
तिलोत्तमा सिटी २९ असार २०७८, मंगलवार। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीका रुपमा सपथग्रहण गरेका छन् । मंगलबार साँझ पाँचौपटक प्रधानमन्त्री प्रधानमन्त्रीको सपथग्रहण गरेका देउवाले मंगलबार नै ५ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् ।कोभिड १९ को कहर र राजनीतिक गतिरोधका बीच सर्वोच्च अदालतको परमादेशबाट देउवाको सत्तारोहण सम्भव भएको छ । संविधान र लोकतन्त्र जोगाउनका लागि भनिएको ‘विपक्षी गठबन्धन’ को सत्तारोहणसंगै देउवा सरकारका चुनौतीको मूल्यांकन पनि सुरु हुनेछ ।संविधानतः ३० दिनभित्र संसदमा विश्वासको मत लिनुपर्ने संवैधानिक चुनौती एकातिर छँदैछ, अर्कोतिर कोरोना सिर्जित समस्याबाट जनतालाई तत्काल राहत दिनुपर्नेछ । गठबन्धन सरकार भएका कारण सहयात्री दलहरुलाई रिझउनुपर्ने प्रधानमन्त्रीको जिम्मेवारी छँदैछ ।यहीकारण मन्त्रिपरिषदले पूर्णता पाउनै अझै केही समय लाग्ने देखिन्छ । सरकारमा सहभागिता र शक्ति बाँडफाँटका विषयमा गठबन्धनमा थप सहमति जुट्नै बाँकी छ । यद्यपि तत्कालका लागि चार जना सारथिसहित प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् गठन गरेका छन् । देउवाका सारथि को कस्ता छन् त ?
विश्वासिला बालकृष्ण
बालकृष्ण खाँडले देउवा सरकारमा गृहमन्त्रीको जिम्मेवारीमा छन् । देउवाको लामो राजनीतिक यात्रामा विश्वासिलो सहयोगीका रुपमा रहेका खाँड कांग्रेस संसदीय दलको प्रमुख सचेतक थिए । प्रचण्ड नेतृत्वको सरकारमा रक्षामन्त्रीको भूमिका निर्वाह गरेका खाँड माधवकुमार नेपाल नेतृत्वको सरकारमा सिचाइँ मन्त्री बनेका थिए ।गत प्रतिनिधिसभा निर्वाचनमा समानुपातिक तर्फबाट सांसद बनेका खाँडलाई गृहमन्त्री बनाएर देउवाले चुनावी तयारीमा विश्वासिलो साथ समेत खोजेका हुन् । विश्वासको मत हासिल नभए तत्काल निर्वाचनमा जानुपर्ने र विश्वासको मत पाएपनि अर्को वर्ष स्थानीय र प्रतिनिधिसभाको निर्वाचन गर्नैपर्ने दायित्व सरकारसामू छ । त्यसका लागि खाँडले प्रशासन र प्रहरीलाई नेतृत्व दिनुपर्ने देखिन्छ ।नेपाल तरुण दलको पूर्वअध्यक्षसमेत रहेका खाँडले २०७० सालको संविधानसभा निर्वाचनमा रुपन्देही ३ मा एमालेका घनश्याम भूसाललाई पराजित गरेका थिए ।
अर्थमा अनुभवी
नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मा २०६४ सालयता निरन्तर आम निर्वाचन जित्ने माओवादी नेता हुन् । माओवादी सेनाका तत्कालीन डेपुटी कमाण्डर शर्मा धेरैपटक मन्त्री बन्ने माओवादी नेतामध्येमा पर्छन् । विगतमा शर्माले शान्ति तथा पुनर्निर्माण, ऊर्जा तथा गृह मन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन् ।शर्मा ऊर्जा मन्त्री रहेकै बेला लोडसेडिङ अन्त्य भएको थियो । अर्थ मन्त्रालय शर्माका लागि नयाँ जिम्मेवारी हो । कोभिडबाट थलिएको अर्थतन्त्रलाई मूलधारमा ल्याउने र आर्थिक मितव्ययिता कायम गराउने चुनौती शर्मामाथि छ ।
ऊर्जामा कमरेड विद्युत
भूमिगत रहँदा नेकपा माओवादी नेतृ पम्फा भूसाल ‘कमरेड विद्युत’को नामले परिचित थिइन् । उनै कमरेड विद्युत देउवा सरकारमा ऊर्जा मन्त्री बनेकी छिन् ।ठूला विद्युत आयोजनाको सम्पन्न गराउने, प्रसारण लाइन विस्तार गर्ने तथा ऊर्जा क्षेत्रका यावत समस्या सम्बोधन गर्ने चुनौती भूसालमाथि छ । पहिलो संविधानसभा र गत संसदीय निर्वाचनमा ललितपुरबाट निर्वाचित भूसाल लोकतन्त्र प्राप्तिपछिको अन्तरिम सरकारमा महिलामन्त्री बनेकी थिइन् ।जनमोर्चा नेपालको अध्यक्षसम्म भइसकेकी भूसाल माओवादी केन्द्रको प्रवक्तासमेत हुन् ।
कानूनमा ज्ञानेन्द्र
देउवा नेतृत्वको अघिल्लो सरकारमा अर्थमन्त्री रहेका ज्ञानेन्द्रबहादुर कार्कीले अहिले कानून मन्त्रालयको जिम्मेवारी पाएका छन् । अर्थमन्त्री छँदा बहुचर्चित एमसीसी सम्झौतामा नेपालको तर्फबट हस्ताक्षर गरेका कार्कीसामू कानून मन्त्रीका रुपमा सो सम्झौता संसदबाट अनुमोदन गराउनुपर्ने चुनौती कार्कीसामु छ ।एमसीसीबारे गठबन्धनमा रहेका दलहरुबीच साझा धारणा बनाउनुपर्ने अवस्था छ । विगतमा जलस्रोत मन्त्रीसमेत भइसकेका कार्की नेपाल विद्यार्थी संघको केन्द्रीय अध्यक्ष हुँदै कांग्रेसमा स्थापित भएका नेता हुन् । गत प्रतिनिधिसभा निर्वाचनमा सुनसरीबाट निर्वाचित कार्की त्यसअघि भोजपुरबाट संविधानसभा निर्वाचनमा पराजित भएका थिए ।
कमेन्ट गर्नुहोस्