
तिलोत्तमा सिटी २९ असार २०७८, मंगलवार।संविधानको धारा ७६ को उपधारा ५ अनुसार सर्वोच्च अदालतको परमादेशसँगै प्रधानमन्त्रीमा नियुक्त बनेका शेरबहादुर देउवाले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् ।राष्ट्रपति भवन शितल निवासमा मंगलबार साँझ आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले देउवालाई पद तथा गोपनीयताको सपथ दिलाएकी छिन् ।प्रधानमन्त्री देउवासँगै नवनियुक्त चार जना मन्त्रीले पनि सपथ लिएका छन् । गृहमन्त्रीमा बालकृष्ण खाँड, अर्थमन्त्रीमा जनार्दन शर्मा, उर्जामन्त्रीमा पम्फा भुसाल र कानून मन्त्रीमा ज्ञानेन्द्र कार्कीले सपथ लिएका हुन् । देउवाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेपछि पहिलो चरणमा चारमन्त्रीसहित पाँच सदस्यीय मन्त्रिपरिषद् गठन गरेका हुन् ।सपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, सभामुख अग्निप्रसाद सापकोटा, प्रधानन्यायाधीस चोलेन्द्र शमशेर जबरा, राष्ट्रिष्य सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना लगायतको उपस्थिति रहेको थियो । तर निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली भने अनुपस्थित भए ।
साँझ ६ बजे भनिए पनि राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्त गर्दा संविधानको धारा उल्लेख नगरी विज्ञप्ति जारी गरेपछि देउवाले आपत्ति जनाएपछि सपथ कार्यक्रम ढिला भएको छ । देउवाले मुख्यसचिव शंकरदास बैरागीलाई घरमै बोलाएर विज्ञप्ति नसच्चिएसम्म सपथ नलिने बताएका थिए ।
सर्वोच्च अदालतको परमादेशपछि राष्ट्रपति विद्यादेवी भण्डारीले देउवालाई संविधानको कुनै धारा उल्लेख नगरी मंगलबार दिउँसो मात्र प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन ।प्रधानमन्त्री नियुक्त गर्दा संविधानको धारा उल्लेख नगरिनु त्रुटिपूर्ण भएको र यसमा राष्ट्रपतिको नियत लुकेको भन्दै कतिपय कानूनविद्हरुले पनि आपत्ति जनाएका थिए ।
प्रधानमन्त्री देउवाको पहिलो निर्णय : चैत मशान्तसम्म सबै नागरिकलाई खोप
शेरबहादुर देउवा नेतृत्वको सरकारको पहिलो बैठकले सबै नागरिकलाई चैत मसान्तभित्र कोरोनाविरुद्धको खोप लगाइसक्ने निर्णय गरेको छ ।मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले असोज मसान्तसम्म एक तिहाई नागरिकलाई खोप लगाउने र चैत मशान्तसम्म खोप लगाउन योग्य सबै नेपालीलाई खोप लगाउने निर्णय भएको कानून, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।सरकारको प्रवक्ताको जिम्मेवारीसमेत पाएका मन्त्री कार्कीले बैठकले कोरोनाविरुद्ध अहिलेसम्म भएको खर्च विवरण सार्वजनिक गर्ने निर्णय भएको बताए ।साथै कोरोनाविरुद्ध अग्रमोर्चामा रहेर काम गर्दै आएका स्वास्थ्यकर्मी, सरसफाईकर्मी र सुरक्षाकर्मीलाई एक हप्ताभित्र जोखिम भत्ता उपलब्ध गराउन सुरु गर्ने निर्णय भएको छ । उनले कोरोनाबाट प्रभावित अर्थतन्त्रलाई उकास्न विशेष प्याकेज ल्याउने निर्णय भएको जानकारी दिए ।
कमेन्ट गर्नुहोस्