
तिलोत्तमा सिटी,२ अशोज २०७८। लुम्बिनी प्रदेश सरकारले स्थायी राजधानीमा मुख्यमन्त्रीको सम्पर्क कार्यालय स्थापना गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको लुम्बिनी प्रदेशको मन्त्रिपरिषद् बैठकले स्थायी राजधानीमा मुख्यमन्त्रीको सम्पर्क कार्यालय स्थापना गर्ने निर्णय गरको हो । गत वर्ष प्रदेशसभाले दाङको भालुवाङ क्षेत्रलाई लुम्बिनी प्रदेशको राजधानी घोषणा गरेको थियो ।बैठकले मुख्यमन्त्री कार्यालयका लागि आवश्यक पूर्वाधार तयार पार्न पर्यटन तथा शहरी विकास मन्त्रालयलाई जिम्मा दिने निर्णय गरेको प्रवक्ता कृष्णध्वज खड्काले बताए ।मन्त्रिपरिषदको शुक्रबार बसेको बैठकले असोज ३ गते संविधान दिवसका अवसरमा प्रदेशभित्रका विभिन्न क्षेत्रमा योगदान पुर्याउने ५७ जनालाई प्रदेश सरकारको तर्फबाट कदर तथा सम्मान स्वरुप प्रदेश पदकद्वारा विभूषित गर्ने घोषणा गर्ने जनाएको छ ।
बैठकले साविक मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रमको सट्टा मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रमका नाममा सञ्चालन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता खड्काले बताए ।यस्तै मुख्यमन्त्रीको जनसम्पर्क सल्लाहकारमा घर्तिगाउँ रोल्पा निवासी रमेशबहादुर वली क्षेत्रीलाई नियुक्त गरेको छ । यसैगरी बैठकले कर्मचारी व्यवस्थापन सम्बन्धी कार्यविधि, २०७८ दोस्रो संशोधन स्वीकृत गरेको छ ।प्रदेश सरकारले झिमरुक गाउँपालिकाको गाउँसभाबाट प्राप्त प्रस्ताव अनुसार गाउँपालिकाको केन्द्रको नाम भ्यागुतेको सट्टा मच्छि कायम गर्न, त्रिवेणी गाउँपालिकाका र रोल्पा नगरपालिकाको वडाहरुलाई थपघट÷समायोजन गर्न संघीय सरकारलाई प्रस्ताव गर्ने निर्णय गरेको छ ।यसैगरी बुटवल उपमहानगरपालिकाको वडाहरुलाई छुट्याउने प्रस्तावलाई समेत संघीय सरकारलाई पठाउने मन्त्रिपरिषद्को बैठकले निर्णय गरेको छ ।
कमेन्ट गर्नुहोस्