लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

परीक्षण उडानको तयारीमा गौतमबुद्ध विमानस्थल

IMG

तिलोत्तमा सिटी,९ साउन २०७८,शनिवार। निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल परीक्षण उडानको अन्तिम तयारीमा पुगेको छ । विमानस्थलको प्राविधिकतर्फको काम सकिएपछि अब परीक्षण उडानको तयारी गरिएको हो । गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलका आयोजना प्रमुख प्रवेश अधिकारीका अनुसार विमानस्थलको बाह्य संरचनाको काम सकिसकेको छ भने भित्र उपकरण सुरक्षा जाँचको काम मात्रै बाँकी रहेको छ । उनले भने, “हामी क्यालिबेरेसन फ्लाइटका लागि तयारीमा छौँ ।”क्यालिबेरेशन फ्लाइट भनेको विमानस्थलको ग्राउन्ड र जहाजबीचको सूचना आदानप्रदान सही छ, छैन भनेर जाँच गर्ने हो । यसका लागि पाँच÷सात सिट भएको विमान हुन्छ र त्यसले विमानस्थललाई केन्द्रित गरेर उडान गर्ने गर्दछ । उडानका क्रममा एन्टिना, सिङ्गल रिसिभ, लाइटिङ, कम्युनिकेशनलगायत सबै सूचना ठीक छ छैन भनी परीक्षण हुने गर्दछ ।


क्यालिबेरेशन फ्लाइटमा सबै सिङ्गल र सूचना सही देखिएपछि मात्रै अन्य जहाजले उडान र अवतरण शुरु गर्ने गर्दछन् । गौतमबुद्ध विमानस्थलमा क्यालिबेरेसन फ्लाइटका लागि एरो थाइसँग सम्झौता भएको छ । परीक्षण उडान कहिले गर्ने भन्ने विषय एरो थाइमा भर पर्नेछ । कोरोना महामारीको कारण परीक्षण उडान केही समय ढिला हुने भने देखिएको छ । गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल निर्माणमा मुलतः तीन तहका काम सम्पन्न भएका छन् । पहिलो अन्तरराष्ट्रिय बोलपत्र (आइसिबी वान) अन्तर्गत रु छ अर्ब ८२ करोडको काम भएको छ । दोस्रो अन्तरराष्ट्रिय बोलपत्र (आइसिबी टू) अन्तर्गत रु ५० करोडको काम र तेस्रो मुआब्जा वितरण रु २२ अर्ब ४० करोड भएको छ । त्यसका अतिरिक्त कार्गो निर्माणका लागि रु ९० करोडको काम भएको छ । यसरी सबै आयोजनाको काम जोड्दा रु ३० अर्बभन्दा बढीको लगानीमा भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल निर्माण हुने भएको छ । यो रकममा नेपाल सरकारको ३७ दशमलब ४ र एडिबिको ६२ दशमलब ६ प्रतिशत लगानी रहेको छ । 


भैरहवास्थित गौतमबुद्ध विमानस्थललाई अन्तरराष्ट्रियस्तरको बनाउन चिनियाँ ठेकेदार कम्पनी नर्थ वेस्ट सिभिल एभिएसन एअरपोर्ट कन्ट्रक्सन ग्रुपले पहिलो चरणको कामका लागि अन्तरराष्ट्रिय बोलपत्र (आइसिबी वान) मा सम्झौता भएर निर्माण कार्य विसं २०७१ माघ १ देखि शुरु गरेको हो । कूल रु छ अर्ब २२ करोड ५१ लख ३० हजार २२७ रुपैयाँ ९१ पैसा लागतमा निर्माण सम्पन्न गरी नर्थ वेस्टले ठेक्का पाएको हो । आइसिबी वानअन्तर्गत धावनमार्ग तीन हजार मिटर, चार वटा लिङ्क ट्याक्सी वे (धावन मार्ग र जहाज पार्किङ्ग क्षेत्र जोड्ने बाटो), पाँच वटासम्म अन्तरराष्ट्रिय जहाज पार्किङ गर्नसक्ने क्षमताको जहाज पार्किङस्थल, टर्मिनल भवन, प्रशासनिक भवन, कन्ट्रोल टावर, अग्नि नियन्त्रण भवन, पानी ट्याङ्की, तारवार, नाला, ५०० कार अटाउने क्षमता भएको कार पार्किङ, विद्युतीय काम, टर्मिनल विल्डिङको उपकरणसहितको काम, धावन र ट्याक्सी वे सबै काम रहेका छन् ।


नब्बे प्रतिशत उपकरणको काम रहेको उक्त परियोजनामा जहाजको उडान र अवतरणका लागि आवश्यक उपकरण जडान (आइएलएस), जहाजको स्थिति, लोकेशन, र सञ्चार (डिभिओआर÷डिएमई), सञ्चार उपकरण (भिएचएफ रेडियो), एचएफ सिस्टम, एटिसी कन्सोल, एमएचएस, भिसिसिएस, एटिस सिस्टम, अटोमेटिक वेदर अबजरभेसन सिस्टम गरी मुख्य १० किसिमका काम भएका छन् ।आवश्यक सबै उपकरण अमेरिका, बेलायत, अस्ट्रेलिया, थाइल्यान्ड र अस्ट्रियाबाट ल्याइएको आइसिबी टू का परियोजना व्यवस्थापक प्रविन न्यौपानेले बताए । उनले भने, “आवश्यक सबै उपकरण जडान भइसकेको छ । अब परीक्षणको काम बाँकी छ ।”अन्तरराष्ट्रिय नागरिक उड्डयन प्राधिकरण (आइकाउ) को कोड फोर ई का अनुसार ३ हजार मिटर धावनमार्ग भएको विमानस्थलमा बोइङ ७७७, एयर बस ३३० सम्मका जहाज सहजै उडान र अवतरण हुनेछन् । 

कमेन्ट गर्नुहोस्