लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

बुटवलमा दशैं सस्तो बजार उद्घाटन

IMG

तिलोत्तमा सिटी,२१ असोज २०७८। बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको आयोजनामा बिहिबारदेखि बुटवलमा दशैं सस्तो बजार सुरु भएको छ । दशैं सस्तो बजारको उद्घाटन गर्दै लुम्बिनी प्रदेश सरकारका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री अजय शाहीले उपभोक्ताको हितलाई मध्येनजर गरेर बुटवल उद्योग बाणिज्य संघले स्रहानीय काम गरेकोमा प्रशंसा गर्नुभयो ।


संघले गरेको दशैं सस्तो बजारमा मन्त्रालयको तर्फबाट आफूले सहयोग गर्ने प्रतिवद्धता पनि उहाँले व्यक्त गर्नुभयो ।प्रदेशको अस्थायी मुकाम बुटवलमा तोकिएपछि संरचना बनाउने क्रममा बुटवल उद्योग बाणिज्य संघले प्रदेश सभा र प्रदेश सभा सचिवालयको लागि आफ्नो भनव उपलब्ध गराएको स्मरण गर्दै उहाँले संघले गरेको योगदान अतुलनीय रहेको बताउनु भयो ।मन्त्री शाहीले दशैंको समयमा दैनिक उपभोग्य बस्तुको खरिदमा उपभोक्ता ठगिने गुनासो आउने स्मरण गर्दै अनुमनलाई प्रभावकारी बनाउन समेत सरकारी संयन्त्रलाई निर्देशन गर्नुभयो ।


मन्त्री शाहीले निजी क्षेत्रको बिकासको लागि आफूले काम काम गर्ने बताउँदै त्यसको लागि १२ वटै जिल्लाका निजी क्षेत्रसंग बसेर रायसुझाव लिने समेत बताउनु भयो ।  संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले संघले आर्थिक तथा सामाजिक क्षेत्रमा गरेको योगदानको स्मरण गर्दै औद्योगिक तथा व्यवसायिक वातावरण बनाईदिन सरकारसंग माग गर्नुभयो ।


यहि असोजको २५ गतेसम्म सञ्चालन गरिने दशैं सस्तो बजारमा दैनिक उपभोग्य बस्तु तथा नया नोट सटहीको समेत गरी ३० स्टल राखिएको छ । दशैं सस्तो बजारमा नेपाल राष्ट्र बैंकले उपलब्ध गराएको नयाँनोट सटहीको लागि ग्लोवल आईएमई बैंकले व्यवस्थापन गरेको छ । त्यस्तै नेपाल दुग्ध बिकास संस्थानको दुग्दजन्य उत्पादन, साल्ट ट्रेडिङ्को नुन लगायतका दैनिक उपभोग्य सामाग्रि सहित मासु तथा अण्डा समेत सस्तो बजारमा राखिएको छ ।


दशैं सस्तो बजारमा बाहिर बजारमा भन्दा सुलभ मुल्यमा उपलब्ध गराईने संयोजक तथा बुटवल उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य कृष्ण श्रेष्ठ (कुलप्रसाद)ले बताउनु भयो ।कार्यक्रममा बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय भैरहवाका प्रमुख टेकराज भट्टराई, संघका सल्लाहकार तथा पूर्व अध्यक्ष अर्जुनमान सैंजु, उपभोक्ता हित संरक्षण मञ्चका समुन्द्र जिसी, बुटवल उपमहानगरपालिका वडा नं. ६ का वडा अध्यक्ष तेजप्रसाद विक, सिद्धार्थनगर उद्योग वाणिज्य संघका अध्यक्ष भिष्म न्यौपाने, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश महासचिव बिक्रम खड्का लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।


संघका वरिष्ठ उपाध्यक्ष दिनेशप्रसाद श्रेष्ठको धन्यवाद तथा महासचिव बिमलराज भट्टराईको सञ्चालनमा कार्यक्रम भएको थियो ।

कमेन्ट गर्नुहोस्