लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

लुम्बिनीमा बजेटमाथिको छलफल सकियो, दुई दिनपछि निर्णयार्थ पेश हुने

IMG

तिलोत्तमा सिटी २९ असार २०७८, मंगलवार। सत्तापक्ष र विपक्षी गठबन्धनको पेचिलो विषय बनेको लुम्बिनी प्रदेशसभामा आर्थिक वर्ष २०७८/ ०७९ को बजेट माथिको छलफल सकिएको छ ।असार १ गते प्रस्तुत भएको बजेटमाथि आइतबारबाट छलफल सुरु भएको थियो । सरकारको वैधानिकतामाथि प्रश्न उठाउँदै विपक्षी गठबन्धनले असार ६ गतेको सदन बहिस्कार गरेपछि ९ गते बोलाइएको थियो । विपक्षीले पुनः बहिस्कार गर्ने भएपछि २७ गतेसम्मका लागि स्थगित गरिएको थियो ।


आइतबार आयव्यय अनुमानमाथिको सामान्य छलफल भए पनि सोमबारबाट आर्थिक वर्ष २०७८/७९ को सेवा र कार्यको लागि प्रदेश सञ्चित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्थापन गर्न बनेको विद्येयकमा छलफल सुरु भएको हो ।मन्त्रालयहरुको विभिन्न शीर्षकमा समष्टिगत छलफलमा छलफलमा भाग लिंदै विपक्षी सांसदहरुले अल्पमतको सरकारले बजेट ल्याएको भन्दै प्रतिक्रिया दिएका थिए ।त्यस्तै बजेट कार्यकर्तालाई बांडिएको भन्दै आलोचनासमेत भएको थियो । सत्तापक्षका सांसदले भने विकास र समृद्धिलाई लक्षित गरेर बजेट आएको बताएका थिए ।


मंगलबार छलफल सकिएपछि अब बिहीबार प्रदेशका मन्त्रीहरुले बजेटमा उठेका प्रश्नको जवाफ दिनेछन् । सोही दिन बजेट निर्णयार्थ पेश हुनेछ । सरकारलाई वैधानिकताको प्रश्न उठाएको विपक्षी गठबन्धनले सरकारलाई अध्यादेशबाट बजेट ल्याउन रोक्नका लागि प्रकृयामा लगेको आंकलन गरिएको छ ।सरकारले विपक्षी गठबन्धनले उठाएजस्तैगरी सरकारसंग बहुमत नगुमेको जनाएको छ । सरकारमा सहभागी जसपाका ३ सहित ४ सांसदको अदालती टुंगो र एमालेबाट माओवादी प्रवेश गरेकी सांसद विमला वलीलाई एमालेले कारबाही गर्न पठाएको प्रकृया अगाडि नबढ्दासम्म एमालेले कानुनीरुपमा आफ्नो राजनीतिक बहुमत भएको दावी गर्दै आएको छ । यही कारणले पनि यो विषय दुवै पक्षको लागि पेचिलो बनेको हो ।

कमेन्ट गर्नुहोस्