थिति नियन्त्रणमा लिन आइतबार सांझदेखि कर्फ्यू जारी गरेको रुपन्देही प्रशासनले त्यस क्षेत्रमा जारी गरेको कर्फ्यू भने हटाएको छ।



कमेन्ट गर्नुहोस्