
तिलोत्तमा सिटी,१२ असोज २०७८। बैंक तथा वित्तीय संस्थाहरुमा लगानीयोग्य रकम (तरलता) समस्या झन बढ्ने देखिएको छ । कर्जा (ऋण) लगानीमा आक्रामक भएका बैंकहरुले निक्षेप संकलन भने अत्यन्तै न्युनमात्रै गरेका कारण बैंकहरुमा तरलता अभाव हुने संकेत देखिएको हो ।असोज महिनाको पहिलो सातामा पनि २७ वाणिज्य बैंकहरु कर्जा लगानीमा आक्रामक देखिएका छन् । बैंकहरुले लिएको निक्षेपको ९० प्रतिशत मात्रै बैंकहरुले कर्जा लगानी गर्नुपर्ने हुन्छ । तर, पछिल्लो साताको तथ्यांक हेर्दा निक्षेपभन्दा तेब्बर धेरै ऋण लगानी भएको छ ।वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको छाता संस्था नेपाल बैंकर्स संघको तथ्यांकअनुसार असोज पहिलो सातामा बैंकहरुले ३१ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । तर यहीँ अवधिमा भने यी बैंकहरुले जम्मा ९ अर्बमात्रै निक्षेप संकलन गरेका छन् । यसले पनि बैंकहरुमा तरलता समस्या तत्कालै समाधान भइहाल्दैन कि भन्ने संकेत गरेको छ ।
बैंकर्स संघका अनुसार भदौ मसान्तसम्म बैंकहरुले ३८ खर्ब ७२ अर्ब रुपैयाँ कर्जा लगानी गरेका थिए । असोज ८ गतेसम्म आइपुग्दा यी बैंकहरुले कर्जा बढाएर ३९ खर्ब ३ अर्ब पुर्याएका छन् । उता निक्षेप भने भदौ मसान्तसम्म ४१ खर्ब ७१ अर्ब रुपैयाँ रहेकोमा असोज ८ सम्म जम्मा ९ अर्ब रुपैयाँलेे मात्रै बढेर ४१ खर्ब ८० अर्ब रुपैयाँमात्रै पुर्याएका छन् ।नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक तथा प्रवक्ता देवकुमार ढकालका अनुसार अहिले वित्तीय बजारमा २२ अर्ब रुपैयाँ तरलता रहेको छ । राष्ट्र बैंकले बजारमा लगानी योग्य रकम अभाव भए पछि केही दिनअघि मात्रै २० अर्ब रुपैयाँ रकम बजारमा पठाएको थियो ।
अहिले बजारमा तरता धेरै नरहेको र थोरैमात्रै घटबढ भइरहेको प्रवक्ता ढकालले बताए । दशैं आएकाले खर्च गर्न नगद निकालिएका कारण पनि बैंकहरुमा धेरै निक्षेप नबढेको उनको भनाइ छ । दशैंका बेला सर्वसाधारणले धेरै खर्च गर्ने र खर्चका लागि बैंकमा भएको रकम समेत निकाल्ने भएकाले यो महिना धेरै निक्षेप बढ्दैन । दशैंपछि भने वित्तीय बजारमा तरलता बढ्दै जाने राष्ट्र बैंकको विश्वास छ ।बैंकर्स संघका अध्यक्ष भुवन दाहाल पनि दशैंपछि कात्तिकमा बजारमा तरलता हुने र ब्याजदर समेत घट्ने बताउँछन् । बजारमा तरलता अभाव हुन नदिन रेमिट्यान्सको समेत महत्वपूर्ण भूमिका हुन्छ ।साउन महिनामा रेमिट्यान्स १८ प्रतिशतले घटेको छ । यसकारण पनि बजारमा तरलता धेरै हुन सकेन । तर, अब दशैंमा रेमिट्यान्स पनि बढ्ने र सरकारी खर्च समेत बढ्दा तरलता समस्या समाधान हुने अध्यक्ष दाहाल बताउँछन् ।
कमेन्ट गर्नुहोस्