लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

२ फिट ३ इञ्च उचाइका सप्तरीका बौन दासलाई जीवनयापनमा समस्या

IMG
तिलोत्तमा सिटी,५ असोज २०७८।  शौचालय आफैं जान सक्दैनन् उनी । तिर्खा लागेमा एक गिलास पानी लिन पनि अर्कैको सहारा चाहिन्छ । एक ठाउँबाट अर्को ठाउँमा त के एक घरबाट अर्को घर जान पनि समस्या हुन्छ उनलाई ।सप्तरीको तिलाठी–कोइलाडी गाउँपालिका–८ तोपाका बौन दासलाई सानैदेखि यो कष्ट भोग्नुपरिरहेको छ । उनलाई कसैले एक्कासी हेर्दा बच्चा नै हो कि भन्ठान्छन् । तर, दास अहिले ३६ वर्षका भएका छन् । उनको उचाइ २ फिट ३ इन्च छ ।उनी जन्मजात नै पूर्ण रुपमा शारीरिक अपांगता छन् । खुट्टासँगै हातको बल नदिई उनी घस्रिन समेत सक्दैनन् । उनी घस्रिएरै एक ठाउँबाट अर्को ठाउँ जान्छन् । सबैभन्दा पीडा उनलाई दिसा गर्ने बेलामा हुन्छ । घरमा शौचालय छैन । बिहान घस्रिएरै खेतबारी जानुपरेको पीडा बौन सुनाउँछन् ।

तीन दाजुभाइमध्ये माइला हुन् उनी । दाजु र भाइले कुनै मतलब नै नराखेको उनको भनाइ छ । आमाबुवाको निधनपछि बौन कान्छा भाइ–बुहारीसँग एउटा फुसको घरमा बस्दै आएका छन् ।आफ्नो घरमा कष्टप्रद जीवन बिताइरहेका उनलाई खाना पकाएर कान्छा भाइकी श्रीमतीले दिने गर्छिन् । उनको रेखदेखमा त्यति ध्यान दिएको पाइँदैन । घरमा कल (ट्युबवेल) त छ तर पानी भरेर पिउन सक्दैनन् उनी । कल चलाउन उठ्नुपर्छ । तर उनी उठ्नै सक्दैनन् । ‘घरमा कोही भएपछि पानी पिउँछु, नभए हल्ला दिएर छिमेकीलाई नै बोलाउनुपर्छ,’ उनी भन्छन् । पूर्ण अपांगता भए पनि गाउँपालिकाले उनलाई हरियो कार्ड दिएर सुविधा दिँदै आएको थियो । अहिले केही युवाहरुको मद्दतमा उनलाई रातो कार्ड दिइएको छ । ‘चालु आर्थिक वर्षदेखि उनलाई रातो कार्ड दिइएको छ,’ स्थानीय युवा कौशल यादवले भने । सरकारबाट आउने अपांगता भत्ताबापतको रकम भाइलाई दिएपछि त्यसबापत उनले खाना खाँदै आएका छन् ।

कमेन्ट गर्नुहोस्