लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

छुवाछुतको विषय, समस्या र समाधान

IMG
पं. दीनबन्धु पोखरेल
असार १ गते मंगलबार २०७८ तिलोत्तमा सिटी। धेरै समयदेखि एउटा विषयले गम्भीर तुल्याई यस सन्दर्भमा केही लेख्ने चेष्टा जागेको छ । विल्कुलै सामाजिक एकतामा कुनै पनि किसिमको खलल नपुगोस्, राष्ट्रियताको भावना सुदृढ होस्, सबै समुदायमा सद्भाव र प्रेम जागृत होस, कु-संस्कार र अन्धविश्वासको परिस्करण अनि समतामूलक समाज निर्माणमा टेवा पुगोस् भन्ने हेतु केहि पंक्ति कोर्ने अभिलाषा भयो । मानव समुदाय चिन्तन र वैचारिक तबरले व्यापक क्षितिजमा प्रवेश गर्दा हाम्रो समाज अद्यावधि छुवाछुत जस्तो मानव कलंकको शिकार बनिरहनु पर्ने अत्यन्तै गम्भीर विषयले मर्माहत तुल्याइरहेको छ । तसर्थ यहाँ यो विभेदको समूल अन्त्यका लागि समस्या केलाउने र समाधानोन्मुख केही उपाय उजागर गर्ने कार्य गरिएको छ ।

यो समस्या के हो ?
सर्व-प्रथम यो समस्या के हो र के होइन भन्ने कुरामा तर्कसंगत बुझाइ हुन जरुरी  छ,यो समस्या जातीय, धार्मिक विल्कुलै होइन, धेरै व्यक्तिहरूले यसलाई दुई समस्याका रूपमा बुझ्ने गर्दछन, यो केबल विषयको गाम्भीर्यताको कमी हो भन्ने लाग्दछ ।जातीय समस्या कसरी होइन भन्ने कुरामा पहिला जातको आधुनिक र धार्मिक अर्थ बुझ्न जरूरी छ,
पश्चिमाहरूले प्रयोग गर्ने जात (Caste) भानिन्छ, ल्याटिन  Castus स्पेनिस Casta बाट लिइएको हो जसको अर्थ शारीरिक बनोट, स्वभाव र नश्ल (Breed) याने कि प्रकार भिन्न भएको समुदाय, त्यो भिन्न भिन्न प्राणी जगतमा विद्यमान रहन्छ, भन्ने स्पष्ट बुझिन्छ । अब यहाँ हेरौं कथित उपल्लो जात र कथित तल्लो जात भनेर जसरी अमानवीय तबरले विभाजन गरिएको छ, यसमा तल्लो जात भनेर भनिएका या थिचोमिचोमा पारिएका समुदाय र उपल्लो जात भनेर माथि बनाइएका समुदायमा माथि उल्लेख गरेको विषयमा के भिन्नता छ त ? केही पनि छैन, सबै समान नै छन । फेरी  हालसालै भारतमा गरिएको  कथित दुई समुदाय (कथित तल्लो र उपल्लो) को व्यक्ति बीचको कोशाणु परीक्षणबाट पुष्टि भयो कि त्यसमा (जिन र डिएनए) कुनै भिन्नता रहेन अनि जैविक रूपमा दुई जात होइन भन्ने पुष्टि भयो । अर्कोतिर धार्मिक रूपमा जात भन्नाले जन्म भन्ने अर्थ लाग्छ, यसको अर्थ यो हो कि पैदा हुने प्रक्रियाबाट प्राप्त विशेषता भन्ने ।

त्यसैले जन्मको आधारमा चार जात विद्यमान  छ, उद्भिज (भूमिसँग जोडिएर जरा हाली उम्रने या पैदा हुने जस्तो कि वृक्ष), अण्डज (अण्डाबाट उत्पन्न हुने जस्तो कि पंक्षी/सरिसृप), स्वेदज (पसिनाबाट पैदा हुने जस्तो कि जुम्रा, उपियाँ) र जरायुज (आमाको पेटबाट सग्लै पैदा हुने जस्तो कि मान्छेलगायत स्तनधारी प्राणीहरू) । यसले जसरी जन्म भयो त्यही जात भन्ने कुराको व्याख्या गरेको छ । त्यसैले हाम्रो वैश्विक परिभाषाले यो जातिय विभेदीकरण होइन भन्ने पुष्टि गरेको छ ।यो धार्मिक समस्या पनि होइन किनभने धर्मको परिभाषा जगाउन शास्त्र चाहिन्छ, शास्त्रले ''चातुर्वर्ण्यं मया सृष्टं गुणकर्मविभागशः।'' आदि व्याख्या गरेको छ । यसले ब्राम्हण, क्षेत्री, वैश्य र शुद्रको विषयमा गुण, प्रकृति (स्वभाव) र कर्मलाई आधार मानी व्याख्या गरिएको छ । ब्राह्मणोऽस्य मुखमासीद्बाहू राजन्यः कृतः ।

ऊरू तदस्य यद्वैश्यः पद्भ्यां शूद्रोऽजायतः ॥ यो हामीले कुन अंगलाई प्राथमिकतामा राखेर काम गर्छौं हाम्रो सामाजिक जन्म त्यहीँबाट हुन्छ। जस्तो कि मुखको बढी प्रयोग गरी ब्रह्म तत्वलाई जानेर सो सम्बन्धि ज्ञान दिने र मुखलाई नै आधार बनाएर आफ्नो सामाजिक पहिचान दिने कार्य गर्ने ब्राह्मण हो । क्षेत्रको अर्थ हात, शरीर र जमिन भन्ने हुन्छ, सैन्य संगठनको माध्यमद्वारा जनता र स्वदेशी भूमिको रक्षा गर्न हतियार चलाउन हात प्रयोग गर्ने शासकलाई क्षेत्री भनिन्छ । शरीरको अंग मध्ये पेट भनेको संकलन गर्ने स्थान हो, संकलन उद्यमशीलता, पेसा र व्यवसायले हुन्छ  तसर्थ उन्नति र भरणपोषणमा लाग्ने जनलाई वैश्य भनिन्छ । सेवाका लागि पाउको बढी प्रयोग गरी आफ्नो सामाजिक परिचय दिने शुद्र हुन्छ ।

यहाँ कर्म र शरीरको अंगको समुचित प्रयोगको आधारमा उसको जैविक जन्म होइन कि सामाजिक जन्मको कुरा स्पष्ट उल्लेख गरिएको छ। कुनै कथित धर्म गुरु या कर्मकाण्डीले शास्त्रमा विभेद छ भनेर धर्मको आड लिएर विभेद गर्ने कार्य गरेका छन् भने कि उनको अध्ययन नै  छैन छ भने पनि ढोंगलाई प्रदर्शन गरिरहेका छन् । यो अन्य सामाजिक अभियन्ताहरूलाई पनि विशेष आग्रह हो कि यहाँ धर्मलाई दोष दिएर कसैले विभिन्न अभिष्ट पूरा नगरौं । यी दुवै समूहलाई धर्ममा विभेद भएको प्रमाणित गर्न चुनौति र वहसका लागि आग्रह समेत गरिन्छ।

अब कुरा रह्यो मनुस्मृतिको, पहिलो कुरा त मनुस्मृति कुनै धर्म शास्त्र  होइन यो मनु (तत्कालीन शासक) ले चलाएको विधान याने कि नियम हो, त्यो बेलाको समाजको नियन्त्रण गर्न बनाइएको एक कानून हो । तत्कालीन समयभन्दा अहिले बहुआयामिक तबरले फरकपन आएको छ । त्यही नियम र विधान अहिले पनि उस्तै लागू हुन्छ र मान्नु पर्छ भन्ने छैन त्यसको संशोधन अपरिहार्य छ, यसको मतलब त्यसको समयानुकूल सुधार आवश्यक छ, विभेदकारी विषय त्याज्य छ । अर्को विषय पनि विगत लामो समयदेखि नै चर्चामा छ त्यो भनेको पश्चिमाहरूले छुट्टै मनुस्मृति बनाएर पठाईदिएका जसले गर्दा मौलिक मनुस्मृति ओझेलमा परेको र त्यसको अहिले पुनर्प्रकाशन पनि भैसकेको जानकारीमा आएको  छ । पं. चेतनाथ अधिकारीले यसलाई जनमानसमा ल्याइसकेका छन्, यसमा विभेदको कुनै अंश विद्यमान छैन र यो विषयमा लेखाजोखा पक्कै पनि होला ।यहाँनेर भन्न खोजिएको यो समस्या जातीय, शास्त्रीय या धार्मिक विल्कुलै होइन ।

यो समस्या के हो त ?
१. यो समस्या कु-प्रथाजन्य समस्या हो । यसको पुनर्पुष्टि गर्नका लागि यो भन्न सकिन्छ कि तात्कालिक कुलीन वर्ग या शासक र कथित धर्म गुरुहरूले आफ्नो सामाजिक वर्चश्व कायम गरिरहनका निमित्त यस्तो खालको  कु-व्यवस्था लागू गर्न उद्यत रहेको कुरामा कुनै संदेह छैन । यसको सबै खालको ऐतिहासिक पृष्ठभूमिलाई नियाल्दा पनि विशेषत: यस विषयको स्पष्ट हुन्छ । यस सन्दर्भमा अनेकौं उदाहरण दिन सकिन्छ ।

२. यो राजनीतिक पनि समस्या हो । यो दुई तबरले राजनीतिक समस्या हो । पहिलो त यो असमानता र विभेद रहिरहनु भनेको राज्यमा एकत्व भाव नरहनु हो । राज्य भित्रको एकताको कमी भनेको  राज्यको गति कमी हुनु हो, जसले गर्दा राज्यको सबै आयाममा प्रभावशाली उपस्थिति हुन सक्दैन । राज्यले सामाजिक एकता नहुनुमा मूलभूत समस्याको पहिचान नगरी समाधानोन्मुख ठोस कदम नचाल्नु राजनीतिक तबरको गम्भीर समस्या हो ।  दोश्रो विषय भनेको विभेदमा परेका समुदायका हितका लागि राज्यको नीति /नियम तदनुरुप कार्यान्वयन पक्षमा तदारुकताका साथ अघि नबढ्नु र नबढाउनुले यो प्रबल राजनीतिक समस्या हो भन्ने विषयमा दुई मत छैन ।

३. यो सामाजिक समस्या पनि हो । समाजमा यो कलंकले जरो गाडे सँगै अर्को पुस्तामा पनि यो कु-भावानाको संचार भैरहँदा समाज छिन्नभिन्न हुने अनि सामाजिक मेलमिलाप नहुने समस्या विद्यमान रहेको छ । अर्को कुरा यसले सामाजिक समग्र गतिमा नकारात्मक प्रभाव पार्दै आएको छ । अवस्थाको आंकलन नगरी निरन्तर रूपमा एउटा समुदायमा विभिन्न तबरले अपहेलना गरिरहनु एवम् सामाजिक मेलमा खलल पुर्याईरहनु घोर सामाजिक समस्या हो ।

४. यो बिधीवादलाई मान्ने आमानवीय प्रकृतिको  समस्या हो । जब समुदाय बिधिवादलाई अवलम्बन गर्दछ उसको मानवियता क्षीण हुन्छ ।

विधिवाद ईश्वरीय नियम भन्दा भिन्न हुन्छ, यो अमानवीय र ब्रम्हण्डिय नियम विपरितको क्रियाकलाप हो । यसलाई नै अबलम्बन गर्दा विश्वमा धार्मिक, राजनीतिक नाममा द्वन्द्व भैरहेको छ । बिधिवाद समग्रमा रुढिवादिता हो यो भनेको विषयको वैज्ञानिक विश्लेषण नगरी पुरातन कथित नियमको निरन्तरता हो ।त्यसैले हाम्रो समाज यस्तो बिधिवादीताको साक्षी बन्दा यो कलंकको शिकार बन्न पुगेको छ ।

५. यो आर्थिक विपन्नताको समस्या पनि हो । आर्थिक रूपले सम्पन्न समुदायामा छुत/अछुत भन्ने तुलनात्मक रूपमा धेरै कम देखिन्छ, तर त्यही समस्या विपन्न समुदायमा व्यापक देखिन्छ । यसको उदाहरणका लागि शहरमा भन्दा गाउँमा यो समस्या बढी छ किनकि त्यहाँ विपन्नता छ, जसको प्रभावले  उचानीचताको भावना बढी नै छ ।

६. यो जनचेतना र समन्वयको अभावमा सृजित समस्या पनि हो । समुदायमा अझै व्यापक जनजागरणको खाँचो छ, किनकि यो तहगत रूपमा अझै जनमानसमा यो त्याज्य विषय हो भनेर हामी पुग्न सकेका छैनौँ, यसले गर्दा समस्या विद्यमान छ ।

७.  केही वर्ग र समुदाय छुवाछुत टिकाइ राख्ने र कोही चाहीँ यो समस्या रहिरहे यसलाई भजाएर राजनीतिक आर्थिक पहुँच निर्माण गर्नतर्फ उद्यत छन्, तसर्थ यो समस्याको मूल जड यहाँ पनि रहेको छ । विशेषत: विदेशीको प्रभाव र केही राजनीतिक चलखेलले यसलाई संस्थागत गरिरहनका लागि मलजल गरेको छ, यसको प्रमुख समस्या यहाँनेर मुख्य रूपमा रहेको छ ।

नेपालमा दलित र छुवाछुतको इतिहास
दलित शब्द भारतबाट आयातीत शब्द हो, नेपाली मौलिक शब्द होइन । सन् १८३१ मा पहिलो पटक यो शब्दको प्रयोग भएको पाइन्छ । त्यसमा पनि इस्ट इण्डिया कम्पनीका अधिकारी जेजे मोल्स्वर्थले यसलाई उनीहरूको तर्फबाट बढी प्रयोगमा ल्याएको पाइन्छ । जसमा उनीहरूले विभेदलाई दर्शाएर भारत कमजोर बनाई कब्जा गर्न चाहन्थे । पछि भिमराव अम्बेड्करले यसलाई उठान गरी मौलिक सीप, कला र क्षमताले भरिपूर्ण शिल्पी समुदायलाई दलित भनी बढी वकालत गरेको प्रमाण रहेको छ । नेपालमा यो पदावली (दलित शब्द) निकै पछि आएर प्रयोग र यसले राज्यस्तरबाट पनि पछि नै संस्थागत मान्यता पाएको देखिन्छ ।

क्षमता र व्याबहारिक ज्ञानले निपुण यो समुदायलाई लिच्छबीकालीन शासकहरूदेखि नै केही थिचोमिचोमा पार्ने कार्य भएको पाउन सकिन्छ। त्यसपछि यो समुदायलाई मल्ल कालमा विशेषत: जयस्थिति मल्ल (सन् १३६०-१३९५) ले समुदाय स्तरका सोझा र इमान्दार शिल्पीहरूलाई कथित तल्लो जात भनेर श्रमको ज्यादै अपमान गरी छुवाछूत विधिवत गराएको इतिहास जगजाहेर छ ‌। जसले गर्दा नेपाली सामाजिक इतिहासमा तथाकथित जात व्यवस्थाले  गहिरो गरेर जरा गाड्ने काम गरेको र यो समाज विभाजनको कलंक झाङ्गिने काम गरेको पाइन्छ । पछि धेरै सामाजिक सुधार र न्यायको क्षेत्रमा अतुलनीय कार्य गरे पनि गोरखाका राजा राम शाहले यसलाई केही संस्थागत गरेको पाइन्छ, भलै उनले जयस्थिति मल्लले जस्तो कडा कानूनी कारबाही र व्यवस्था गरेको पाइन्न । त्यसपछि नेपाल एकीकरणका नायक पृथ्वीनारायण शाहले नेपाल एकिकरण गर्दा भारतको वनारसबाट ऐखजंग वि.क.लाई ल्याएर गोर्खाली सेनालाई तालिम दिएका थिए, त्यस्तैगरी बिषे  नगर्ची, धार्ने कामी, काले सार्की, मणिराम गाइने आदिलाई आह्वान गरी अभियानमा महत्वपूर्ण भूमिका प्रदान गरेकै थिए ।

त्यसैगरी नगरा बनाउन बानादार दमाईले सहयोग गरेका थिए । सबैलाई समेट्ने योजना सहित कथित रूपमा तल्लो जाती भनिएका समुदायका अग्रगण्य व्यक्तिहरू सँग व्यापक छलफल, सहयोगको अपेक्षा गरेका र एकीकरणमा सहभागिताका लागि व्यापक आव्हान गरेको पाइन्छ ‌।त्यसैले त पृथ्वीनारायण शाह भौगोलिक एकीकरणका लागि जहाँ जहाँ पुगे त्यहाँ त्यहाँ बस्ती हेर्ने हो भने सबै समुदायका व्यक्तिहरूको उल्लेख्य बसाइ रहेको पाइन्छ । विभिन्न सामाजिक र त्यो बेलाको रूढिग्रस्त समाजको संकीर्ण मानसिकताका कारण  छुवाछुत हटाउन नसके पनि नेपाल एकीकरणको सहभागितात्मक विषयमा उनको भूमिका कम आँक्न मिल्दैन । त्यसपछिका दिनमा अन्य राजाको यस विषयमा सकारात्मक या नकारात्मक उल्लेख्य भूमिका नरहे पनि राणाकालीन पहिलो शासक जंगबहादुर राणा अत्यन्तै नकारात्मक र विभेदकारी भूमिकामा देखिन्छन् ‌। उनको मुलुकी ऐन १९१० ले समाजलाई घोर अन्याय, विभाजन र अनेकतामा लैजाने कार्य गर्यो, जसको फलस्वरूप यो छुवाछुतजन्य कुकृत्यले अझै संस्थागत मान्यता पायो ।

सामाजिक इतिहासमा यो घटना या कार्य अद्यावधि कलंकित छ । तत्पश्चात मुलुकी ऐन २०२० तत्कालिन राजा महेन्द्रको नेतृत्वमा लागू भयो, छुवाछुत मुक्त समाजका लागि यो ऐतिहासिक कार्य हो । यसले कानूनी रूपमै भने पनि केही मान्यता पायो (भलै सामाजिक रूपमा अद्यावधि रहे पनि)  र आशाको किरण पनि पलाएकै हो । त्यसपछि २०४७ सालको संविधान र लोकतान्त्रिक गणतन्त्र घोषणा पछि उपेक्षित समुदायको सहभागितामूलक उपस्थितिका लागि आशालाग्दो परिवर्तन भएको छ ।

जात व्यवस्थामा वैदिक मत के छ ?
छुवाछुत मानव सभ्यताको घोर कलंक हो । यसमा केही अल्पज्ञानको कारणले र केहीले वैदिक धर्मको हुर्मत लिनका लागि नै जानी बुझी यो धार्मिक समस्या हो भन्ने गर्छन्, त्यस्ता जनलाई अरु त के भन्न सकिन्छ र एक पटक शास्त्रको व्यापक अध्ययन गरी निष्पक्ष र पूर्वाग्रहरहित भएर विश्लेषण गर्नका लागि अनुरोध छ ।यसको व्याख्या गर्ने क्रममा जाती र वर्णमा के फरक छ भन्न जरूरी छ, जातीलाई वैदिक न्याय दर्शनले भनेको छ, आकृतिर्जातिलिंगाख्या...आदि भनेर व्याख्या गरेको छ, यसको अर्थ कुनै पनि एक जाती दोश्रोमा परिणत हुँदैन, जाती/ जातीको बिचमा लिङ्ग फरक हुन्छ, प्रजनन हुँदैन भन्ने हो । यसको मतलब मानव जाती छ भने मानव नै हुन्छ । जातका विषयमा आधुनिक विज्ञानको मत पहिले नै उल्लेख गरिएको छ ।

वर्ण भनेको कर्म हो । ''जन्मना जायते शुद्र: संस्कारात् द्विज उच्यते'' भनेर जन्मले सबै निम्नकोटीको हो, संस्कारले महान बन्ने हो भन्ने हाम्रो शास्त्रले स्पष्ट रूपमा व्याख्या गरेको छ ।कर्मको सम्मानमा गीतामा भगवान कृष्णले कर्म योगको छुट्टै आयाम खडा गर्नु भएको छ, जसको संकेत कर्म व्यक्तिको परिचय हो र कर्म नै वर्ण हो जसरी गीताले व्याख्या गरेको छ ''चातुर्वर्ण्यं मया सृष्टं गुणकर्मविभागशः'',

श्रीमदभागवत सप्तमस्कन्ध ११ अध्यायको २४ श्लोकले व्याख्या गरेको छ कि,
शुद्र भन्ने र अछुत भन्ने फरक हो । शुद्र गुण, स्वभाव र कर्म हो जसको अर्थ सेवामूलक कार्य (राष्ट्र, समाज या मानव सेवा) भन्ने हुन्छ भने अछुत चाहीँ प्रभुत्ववादी, सामन्तवादी र अहंकारवादी कृत्रिम मानसिकता हो यो सँग कुनै पनि शास्त्रको कुनै पनि सम्बन्ध छैन । यो केबल आफ्नो प्रभुत्व कायम राख्न एउटा वर्गले बनाएको कु-व्यवस्था हो । शास्त्रले अछुत भन्ने शब्द जान्दैन शुद्र जान्दछ, त्यो पनि जन्म होइन कर्मको आधारमा ।अर्को कुरा आर्य जातिवाचक शब्द होइन, यो केवल गुणवाचक शब्द हो, यसमा गुणको आधारमा आर्य र अनार्य भनेर छुट्ट्याउने विषय रहन्छ।  त्यसैले गुणवन्त समाज निर्माण गर्न वैदिक शास्त्रले ''कृण्वन्तो विश्वमार्यम'' भनेको पाइन्छ । यहाँ त समुदायमा आर्य र अनार्य भनेर छुट्ट्याउन पाए विभक्त गराउन पाइन्छ भन्ने पश्चिमाहरूको वैचारिक शब्द जाल (Ideological Trap) मात्र हो । महाभारत अनुशासन् पर्व अध्याय १४३, भविष्य पुराणको अध्याय ४४ श्लोक ३३,   ले कर्म प्रधानता, ज्ञान, विवेक र क्षमताको आधारमा व्यक्तिको परिचयको व्याख्या गरेको छ, यसमा जन्मको आधार र छुवाछुतको विषय नाम निशाना छैन ।

वेदले शिल्प विद्याको कसरी सम्मान गरेको छ, ऋग्वेद ४/३६/२ लाइ हेर्ने हो भने प्रष्ट हुन्छ, पूर्वीय वैदिक दर्शनमा शिल्प विद्याको सम्मान छ भन्ने प्रष्ट हुन्छ ।कृत्रिम रूपमा सिर्जना गरिएको जातिभेद बिधिवादी (जडतामा विश्वास गर्ने) कथित धर्माचार्य र तत्कालिन शासक वर्गको एक किसिमको अज्ञानता, अहंकारिता र कु-संस्कारको परिणति हो ।

पौराणिक शास्त्रहरूका प्रमाणलाई आधार मान्दा पनि जन्मको आधारमा वर्ण या अहिलेको भाषामा भन्नु पर्दा कथित जात विभाजन पटक्कै छैन । उदाहरणका लागि ऐतेरेय दास थिए उनको विद्वता र क्षमताले ब्राह्मण (ऋषि) पदमा गए, वेश्यापुत्र वशिष्ठ ऋषि, माझीका नाति सत्यवती पुत्र वेदव्यास वेद, उपनिषद्, पुराणका रचनाकार ब्रह्मज्ञानी ऋषि भए,   तत्कालिन शासक (राजा) गाधीका पुत्र विश्वामित्र ब्राह्मण भए, अठार पुराणका प्रस्तोता सुत पौराणिक जन्मले तल्लो वर्गमा जन्मिए पनि ऋषि पदवीले विभूषित छन्, जसको हरेक पुराणमा विशेष गाथा गाइएको छ । दासी पुत्र विदुरजीको महाभारतमा उच्च स्थानदेखि लिएर भगवान श्रीरामले सवरीको जुठो बयर खाएको विषय समेतले वैदिक शास्त्रमा जन्मको आधारमा कथित तल्लो/उपल्लो जात र छुवाछुत विल्कुलै थिएन, वैदिक आधारले यसलाई नकार्छ भन्ने कुरा सु-स्पस्ट छ । बरु अहिले आएर पश्चिमाहरूले 'वर्क इज वार्शिप' भन्ने मान्यता पनि हाम्रै पूर्वीय दर्शनको आधारमा ल्याएका हुन् ।

शुद्र सम्बन्धी वैदिक धारणा के हो ? शुद्रको अर्थ अछुत हो ?
भागवत सप्तमस्कन्ध अध्याय ११, श्लोक २४ले शुद्रको परिभाषा यसरी दिएको छ कि  ''शुद्रस्य संनति: शौचं सेवा स्वामिन्यमायया ।'' यसको अर्थ शुद्र भनेको जन्म होइन, कर्म हो त्यो पनि सेवा हो, सेवा गर्ने व्यक्ति या समूह शुद्र हो, जस्तो कि राष्ट्र-सेवक, समाजसेवी, परोपकार गरी सेवा गर्ने यी सबै शुद्र हुन् ।पंक्तिकार स्वयंलाई यो शुद्र शब्द अत्यन्तै प्रिय लाग्दछ, कारण हामीले विभिन्न धार्मिक/आध्यात्मिक अनुष्ठानको माध्यमद्वारा स्वदेश तथा विदेशमा गरी झन्डै ६५० भन्दा बढी शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार क्षेत्रको उन्नयनका लागि आफ्नो वौद्धिक श्रम खर्चेर सेवा गर्ने अवसर पायौं । सेवा गर्ने व्यक्तिलाई शुद्र भन्दछ भन्ने दर्शनले दीक्षित भएको र सो अनुरुप आफूलाई शुद्रको स्थानमा राख्दा निकै गौरवको अनुभूति हुन्छ ।हामी ज्ञानका लागि सबै ब्राह्मण, त्यस्तै सुशासन , सुव्यवस्था, स्थिरताका सन्दर्भमा क्षेत्री, उद्यमशीलता, सांसारिक प्रगतिका लागि वैश्य र सीप, कला, शील्प विद्या र सेवाका लागि शुद्र बन्न जरूरी छ । एकै व्यक्तिमा बहुआयामिकताको उजागर नै हाम्रो साझा लक्ष्य हुनुपर्दछ । जसको कारणले कृत्रिम विभेदीकरण समूल अन्त्य र समुदायमा सामन्जस्यता अनि प्रेमको भावना पैदा गर्न सहज बन्दछ ।

हाम्रो लक्ष्य
हाम्रो मान्यता भनेको कर्मलाइ वर्ण (अहिलेको बुझ्ने भाषामा कथित जात) बनाउने हो, जुनकुनै तबरबाट सिर्जना गरिएको द्वन्द्व र विभेदीकरण निम्त्याउने जातिवादको अन्त्य गर्नु हो । संसारको कस्तो नियम छ भने जसले जातिभेद मान्दछ उसले अर्काको अस्तित्व किमार्थ स्वीकार गर्दैन, जडवादी हुन्छ । विश्वव्यापी धेरै घटना परिघटनाले पुष्टि गरिसकेको छ कि जातिभेदलाई प्रश्रय दिन चाहने व्यक्ति वा समूहले कालान्तरमा कुनै मानवीय दुर्घटना निम्त्याएको छर्लंग छ । जसले जातिभेदलाई मान्दैन त्यो कथित जडताले भरिएको विधिवादबाट माथि उठेको र उसको क्षितिज व्यापक हुन्छ । उसको नजर शारीरिक बनौट, रंग, आर्थिक अवस्था, भाषा, भेषभूषा र मानव निर्मित यी एवं यस्तै पर्खाल भन्दा ऊ धेरै माथि उठेर मानवतावादी चिन्तन गरेको हुन्छ । त्यस्तो व्यक्तिमा अनुशासन, प्रेम, सौम्यता, शालीनता बढी नै हुन्छ, जसले व्यक्ति सबै खालको रुढीवादलाई प्रश्रय दिने अन्धताबाट निकै माथि उठेको पाइन्छ ‌। हामीले त्यही मानवताले ओतप्रोत तथा सह-अस्तित्वको भावनाले परिपूर्ण समाज निर्माण गर्ने लक्ष्य लिएका छौं ।

हाम्रो वैदिक दर्शनले ''वसुधैव कुटुम्बकम्'' (संसारभरिका मनुष्य सबै नातागोता हौं), "संगच्छध्वं संवदध्वं सं वो मनांसि जानताम् | देवा भागं यथा पूर्वे सञ्जानाना उपासते ||'' (सँगै हिंडौ, सँगै बोलौं, हामी सबै एक मनको हुन सकौं), सर्वे भवन्तु सुखिन: सर्वे भवन्तु सुखिनः सर्वे संतु निरामया (सबै सुखी हुन्, निरोगी बनुन) आदि विषयलाई व्यापक प्रश्रय दिएको छ भने जसको मर्म र भावनालाई सम्बोधन गर्ने समाज निर्माण गर्नु आजको मूलभूत आवश्यकता हो । यसका अलावा कुनै पनि विभेदीकरणको व्याबहारिक रूपमा समूल अन्त्य भएको समाज बनाउनु हामी सबैको साझा लक्ष एवं दायित्व हो ।

वर्तमानको समस्या
वर्तमानमा ३ वटा समस्या विद्यमान छन् । पहिलो, जो पहिलैदेखि आफ्नो प्रभुत्व कायम गरिरहेको वर्ग छ उसले समाजमा अझै यो अवस्था रहिरहे हुन्थ्यो भन्ने चाहन्छ । जसले गर्दा आफ्नो प्रभाव रहेर कथित उपल्लो दर्जामा दर्ज भैरहने रूढीग्रस्त परम्परावादी मान्यातालाई प्रश्रय दिन पाइरहियोस   भन्ने चिन्तन त्यो आफैंमा विभेदीकरण र समस्याको मूलभूत कारक छ ।

दोश्रो, यो समस्याको समाधान योजना प्रताडित एवं उपेक्षित वर्गमा नपुर्याईकन या पुग्नै नदिएर ठूला ठूला तारे होटल या विदेशमा सभा सेमिनार गरी निरन्तर यसबाट लाभ उठाईरहेका समूह पनि यसको निर्मूलीकरण नहोस भन्ने चाहन्छ, किनकि समस्याको समाधान हुँदा यसलाई भजाएर खाने बाटो बन्द हुन्छ त्यसैले समस्या बल्झिरहोस र समस्या देखाइरहन पाइयोस जसले गर्दा आफ्नो दैनन्दिन राम्रो चालोस भन्ने चाहन्छ । यो गुनासो मेरो भन्दा पनि सामाजिक आध्यात्मिक कार्यकर्ताको हैसियतले गाउँ गाउँमा जाँदा स्वयंले कथित तल्लो जात भनेर प्रताडनामा पारिएका समुदायसँग भालाकुसारी गर्दा पाएको वास्तविकता हो । नेपालमा दलित (शिल्पी समुदाय) का नाममा झन्डै छ हजार संघ/संस्था खुलेका छन् तर धेरै कम याने कि नगण्य संस्थागत प्रतिनिधी मात्र टोल बस्तीमा पुगेको पाइन्छ, किनकि उनीहरूको चिन्तन समाधानोन्मुख छैन, त्यसलाई देखाएर गैरसरकारी संस्थाको नाउँमा जीवनचर्या चलाउनु छ ।

तेश्रो, समस्या भनेको समन्वयको अभाव, उही नेपालीमा एउटा उखान छ नि 'भैंसी देख्दा जोगी तर्सने, जोगी देख्दा भैंसी तर्सने' भने जस्तै हामी साँच्चिकै यो कलंकलाई जरैदेखि अन्त्य गर्न चाहन्छौं भने पहिला दलित अभियन्ता र गैर-दलित अभियन्ता बीच समाधानका लागि समन्वयको टड्कारो आवश्यकता छ । किनकि यो समस्या हाम्रो साझा समस्या हो अर्थात यो कथित तल्लो र उपल्लो जात बीचको समस्या होइन यो त गम्भीर मानवीय समस्या हो यसले हाम्रो शीर बारम्बार निहुर्याएको छ । यसमा त्यही पुरानो मानसिकता र कथित तल्लो र उपल्लो जातको हेराइले एक आपसमा सामन्जस्यता, मेल र पारस्परिक समन्वयको भावना नभएको अवस्था मूलभूत समस्याकै रूपमा रहेको छ ।

यसका लागि हाम्रो समस्या हामीले नै समाधान गर्नुपर्छ कसैले गर्दैन भन्ने सोच सबैले राख्न जरूरी छ ।

समाधान
यो समस्या कथित तल्लो जात भनेर उपेक्षामा पारिएका समुदायको मात्र होइन यो त हाम्रो सामाज, राष्ट्र र समग्र समुदायको साझा समस्या हो । यसलाई कुनै समुदाय विशेषको भनेर पन्छने, पर्गेल्ने या उपेक्षा गर्ने कार्य विल्कुलै एकात्मक हुन जान्छ । हामी सबैले साँच्चिकै एउटा गहन प्रयास गर्ने हो भने समाधान छिट्टै हुनेछ । यसमा केबल दृढ इच्छाशक्ति, सकारात्मक पहल, स्वार्थ रहित सामाजिक भावना अनि सामूहिक प्रयास हुन सक्यो भने समाधान एकदमै छोटो समयमा हुनेछ अनि उपलब्धि हासिल हुनेछ ।तसर्थ, समाधानका लागि विभिन्न निकाय, क्षेत्र र समुदायको उल्लेख्य भूमिका हुन्छ- १. राज्यको भूमिका २. सामाजिक जागरण ३. धार्मिक/सांस्कृतिक रूपान्तरण

राज्यको भूमिका:  राज्यस्तरबाट यस्तो जघन्य अपराधका सबालमा कानून कार्यान्वयनमा लैजान सामूहिक रूपमा विशेष जनदबाब सिर्जना गर्ने जसले गर्दा राज्य अझै बाध्यकारी होस कि कडा कानून लागू गर्ने सबालका लागि ।तीनै तहका निकायमा यस्ता विषयमा दार्हो उभिएर राज्यले आवश्यकता अनुसार सबल ऐन, कानून निर्माण गर्नका लागि पहल कदम चाल्नुपर्छ जसले गर्दा जनमानसमा विभेद र असमानता गर्नु हुन्न गरेमा ठूलै दण्डको भागिदार बन्नुपर्छ भन्ने सचेतना जाग्रृत होस् ।आधुनिक प्रविधिको भरपूर उपयोग गर्दै विभिन्न जनचेतनामूलक कार्यक्रम संचालन सहित यो मानवीयता बिरुद्ध हो भन्ने भावनाको सबैमा संदेश प्रवाह गर्ने ।

छुवाछुत र विभेदीकरणका बिरुद्ध लागेका व्यक्ति वा समूह छनौट गरी राष्ट्रिय रूपमा सम्मानको प्रबन्ध गर्ने जसले गर्दा अभियन्ताहरूलाई सम्बन्धित क्षेत्रमा काम गर्न ऊर्जा मिलोस ।उपेक्षित समुदायलाई कानूनी र राजकीय हैसियतमा अघि बढ्न विशेष कार्यक्रम ल्याउने ।

सामाजिक जागरण: 
क) पटक पटक उल्लेख गरिएको छ  यो उपेक्षित समुदायको मात्र होइन, हामी सबैको साझा समस्या हो, यसबाट कोही पन्छने सम्भावना छैन किनकि परोक्ष/अपरोक्ष रूपमा यो समस्याले हामीलाई पिरोलिरहेको छ । यसका लागि हरेक स्थानीय स्तरमा दलित र गैर-दलित समुदायको साझा सामाजिक समूह निर्माण गरी  हरेक तबरले यसको निर्मूलीकरणका लागि प्रयास गर्ने ।

ख) राज्यलाई कडा कानून निर्माण र कार्यान्वनका लागि निरन्तर जनदबाब सृजना गर्ने ।

ग) अन्तर समुदायगत विवाहलाई प्रश्रय, हौसला र समाजमा स्थापित हुन सबैले विशेष पहल गर्ने जसले गर्दा समुदायगत मेल भै न्यूनिकरणमा सहज होस ।

घ) थर विशेषले पनि कतिपय समस्या निम्त्याइरहेको हुनाले सबैले साझा थर राख्ने अभिप्रेरणा जागाउने जसको प्रभावले समुदायमा विभेदको भावना कम हुँदै जाओस् ।

ङ) सामाजिक अभियन्ता रोशन विश्वकर्माको भनाइलाई सापट लि‌ँदा जसरी खुल्ला दिसामुक्त क्षेत्र घोषणा भएर कार्यान्वयन भएको छ त्यसैगरी 'छुवाछुत मुक्त क्षेत्र' घोषणा गरी सामाजिक सद्भावलाई कायम राख्दै भेदभावको निर्मूलीकरणतर्फ अगाडि बढाउने ।

च) हरेक स्थानीय तहमा सभा, सेमिनार, सह-भोज जस्ता सामाजिक कार्य गरी सह-अस्तित्वको भावना विकास गर्न भूमिका खेल्ने ।

धार्मिक,सांस्कृतिक रूपान्तरण:
क) वैदिक मान्यताले गुण, प्रकृ ति (स्वभाव) र कर्मलाई वर्ण मान्दछ तसर्थ त्यसको मौलिक पक्षलाई जोड दिएर जन्म, थर या कुनै समुदाय विशेषलाई आधार मानेर वर्ण विभाजन होइन गुण र कर्मलाई आधार मानेर वर्ण विभाजनमा जोड दिई सबैको सहयोगले कार्यान्वयनमा अघि बढ्ने ।

ख) हाम्रा शास्त्रीय आख्यानले गोत्रलाई प्राथमिकता दिएको छ (थर भन्ने पछि आएको हो), त्यसैले यही परम्परामा हुर्कने समस्त समुदायलाई अब नामको पछाडी थर होइन गोत्र लेखनमा पहल सांस्कृतिक जागरणको साथमा पहल गर्ने गराउने । 

ग) उपेक्षित, कथित तल्लो जात भनिएका समुदायका इच्छुक व्यक्तिहरूलाई गुरुकूल प्रवेश, कर्मकाण्ड प्रशिक्षण तथा आध्यात्मिक प्रवचनमा जोड दिई सांस्कृतिक रूपान्तरणका विविध कार्यक्रम ल्याउने ।

घ) समावेशी गुरुकूल तथा पूर्वीय दर्शन सम्बन्धी अध्ययन गर्ने शिक्षालायहरू खडा गर्दै लैजाने ।

ङ) विभेदरहित मौलिक मनुस्मृतिको वितरण, प्रसार र उजागर तथा विभेदयुक्त, आयातित मनुस्मृतिलगायत अन्य विभेद सृजना गर्ने पुस्तकहरूको विक्री वितरण एवं ततसम्बन्धि कार्यान्वयनमा रोक तथा प्रतिबन्ध लगाउने ।

च) विभेद सृजना गर्ने यावत कुसंस्कार तथा कुरीतिको क्रमश: हटाउँदै लगेर अन्त्य गर्ने ।

छ) समाजमा संस्कारजन्य भेद गर्ने धर्माचार्य या कर्मकाण्डी पुरोहित जो सुकै भए पनि सख्त कारबाही गर्ने ।

ज) मठ, मन्दिर या धार्मिक/सांस्कृतिक धरोहरमा विभेद हुन नदिने ।

झ) वैदिक मान्याताबाट दीक्षित जुनसुकै समुदायलाई (उपेक्षितलाई प्राथमिकतामा राखी) सार्वजनिक देवालयमा गुरु/पुजारीको रूपमा नियुक्त गर्ने ।

अन्तमा, पुनश्च: म जोड दिन चाहन्छु कि यो मानवीयताको कलंकरूपी समस्याको समाधान स्वदेशका तारे होटल र विदेशका ठाउँ/ठाउँमा विभिन्न सभा, सेमिनार गरेर हुँदैन । यो समस्यालाई राजनैतिक दलको अनावश्यक प्रवेश र विभिन्न आयातित विचारवाद या धर्मको छत्रछायाँमा राखेर समाधानको जमर्को गर्नु दीर्घकालीनरुपमा घातक सिद्ध हुनेछ । हाम्रो समस्या हामी नै समाधान गर्दछौं, किनकि जुन अंगमा घाउ लागेको छ उपचार त्यहीँ गर्ने हो । विरोधका लागि विरोध गर्ने प्रवृत्ति हाम्रो समाजमा हावी छ, तर न्यायसंगत र परिस्थितिको गहनतालाई बुझेर बिरोध गर्नु सान्दर्भिक हुन जान्छ । छुवाछुत रहिरहोस र प्रभुत्व कायम गर्न पाइयोस भन्ने अतिवादी चिन्तन तथा यसलाई भजाएर स्वार्थसिद्ध गर्न एवं समुदायगत द्वन्द्वमा रमाउन उद्यत समूहलाई यो संकल्प त्यति पाच्य नहोला तर यसमा न्याय, सर्वपक्षीय र सर्वकालिक हित छ ।

यसममा हाम्रो निरन्तर एवं सतत प्रयास जारी रहन्छ । हाम्रो प्रयास मानव मिलन समाजका लागि हो । यो अभियानका लागि सबै सँग म सामूहिक आह्वान गर्दछु कि पारस्परिक सहयोग र मेलको आधारमा यो कलंकको समूल अन्त्य गरौं ।  अनि विश्वस्त बनाउन पनि चाहन्छु कि यसमा मेरो व्यक्तिगत, समूहगत या अन्य स्वार्थ केही छैन त्यो कुरा आगामी दिनमा मेरा क्रियाकलापले प्रष्ट हुने नै छ । चाहना छ त केबल सदा सदाका लागि समतामूलक समाज निर्माण गर्नुको । अस्तु !

कमेन्ट गर्नुहोस्