लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

नेपालमा बाढी-पहिरोबाट एक महिनामा १५ जनाको मृत्यु

IMG

असार ५ गते शनिबार २०७८ तिलोत्तमा सिटी।नेपालमा मनसुनपछिको बाढी र पहिरोबाट एक महिनामा १५ जनाको मृत्यु भएको छ । जेठ ३० देखि परेको अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण देशभर १५ जनाले ज्यान गुमाएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाबाट बाढीले बगाएर दुईजना चिनियाँ र एकजना भारतीय नागरिकको मृत्यु भएको छ । चिनियाँ नागरिक २२ वर्षीय गोङ्ग तियाजिओ र यु चि झूको शव फेला परेको छ । हेलम्बुबाट बेपत्ता भएका भारतीय नागरिक कमल लोचन महतोको शव सिन्धुली स्थित सुनकोशी नदीमा फेला परेको प्रहरी प्रवक्ता एसएसपी बसन्त कुँवरले बताए ।पाल्पाको रिब्दीकोट गाउँपालिका घर भएका १९ वर्षीय मदन भट्टराईको पहिरोले पुरिएर मृत्यु भएको छ । डोटीको केआईसिंह गाउँपालिका–३ अनाह गाडका खडक बहादुर बमको पनि पहिरोमा परेर मृत्यु भएको छ ।


सप्तरीको बलानबिहुल–४ का सन्तोष भण्डारीलाई बाढीले बगाएर बेपत्ता बनाएको थियो । उनको शव भारतमा भेटिएको छ । बाढीका कारण कास्कीको माछापुच्छ्रे गाउँपालिका बस्ने ४० वर्षीया लिला परियारको मृत्यु भएको छ ।काभ्रेको तिमाल गाउँपालिका–७ चापाखोरी बस्ने वर्ष २३ की गीता शाहको कोशीले बगाएर मृत्यु भएको छ । कोशीले बगाएर ल्याएको सामान खोज्ने क्रममा बेपत्ता भएकी गीताको शव रामेछापको खाँडादेवी–१ स्थित खैरेनी घाटमा फेला परेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । सिन्धुपाल्चोकमा बाढीले बगाएर १८ जनालाई बेपत्ता बनाएको छ ।बाजुराको बुढीनन्दा नगरपालिका–३ बस्ने ३५ वर्षीय मोतीकला लुहारको स्थानीय बडीगार्ड खोलाले बगाएर मृत्यु भएको छ । गोरखाको आरुघाट बस्ने बर्दिया घर भएका ३८ वर्षीय गोविन्द चौधरीको मृत्यु भएको छ ।त्यस्तै, जुम्लाको पातारासी गाउँपालिका–४ बस्ने सुकबहादुर नेपालीको पहिरोमा परेर मृत्यु भएको छ । कालिकोटको खडाचक्र नगरपालिकामा वर्ष ५४ का बले बिक, डोटीको सिलगढी नगरपालिका बस्ने वर्ष ७ का बालक विनोद भण्डारी र सिलगढी–७ बस्ने १० वर्षीया बालिका डेनिशा विष्टको  पहिरोमा पुरिएर ज्यान गएको छ ।अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–५ घर भएका चोलानाथ अधिकारीलाई खोलो तर्ने क्रममा बगाउँदा मृत्यु भएको छ । उनको शव सन्धिखर्कको मथुराबेंसीमा फेला परेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्