लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

नेपाल–चीन सीमाबारे अध्ययन प्रतिवेदन आयो,कार्यान्वयन पहल गर्छु : गृहमन्त्री खाण

IMG

तिलोत्तमा सिटी,१० असोज २०७८। नेपाल–चीन सीमा सम्बन्धमा लिमी लाप्चादेखि हिल्सासम्मको सीमासम्बन्धी अध्ययन गर्न गठित समितिले आफ्नो प्रतिवेदन गृह मन्त्री बालकृष्ण खाणलाई बुझाएको छ ।समितिका संयोजक गृह मन्त्रालयका सहसचिव जयनारायण आचार्यले मन्त्रालयमा आयोजित कार्यक्रममा प्रतिवेदन मन्त्री खाणलाई बुझाउनुभएकाे हाे ।  


प्रतिवेदन बुझ्दै मन्त्री खाणले समितिले स्थलगत अध्ययन गरेर सत्य/तथ्य पत्ता लगाइ तयार पारेको प्रतिवेदन कार्यान्वयन गर्न पहल गर्ने प्रतिबद्धता जनाउनुभयो । ‘यहाँहरूले स्थलगत अध्ययन गरी हुम्लाको लिमी लाप्चादेखि हिल्सासम्मको सीमाबारे सत्य/तथ्य जानकारी समेटेर प्रतिवेदन बनाउनुभएको छ । यसले देशका अन्य ठाउँमा रहेका सीमाबारे पनि अध्ययन गर्न बाटो खुलेको छ’, उहाँले भन्नुभयो, ‘अध्ययनमा यहाँहरूले औल्याउनुभएका विषयवस्तु कार्यान्वयन गर्न सरकारले पहल गर्नेछ ।’मन्त्री खाणले विकट ठाउँमा पुगेर सहज तरिकाले काम सम्पन्न गरेकामा अध्ययन टोलीलाई धन्यवादसमेत दिनुभयो । अध्ययन त्यस क्षेत्रको भू–भाग रक्षा गर्न र त्यहाँको जनजीवनबारे बुझ्न महत्त्वपूर्ण हुने उहाँले बताउनुभयो । 


प्रतिवेदनबारे अध्ययन टोलीका संयोजक सहसचिव आचार्यले निष्कर्ष र सुझावबारे मन्त्री खाणलाई जानकारी गराउनुभएको थियो । टोलीमा नापी विभागका उपमहानिर्देशक सुशील डङ्गोल, नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक उमेशराज जोशी, सशस्त्र प्रहरीका वरिष्ठ उपरीक्षक प्रदीपकुमार पाल र राष्ट्रिय अनुसन्धान विभागका सहअनुसन्धान निर्देशक कुशोरकुमार श्रेष्ठ सदस्य हुनुहुन्थ्यो ।मन्त्रिपरिषद् बैठकले गएकाे भदौ १६ गते नेपाल–सीमा अध्ययनका लागि समिति बनाएको हो । 

कमेन्ट गर्नुहोस्