लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

सीताको शव आठ दिनसम्म उठेन,कडा छानबिन गर्न आग्रह : तिलोत्तमा घटना

IMG

तिलोत्तमा सिटी, २८ भदौ २०७८। रुपन्देहीको तिलोत्तमा नगरपालिका–५ घर भएकी २७ वर्षीय सीता भण्डारी पौड्यालको मृत्यु भएको आठ दिन बित्दा पनि उनको शव उठेको छैन । माइती पक्षले घटनालाई हत्या भन्दै उच्चस्तरीय छानबिनको मागसहित शव बुझ्न अस्वीकार गरेको छ। मणिग्रामका ४३ वर्षीय टीका पौड्यालकी पत्नी सीता भदौ २० गते आफ्नै घरको कोठामा मृत अवस्थामा फेला परेकी थिइन् । पोष्टमार्टम रिपोर्टमा भने सीताले झुण्डिएर आत्महत्या गरेको ( हेन्गिंग) देखिएको छ । 


तर माइती पक्षले भने सीता आफ्नै घरको कोठामा मुखबाट रगत बगेको, गला कसिएको र भुइँमा लडेको अवस्थामा मृत फेला पर्नु शंकास्पद भएको छ । घटनास्थलको प्रकृति र पृष्ठभूमिले छोरीको हत्या नै भएको भन्दै किटानी जाहेरी दिएका थिए । तर प्रहरीले किटानी जाहेरी लिन मानेन । प्रहरीले जाहेरी लिन नमानेपछि माइती पक्ष, आमा समूहलगायतले दिनहुँजसो घर घेराउ, राजमार्गमा चक्काजाम लगायतका आन्दोलन जारी राखेका छन् । आन्दोलन नरोकिएपछि प्रहरीले मृतकका श्रीमान् टीका पौड्यालसहित तिलोत्तमा-५ का वडा सदस्य रहेका मृतकका जेठाजु हरि पौडेल र पौडेलकी दिदी ( मृतक कि अमाजू) विष्णुलाई नियन्त्रणमा लिएको छ ।




आखिर के भएको थियो घटनामा ?

मृतकका बुबा हरिप्रसाद भण्डारीका अनुसार भदौ ६ गते तीज मान्न सीतालाई उनका पति टिकाले माइतीमा छोडेका थिए । तर भदौ १९ गते दिउँसो घरमा भतिजीको जन्मदिन मनाउने कार्यक्रम छ भन्दै सीतालाई फोन गरेर घरमा बोलाएका थिए । घटना हुनुको केही दिन अघि ज्वाइँ टिकाले फोन गरेर ‘छोरीको भविष्यको आफैं व्यवस्था गर्नु’ भनेका थिए ।पतिले बोलाएपछि सीता भदौ १९ गते दिउँसो घर पुगेकी थिइन् । २० गते बिहान ५ बजेतिर टिकाले ससुरा हरिप्रसादलाई जरुरी काम छ तुरुन्त आफ्नो घर आउनू भनेर बोलाएका थिए । हरिप्रसाद छोरीको घर पुग्दा सीताको मृत्यु भइसकेको थियो । तर टिका घरमा थिएनन् । 




केही समयपछि उनी मदिरा सेवन गरेर आएको र उनले आफ्नी दिदीका कारण घरका अरु मान्छेको पनि ज्यान खतरामा रहेको बताएको  हरिप्रसाद बताउँछन् ।सीताको घाँटीको पासो काटिएको अवस्थामा थियो । सीताको मृत्युको जानकारी परिवारका अरु सदस्यलाई नहुनु, प्रहरी नआउँदै पासो काटिनु, मुखबाट रगत बगेको, गला कसिएको र भुइँमा लडेको अवस्थामा भेटिनुले आत्महत्या नभई हत्या नै भएको माइती पक्षको दाबी छ । माइती पक्षले पोष्टमार्टम रिपोर्टमा आर्थिक चलखेल गरी आत्महत्या बनाइएको आरोप लगाउँदै प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)बाट घटनाको छानबिन हुनुपर्ने माग गरेका छन् ।


कमेन्ट गर्नुहोस्