लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

निजामती शिक्षकले किन बाटोमा गाडी कुर्ने ?

IMG

एस.पी.गैरे 

असार ७ गते सोमबार २०७८ तिलोत्तमा सिटी।शिक्षक अर्थात् गुरु !सबैको मस्तिष्कमा ज्ञानको बिऊ छर्ने शिक्षक नै अपहेलित छन् यो देशमा। शिक्षकहरू कयौं सेवा सुविधा देखि बञ्चित छन्। तर सुबिधा उपलब्ध गराउन सरकारमा पुगेकाहरू आफ्नै सुबिधा उपभोग गर्नमा नतमस्तक छन् । शिक्षकको हकका निम्ति आवाज उठाउनेहरू बिरलै भेटिन्छन् । एकैछिन उठ्ने आवाजहरू एकैछिनमा पुरानै अवस्थामा फर्किन्छन् अनि थन्किन्छन् कयौं वर्षका लागि । शिक्षामा सुधार ल्याउने बाचाका साथ कयौं व्यक्ति शिक्षालाई राजनीतिको भर्‍याङ बनाउछन् अनि जब सत्तामा पुग्छन् भर्‍याङ बिर्सन्छन् । आफ्नै बोली एवम् धरातल बिर्सन्छन् । शिक्षामा सुधारको माग गर्नेहरूले एकपटक पनि शिक्षक कर्मचारीहरू कुन अवस्था बाट गुज्रिरहेका छन् त्यसमा बिल्कुलै चासो राख्दैनन् । परिणाम तब राम्रो आउँछ जब परिणाम दिने व्यक्ती खुशी हुन्छ । उत्पादन तब राम्रो आउँछ जब उत्पादक स्वयं खुशी हुन्छ ।


त्यसैगरी देशले तब मात्र असल अनि सक्षम जनशक्ति हासिल गर्छ जब जनशक्ति उत्पादन गराउने शिक्षकहरूले आफ्नो शतप्रतिशत कार्यक्षमता प्रदर्शन गर्छन् । शतप्रतिशत कार्यक्षमता मानिसले त्यतिबेला दिन सक्छ जतिबेला काम गर्ने वातावरणमा कुनै अवरोध पैदा हुँदैन । त्यहीँ अवरोध पैदा हुन नदिने एउटा साझा पाटो भनेकै उपयुक्त सेवा सुविधा हो । त्यसैले यत्रो वर्ष देखि बञ्चित भएका अभागी शिक्षकहरूले पनि अन्य सरकारी कर्मचारीले जस्तै राज्यबाट पाउने सम्पुर्ण सेवा सुबिधा उपभोग गर्न पाउनु पर्छ ।यदि निजामती कर्मचारी लाई जति सेवा सुबिधा शिक्षकलाई पनि प्रदान गर्ने हो भने शिक्षक पेशा प्रती पनि मानिसको दृष्टिकोण अझ सुमधुर हुने थियो । निजामती कर्मचारीका लागि गरिने प्रतिस्पर्धा हामी शिक्षक सेवा तिर पनि देख्न सफल हुने थियौ । जति बढी प्रतिस्पर्धा हुन्छ उति बढी सक्षम कर्मचारीको नियुक्ति हुन्छ । त्यसपश्चात सक्षम गुरुहरू बाट पैदा हुने हरेक शिष्यहरू नै देशका जिम्मेवार नागरिक ठहरिने थिए ।


अनि यो देश अशिक्षितको रेखा बाट ठूलो छलाङ मारेर एउटा छुट्टै शिक्षित समाजमा रूपान्तरण हुने थियो । कयौं निजामती जस्ता जनशक्ति उत्पादन गर्ने शिक्षक पनि सरकारको महत्त्वपूर्ण अङ्ग हो । त्यसैले निजामती लाई बदाम जुस चुसाएर शिक्षकलाई चिनी पानीमा भूलाउन खोज्ने सौतेनीपनको अन्त्य हुनु जरूरी छ । सरकारका सबै सन्तानले समान सेवा- सुबिधा अनि हक पाउनु पर्छ । कसैलाई काखा कसैलाई पाखा गर्न कुनै पनि नैतिकताले दिदैन ।सबैलाई संसार चिनाउने गुरुले जब सम्म सम्मान पाउन सक्दैन तब सम्म यो देश कहिल्यै पनि उभो लाग्न सक्दैन । गुरुलाई पहिलो श्रेणीमा राखेर हेर्न नसके पनि कमसेकम उसले उत्पादन गरेका जनशक्तिले पाउने जति सेवा सुविधा त प्रदान गरौँ ।


पहिलो पटक आफ्नो नाम लेख्न सिकाउने गुरुकै नाम अनि पहिचानमा दाग लाग्न बाट जोगाई देऊ सरकार । गुरु थिए र त आज हामी यो सबै पढ्न सक्षम छौँ । तिमीले तिम्रो पदमा गर्व साथ बसिरहदा यही कोरिएका अक्षर चिन्ने हैसियत बनाईदिने गुरुलाई नभुल्नु ! 'निजामती कर्मचारीले सरकारी गाडी प्रयोग गरिरहदा शिक्षक सधै बाटोमा सार्वजनिक गाडी कुरिरहनु पर्ने आखिर कहिले सम्म ?'सोच बदलौँ ।देश बदलिन्छ ।

कमेन्ट गर्नुहोस्