लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

रोकिएका कामदार लैजान्छौ: कोरियाली राजदूत

IMG

तिलोत्तमा सिटी,१३ साउन २०७८,बुधबार। नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क चोङ्ग सुकीले रोकिएको ईपीएसको काम अगाडि बढाउने आश्वासन दिएका छन् । अर्थमन्त्री जनार्दन शर्मासँग बुधबार अर्थ मन्त्रालयमा भएको भेटमा उनले यस्तो आश्वासन दिएका हुन् ।भेटमा अर्थमन्त्री शर्माले भाषा परीक्षा उत्तीर्ण गरी कोरिया जान नपाएका युवालाई काम गर्ने वातावरण बनाइदिन आग्रह गरेका थिए । कोभिड महामारीका कारण रोकिएको प्रक्रिया चाँडै अघि बढाउन सरकारको तर्फबाट हुनुपर्ने काम गरिने प्रतिवद्धता जनाउदै मन्त्री शर्माले कोरियाको तर्फबाट आवश्यक प्रक्रिया अघि बढाइदिन समेत आग्रह गरेका छन् ।‘ईपीएस अन्तरगत कोरियाली भाषा परीक्षा उत्तीर्ण गरेका हजारौं युवा बेरोजगार बसेका छन् ।


यो समस्या चाँडै समाधान गरिनेछ भन्ने विश्वास लिएको छु’ मन्त्री शर्माले भने ।जवाफमा राजदुत पार्कले रोकिएको ईपीएसको काम अघि बढाउन आफूले पहल गर्ने वचन दिएका हुन् । नेपालीहरुको मेहेनती र इमान्दारिताबाट कोरियाली रोजगारदाता खुशी रहेको प्रसंग उल्लेख गर्दै उनले भाषा परीक्षा उत्तीर्ण गरी पालोमा बसेका श्रमिकलाई काममा पठाउने प्रक्रिया अघि बढाइने जानकारी दिए ।भेटको क्रममा अर्थमन्त्री शर्माले कोभिड-१९ विरुद्धको खोप पहिलो प्राथमिकता भएको भन्दै त्यसको लागि कोरियाली जनताको तर्फबाट आवश्यक सहयोग रहने विश्वास व्यक्त गरे । उनले नेपालको स्वास्थ्य, शिक्षा र प्रविधिको क्षेत्रमा कोरियाले गरिरहेको सहयोगप्रति आभार प्रकट गरेका छन् ।कोरियाले नेपालमा स्वास्थ्य, शिक्षा, जलविद्युत लगायतका क्षेत्रमा लगानी समेत गर्दै आइरहेको छ ।

कमेन्ट गर्नुहोस्