लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

लाहुरे जीवन : त्यो दिन

IMG

तिलोत्तमा सिटी,०३ भाद्र २०७८, बिहिबार। कुनैबेला यस्तो पनि  थियो जतिबेला लाहुर जाने चलनले प्रसिद्धि पाएको थियो।लाहुरबाट फर्केका दाजुभाइले हातमा ठुलो टेप रिकाट लिएर पानको पात गीत बजाउँदै फर्कन्थे।साथमा भरियालाई गुन्टो बोकाएर गाउँमा छिर्दा हामिलाई रमाइलो लाग्दथ्यो।त्यस्तो देख्दा लाहुर जाउँजाउँ हुन्थ्यो। एकदिन म स्कुलको पढाइ सकेर घर जाँदै थिएँ। बाटोमा एक जना छिमेकी दर्जी दाइसँग भेट भयो।वहाँ भर्खर साउदी अरब बाट आउनु भएको रहेछ।वहाँको नाडिमा  पहेँलो सुनको जस्तो घडी बाँधिएको थियो।बेलिबटम पाइन्ट अनि सेता जुता लगाउनु भएको थियो।वहाँको सिल्की कमेज टलक्क टल्केको थियो।मेरो कमेज बर्खायामको पानीले नसुकेर खई जस्तो कालो दागी लागेको थियो।पातिघारिको बाटोमा वहाँसँग  गरेका कुराले  मलाई  बिदेश जाउँजाउँ लागेको थियो।आज ती  दिनको सम्झनामा  म र मेरो जिवनको  यात्राको पाना बाट।


फोगटो बेचेर भनेपनी सन्तानलाई धेरै पढाउने हरेक आमाबुबाको सपना एकातिर,बिदेश गएर पैसा कमाउने मेरो सपना अर्कोतिर थियो।त्योबेला मेरो खुट्टा दुईटा डुङ्गामा ढलमल गरिरहेको थियो।एक रात म गृहकार्य गर्न पानस बालेर खाटमा बसिरहेको थिएँ।अचानक बलिरहेको बत्तीमा मट्टीतेल सकियो।आमाको गुनियोले बनाएको कमलो थाङ्नो ओछ्याएर बिझाउने कम्बल ओढेर पल्टिएँ।अन्ततः आत्माले आवश्यक सम्पुर्ण कागजपत्र बनाएर अपरिचित तथा बिरानो दुनियाँमा जाने निर्णय दियो।म पैसा कमाउन बिदेशको यात्रा सुरु गर्ने भएँ।


बिदेश यात्राको त्यो पहिलो दिन

म हलो लिँड्कोको अनौ समातेको मान्छे।बडेमानको जहाजको ढोका समात्दा नौलो लाग्यो। जहाज भित्रको दृश्य पनि  मेरो लागि नौलो नै थियो।दाम्लोले भैंसी बाँधेको मान्छे, जहाजको कुर्सिमा आफैँलाई फिताले बाँध्नु पर्दा यो नै बन्दी जिवनको सुरुवाती लक्षण त हैन भन्ने पनि कतकता लागिरहेको थियो।आमाले मसक मसक मस्काएको ढिंडो खाएको म,जहाजभित्र दिएको  फरक फरक खानेकुरा जिब्रोले असन्तोष जनाइरहेको थियो।


परराष्ट्रको माटोमा टेकेको पहिलो पाइला

जहाज समयमै गन्तव्यमा पुग्यो। म जहाजबाट बाहिरिएँ।बिरानो भूमिको हवाइ मैदानको आँगनमा  मलाई कसैले इन्तजार गरेको थियो।सम्मान गर्ने हाम्रो नेपाली समाजको संस्कार परबाटै सिर निहुर्याएँ।उसको हतारपनले मेरो सत्कार देखेन वा महत्त्व दिएन भगवान जाने,सिधै गाडिमा बस्ने इसारा गर्‍यो।म गाडिमा बसेँ।गुडिरहेको गाडिको झ्याल बाट ठुला सिसाको घरहरु नियालेँ।लाग्थ्यो सायद म पनि त्यही सिसाको घरमा बस्ने हो।केही क्षण पछि गाडी  साना साना टिनले छाएका गोठ जस्ता भवनभित्र छिर्‍यो।आमाले बाँसको ढुङ्ग्रोमा खाँदेर बनाएको अमिलो गुन्द्रुक,अनि आशिर्वाद भरेर दिएको अक्षताको सानो पोकोको झोला लिएर गाडीबाट उत्रिएँ।त्यहाँ एक जनाले स्वागत गरे।मलाई एउटा कोठामा लगियो।पाँच पेजको कागज लिएर एकजना मानिस आयो।हस्ताक्षर गर्न लगायो।उसले जहाँजहाँ हस्ताक्षर गर्न भन्यो।त्यहाँत्यहाँ मैले हस्ताक्षर गरिदिएँ।यो मेरो हस्ताक्षर पहिला पहिला खोतियाको कालोमुसोमा जमिनदार तथा जिम्मालले निरक्षरलाई अँगुठाको  ल्याप्चे लगाए बराबर थियो।त्यसपछी मलाई बस्ने कोठा देखायो।म कोठाभित्र पसेँ।कोठामा एउटा बिस्तारा थियो।एउटा दराज थियो।त्यहाँ मेरा साथी काले,गोरे,स्यामे कोहि थिएनन।मलाई डिउटिमा जाँदा लगाउने पोशाक तथा सुरक्षा जुत्ता दिइयो।अर्कोदिनबाट डिउटीमा हाजिर हुन भनियो।


बिरानो भूमी, बिदेशिको हैकममा जगेडिएको मेरो ठूलो सपना

भोलिपल्ट पोशाक लगाएर जागिर खान गएँ।कार्यस्थलमा सबै नयाँ अनुहार थिए।म उनिहरुसँग अपरिचित र सिकारु थिएँ। मैले काम गर्ने स्थानमा धेरै थरिका पदाधिकारी हुँदारहेछन।यी पदाधिकारी सबै आफ्नै देशका हुँदा रहेछन।सबैलाई आ-आफ्नो कामको जिम्मा लगाइएको हुँदो रहेछ।म यहाँ कुनै पदाधिकारी थिइन।किनकी नेपालबाट आउँदा मैले पद रोजेको थिइन।मैले त पैसा र बिदेश रोजेर सहमति पत्रमा हस्ताक्षर गरिदिएको थिएँ।जसको कारण मेरा बुबाआमाले लैनो भैंसी बेचेर  पढाएको ज्ञानबाट प्राप्त ती अमुल्य प्रमाणपत्र सदाको लागि अटैजिमा थन्काउन पुगेको थिएँ।मैले त यहाँ उनिहरुको तल रहेर आदेशको पालना गर्नु बाहेक अरु बिकल्प रहेन।मेरो दिनचर्या काममा जाने,सिलाइएको ओठसँग हस भन्ने संकेतमा सिर हल्लाउदै काम गर्ने,कोठामा आउने विश्राम गर्ने।हरेक दिन यहि सिलसिला चलिरह्यो।यो देशका मानिसहरु बर्षैपिछे पदोन्नति भएर ठुला मान्छे बने।म त्यहीँ छु।मेरो उचाई बढेको छैन।मैले तलब पाएको छु।लगाउन पाएको छु।मलाई गाउँमा छँदा खुट्टामा काँडा बिज्थ्यो दुख्दैनथ्यो।तर अहिले चिल्लो बाटोमा हिंडेर पनि खुसी छैन।कतै हाम्रा छोराछोरी फेरि हामी चढेकै भर्‍याङ समात्ने त हैनन भनेर पोलिरहेको छ।कोपिरहेको छ।गौतम बुद्धको रोहिणी खोलामा कति धेरै पानी बगिसक्यो।समय बित्यो।उमेर ढल्क्यो।नेपालका चाडपर्व छुटे।भेट्न नपाइकन धेरै आफन्तीहरु  स्वर्गे भए।लाग्छ सबैचिज गुमिसक्यो।रहरले किनेको टलक्क टल्केको कपडामा पनि मन जान छोड्यो।मेरो र हाम्रो नेपालको गाथा कतै भेट्टाउन सकिन।यो बिरानो मुलुकमा म सदैव कनिष्ठ बनिरहेँ।कनिष्ठ बनिरहेँ।


 अत्यासको जीवन 

सन १८२४ मा बेलायतले बर्मालाई उपनिवेश बनाए लगत्तै हाम्रा लाखौँ नेपालिका घर बर्मामा ठडिएका थिए।उतै जग्गा जमिन जोडेका थिए।व्यापार व्यावसाय गरेर मालिक भएका थिए।समयको खेल कसलाई के थाहा सन १९६० मा बर्मामा सैनिक शासन लागू भयो।साराको चलअचल सम्पत्ति राष्ट्रियकरण भयो।त्यसको ठूलो बज्रपात हाम्रा नेपालीमाथी पर्न गयो।सन्जोग बिक्रम संवत् २०२१ सालमा तत्कालिन समयका राजा महेन्द्र बर्मा भर्मण गए।उनले त्यो देशमा बसोबास गरेका सारा नेपालिलाई नेपाल फर्कन आह्वान गरे।साथै जमिन निकासा गरेर हरेकलाई जग्गा दिने कुरा राखेका थिए।सोही अनुसार वर्माबाट नेपालिलाई स्वदेश फर्काइयो।त्यसको उदाहरणको हाम्रो रुपन्देहीको छपियामा दुई सय परिवार आएर बसोबास गरेको जान्न सकिन्छ।


हाम्रो आवाज र पुकार

हाम्रै पसिनाले बिदेशी भूमी दिन दुई गुणा रात चार गुणाले बिकास भइरहेको छ।जुन दिन  बिदेशमा बिकास समाप्त हुने छ,त्यो दिन आफ्नै देशका मानिसहरु बसिबसी खाने छन।अनि हामी सारालाई हाम्रै देश पठाउने छन।त्यसैले अब हामी सारा परदेशीले सरकारसँग अनुरोध गर्ने बेला आएको छ।औद्योगिक क्रान्ति,कृषि क्रान्ति,व्यावसायिक शिक्षा लागु गरिदिन अनुरोध गर्ने बेला आएको छ।रेमिटेन्सबाट धनी भएका कुनै पनि राष्ट्र छैनन।योग्यता,क्षमताको आधारमा हाम्रै देशमा समिधा बनाउने कारखाना हुने छन।हाम्रै देशमा फलाम कारखाना उत्पादन हुने छन।हाम्रै देशमा लज्जावती झारको महिमा हुने छ।हामी बिदेश पलायन हैन हाम्रै  देशमा बिदेशी कामदारलाई ल्याउने दिन बनाउन अनुरोध गर्ने बेला आएको छ।जसले राज्यको कोष र जनताको गोजी भरिने छ।हाम्रा छोराछोरी टाई,सुटबुट लगाएर हिँड्ने छन।१२६ जातिको हाम्रो देश नेपाल एकजुट हुने बेला आएको छ।आउनुहोस हातेमालो गरेर राज्यको उच्च ओहदा सम्म यो आवाज घन्काऔं। यो हाम्रो कामना पूरा होस।अबको हाम्रो नेपालको पुस्ता कोहि पनि बिदेसिनु नपरोस।


बिक्रम थापा(हाल दक्षिण कोरिया)


कमेन्ट गर्नुहोस्