लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

सम्वाद र वार्ताबाट एमाले भाग्न खोजेको सर्वदलीय निष्कर्ष

IMG

तिलोत्तमा सिटी, असोज १४ गते २०७८। सर्वदलीय बैठकले प्रमुख प्रतिपक्षी दल नेकपा एमाले संवाद र वार्ताबाट भाग्न खोजेको निष्कर्ष निकालेको छ । बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवाको आह्वानमा बसेको बैठकमा एमाले सहभागी नभएपछि सर्वदलीय बैठकले यस्तो निष्कर्ष निकालेको हो ।सरकारका प्रवक्ता ज्ञानेन्द्र कार्कीले सर्वदलीय बैठकमा बोलाउँदा बोलाउँदै पनि एमाले सहभागी नभएर वार्ता र संवादबाट भाग्न खोजेको बताए । कार्कीले हाल संसदमा देखिएको गतिरोध अन्त्य जरुरी रहेको निष्कर्ष बैठकले निकालेको बताए।


उनले भने, ‘बैठकमा संसदमा प्रतिनिधित्व गर्ने सवै दल उपस्थित भए तर प्रमुख प्रतिपक्षी दल नेकपा एमाले आज उपस्थित भएन । उहाँहरुले संसद अवरोध गरिरहनुभएको छ । उहाँहरूसँग सम्वाद र वार्ता गर्नका निमित्त यो भन्दा अघि सभामुखले पनि यस्तै किसिमको सर्वदलीय बैठकको आयोजना गर्नुभयो, त्यहाँ पनि अनुपस्थित हुनुभयो । यसले गर्दा उहाँहरु संवाद र वार्ताबाट भाग्न खोजेको देखियो ।’


सरकारका प्रवक्ता कार्कीले यो बैठकमा अनुपस्थित भएपनि आगामी बैठकमा एमाले सहभागी हुने विश्वास व्यक्त गरे। प्रधानमन्त्रीको भनाई उदृत गर्दै कार्कीले भने,‘प्रधानमन्त्री शेरबहादुर देउवाले एमाले अध्यक्ष ओली यो बैठकमा अनुपस्थित भए पनि फेरि उहाँहरु आउनु हुनेछ भन्नु भएको छ । यो बैठकमा संघीय संसदलाई निर्वाध रुपमा अघि बढाउनेबारे छलफल भएको छ।’ यसअघि सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको बैठक पनि एमालेले बहिष्कार गरेको थियो ।

कमेन्ट गर्नुहोस्