लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमामा घाट्गद्धिको गिट्टीबालुवामा भएको खर्चको क्षतिपूर्ति माग

IMG

तिलोत्तमा सिटी,१३ असोज २०७८। रुपन्देहीको तिलोत्तमा नगरपालिका पहुनीमा रहेको गिट्टी बालुवा घाट्गद्धिमा आफ्नो ढुवानी खर्च भएको भन्दै ठेकेदार सस्थाले खर्च पाउ भनि निबेदन दिएको छ । अवैध उत्खनन् गरिएको गिट्टी बालुवामा ठेकेदार कम्पनी हिराचन-कालीगण्डकी-सिद्धार्थ जे.भी. सियारीले क्षतिपूर्तिको माग गरेका हुन् । आफूहरुले नै अवैध रुपमा उत्खनन् गरेको गिट्टी बालुवाको उत्खनन् तथा ढुवानी खर्च पाउनुपर्ने माग राख्दै नगरपालिकासँग आग्रह गरेका हुन् । तिलोत्तमा–६ पहुनीमा मापदण्ड विपरित अनुमतिभन्दा ३ गुणा बढी गिट्टी बालुवा उत्खनन् गरेका उनीहरुले नियमानुसार पाउनुपर्ने गिट्टी बालुवा ढुवानी गरेर लगिसकेको भए पनि बाँकी रहेको गिट्टी बालुवाको समेत ढुवानी खर्च माग गरेका हुन्। 


हिराचन-कालीगण्डकी-सिद्धार्थ जे.भी. सियारीसँग संयुक्त लगानी गरेका उनीहरुले नदीदेखि घाटगद्धीसम्म ढुवानी र उत्खनन् गर्दा लागेको खर्च पाउनुपर्ने माग गर्दै नगरपालिकामा निवेदन पेश गरेको नदिजन्य पदार्थ अनुगमन समितिका सदस्य दिवाकर ढकालले बताए। उनीहरुले अवैध देखिएको गिट्टी बालुवा ढुवानी गर्दा लागेको खर्च माग गर्दै नगरपालिकामा निवेदन दिएका हुन् ।


कम्पनीले प्राप्त गरेको अनुमति अनुसार ८ लाख ४७ हजार २ सय घनफिट मात्रै उत्खनन् गर्नुपर्ने भए पनि अनुमतिभन्दा करिब ३ गुणा बढी २३ लाख ७९ हजार ३८ घन फिट उत्खनन् गरेका थिए । तिलोत्तमा-६ को तिनाउ नदीमा पुल निर्माणका लागि उत्खनन् गरिएको उक्त गिट्टी बालुवा अनुमतिभन्दा बढी भएपछि नगरपालिकाले आवश्यक नापजाँच गरी अवैध माल भन्दै सुचना जारि गरेर जफत गरेको थियो । अवैध देखिएको १५ लाख ३१ हजार ८३८ घन फिट मध्ये ३ लाख २५ हजार घन फिट शुद्धोधन गाउँपालिकाको भएकाले उसैलाई बुझाइएको र बाँकी रहेको १२ लाख घनफिट गिट्टी बालुवा बिक्रीका लागि बोलपत्र आह्वान गर्दा पनि कुनै कम्पनीले इच्छा व्यक्त नगरेपछि नगरका सडक मर्मतमा प्रयोग गर्न लागिएको नगरपालिकाले जनाएको छ । कुनैपनि कम्पनीले इच्छा व्यक्त नगरेपछि नगरपालिकाले विभिन्न वडाका सडकहरुमा मर्मतका लागि प्रयोग गर्ने गरी साउन ७ गतेको नगरपरिषद् बैठकले निर्णय गरेको थियो ।


ठेकेदार पक्षका एक जनाले आफूहरुलाई नगरपालिकाले खोला देखि गद्धी स्थल सम्म पुर्याएको ढुवानी क्षतिपूर्ति दिनुपर्ने बताउँछन् । ‘आवश्यक भन्दा बढी उत्खनन् गरिएको भएपनि उक्त माल उत्खनन् तथा ढुवानी र लोड अनलोडको पैसा नगरपालिकाले हामीलाई दिनुपर्छ ।’– उनले भने ‘उत्खनन् गर्दा हामीले गरेको लाखौं लगानी डुब्ने भयो, नगरपालिकाले माल लैजान नदिएपनि ढुवानी खर्च दिनुपर्छ’। नगरपालिकाले सो ठाउबाट बाटो मर्मत र खाल्डाखुल्डी पुर्ने प्रयोजनका लागि गिट्टी बालुवा उठाउने क्रममा ठेकेदार सस्थाका केहि व्यक्तिहरुले अबरोध सृजना गरेका थिए। 

कमेन्ट गर्नुहोस्