
तिलोत्तमा सिटी, असोज १४ गते २०७८। संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले नेपालमा सञ्चालनमा रहेका वायुयानहरुको अवस्था अध्ययन गर्न पाँच सदस्यीय समिति गठन गरेको छ ।प्रधानमन्त्री तथा संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री शेरबहादुर देउवाको निर्णय अनुसार मन्त्रालयले सहसचिव वुद्धिसागर लामिछाने संयोजकत्वको समिति गठन गरिएको हो ।समितिमा नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वनिर्देशक भेषराज सुवेदी, वरिष्ठ क्याप्टेन कृष्णबहादुर पौडेल र पर्यटन मन्त्रालयका उपसचिव प्रमोद नेपाल सदस्य र प्राधिकरणका प्रबन्धक लक्ष्मण देवकोटा सदस्य सचिव तोकिएका छन् ।
समितिले आइकाओबाट स्वीकृत मापदण्ड वायुसेवा कम्पनीले पालना गरेको वा नगरेको बारेमा नेपालको नागरिक उड्डयन प्राधिकरणले गरेको परीक्षण प्रतिवेदनको समेत पुनरावलोकन गर्ने जिम्मेवारी पाएको छ ।समितिलाई यसका लागि तीन महिनाको समय दिइएको छ । सोमबार बुद्ध एयरको जहाजको ल्याडिङ गियर नखुलेर विराटनगर गएको जहाज काठमाडौं फर्काइएको थियो । यस घटनापछि हवाइ क्षेत्रको प्रभावकारिता तथा विश्वसनीयता बढाउन सहयोग पुर्याउने उद्देश्यले समिति गठन गरिएको मन्त्रालयले जनाएको छ ।
कमेन्ट गर्नुहोस्