लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

गृहमन्त्री ज्यू ? सुन्नुस त गृहनगरमा न्यायका लागी लडिरहेका छन्

IMG

तिलोत्तमा सिटी,१४ असोज २०७८। घटना भएको २५ दिनसम्म पनि आफ्नै गृहनगरको घट्ना सडकमा तातिरहेको बखत गृहमन्त्री रहेका यस क्षेत्रका नेताले कुनै पनि प्रतिक्रिया नदिएको प्रति सीताका माईति पक्ष आक्रोशित छन्। प्रहरी प्रशासनले अनुसन्धान र न्यायिक प्रक्रियामा विश्वास दिलाउन नसक्दा गृहमन्त्री बालकृष्ण खाँणको गृहनगर रुपन्देहीको तिलोत्तमामा दैनिक न्यायका लागि प्रदर्शन भइरहेको छ। गत भदौ २० गते  पतिसँगै रहेकी तिलोत्तमा-५ मणिग्रामकी २७ वर्षीया सिता भण्डारी पौडेल मृत भेटिएकी थिइन्। सिताको परिवारकै योजनामा हत्या गरिएको र आफुलाई पोस्ट मार्टम रिपोर्ट प्रति बिश्वास नलागेको र पुन: टेस्ट गर्न भन्दै माइती पक्षले तीन साता ३ दिन वित्दा पनि शव बुझ्‍न मानेका छैन।




सिताको हत्या भएको भन्दै माइती पक्षले तिलोत्तमा नगरपालिकामा तालाबन्दी, चक्काजाम तथा प्रदर्शनलाई चर्कारहेका छन्। प्रहरीले झुन्डिएर मृत्यु भएको भन्दै हत्या पुष्टि नहुने जिकिर गर्दै आएको छ भने माइती पक्षले हत्या नै भएको दाबी गरिरहेका छ। तीन सातादेखि न्यायका लागि तिलोत्तमामा आन्दोलन चलिरहेको छ। तर, यस घटनाका सन्दर्भममा गृहप्रशासन संवेदनशील नभएको माइती पक्षको आरोप छ। मृतक सिताको घर गृहमन्त्री खाँणको घर रहेको नजिक माईति र घर पनि सोहि बाटो भएर जाने तिलोत्तमा नगरपालिका ५ कफी कम्पनी नजिकै छ। गृहनगरमै भएको यो घटनामा गृहमन्त्रीले कुनै प्रतिक्रिया दिएका छैनन्। महिला अधिकारका क्षेत्रमा काम गर्नेहरु समेत एक महिलाको न्यायका लागि प्रदर्शन भइरहे पनि मौन छन्। स्थानियले आन्दोलनका क्रममा भनेका छन् - गृह मन्त्री ज्यू सुन्नुस त तपाइको गृहनगरमा न्यायका लागी हामी निरन्तर २५ दिन देखि सडकमा तातो घाममा लडिरहेका छौ यसमा तपाइको प्रतिक्रिया के ? 

 



तर, सामाजिक सञ्जालमा भने यो घटनाको व्यापक विरोध भइरहेको छ। मृतक सिताका बुवा हरि भण्डारीले घटनाको अनुसन्धानमा प्रहरीले चासो नै नदिएको आरोप लगाएका छन्। ‘शरिरभरि रगत छ, निलडाम छ,’ उनले भने, ‘यो आत्महत्या होइन, हत्या नै हो, हामीले छोरी गुमायौं, न्याय चाहियो।’ सिताका श्रीमान टिका पौडेल र उनको परिवारको योजनामा हत्या गरेको माइती पक्षको ठाडो आरोप छ। पहिल्यैदेखि छोरीमाथि हिंसा हुने गरेको र तीज मनाउन आएको बेला एक्कासी घर बोलाएर भोलीपल्ट घटना भएकाले हत्या नै भएको मृतकका भाइ सुरज भण्डारीले बताए। उनले प्रहरीले पोष्टमार्टम रिपोर्टमा घाउ चोटपटक देखाउँदा पनि इन्कार गरेर घटना मोड्न खोजेर अन्यत्र लगेको आरोप लगाए।




सीताको आत्महत्या भएको लुम्बिनी प्रादेशिक अस्पतालको पोस्टमार्टम रिपोर्टले देखाएको प्रहरीले बताउँदै आएको छ। प्रहरीका अनुसार मृत्यू हुने अवस्थासम्म आउनुमा केटाको विगतको व्यवहारले भूमिका खेलेको बताउँदै भदौ २२ गते नै आत्महत्या दुरुत्साहन मुद्दा चलाएको बताएको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक सत्यनारायण थापाले घटनाका सन्दर्भममा प्रहरीले अनुसन्धानमा कुनै कसुर बाँकी नराखेको बताए। ‘प्रहरीलाई शंका गर्नुपर्ने कुनै कारण छैन, हामीले अनुसन्धान गरिरहेका छौं,’ उनले भने। उनका अनुसार आत्महत्या दुरुत्साहन मुद्दालाई अघि बढाइएको र सीताका पति टीका, टीकाकी दिदी (अमाजु) विष्णु पौडेल र जेठाजु हरि पौडेललाई नियन्त्रणमा लिइएको छ।


पोस्टमार्टम रिपोर्ट नआउदै घटना दर्ता गर्न नमानेको र रिपोर्ट आएपछि आत्महत्या भएको भन्दै सुरुमा जाहेरी लिन मानेको थिएन। माइती पक्षको विरोध र चर्को दबाबपछि मृतक सिताका श्रीमान् र उनकी दिदीलाई हिरासतमा लिएर अनुसन्धान थालेको थियो। माइती पक्षले निरन्तर आन्दोलन गरेपछि प्रमुख जिल्ला अधिकारीमार्फत हत्याको जाहेरी समेत दर्ता गराएका छन्। तर, सरकारी वकिल कार्यालयले भने आत्महत्या दुरुत्साहनकै मुद्दा चलाउने गरी प्रक्रिया अघि बढाएको माइतीको आरोप छ। छिमेकी मणि न्यौपानेले प्रहरी र प्रशासनले पीडितहरुसँग नाटक मञ्‍चन गरेको भन्दै न्यायका लागि कहिलेसम्म आन्दोलन गर्नुपर्ने हो? भन्दै प्रश्न गरे।


सीआईबीको टोली समेत अनुसन्धानका लागि रुपन्देहीमा बसेर फर्केको छ। तर अनुसन्धानमा के भेटियो भन्‍ने जानकारी गराइएको छैन। माइती पक्ष र स्थानीयले लगातार विरोधका कार्यक्रम जारी राखेका छन्। तिलोत्तमा नगरका वडा कार्यालयमा बुधबार नै तालावन्दी गरेपछि स्थानीय सरकारको काम प्रभावित भएको छ। शुक्रबार मणिग्राममा प्रदर्शन गर्दा केहिबेर प्रहरीसँग झडप समेत भएको थियो। मृतक सिता भण्डारीको शव लुम्बिनी प्रादेशिक अस्पतालमा २५ दिनदेखि राखिएको छ।



कमेन्ट गर्नुहोस्