लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

लुम्बिनीमा सत्तारुढ एमालेले उठायो सभामुखमाथि प्रश्न

IMG

जेष्ठ १९ गते बुधबार २०७८ तिलोत्तमा सिटी। लुम्बिनी प्रदेशसभामा सत्तारुढ नेकपा एमालेले सभामुख पूर्णबहादुर घर्तीको भूमिकामाथि प्रश्न उठाएको छ । बुधबार एमाले सांसद लीला गिरीले सभामुखले प्रदेशसभामा सबैको अभिभावकको भूमिका निर्वाह गर्न नसकेको बताए ।प्रदेशसभा बैठकमा सत्ता पक्षका तर्फबाट बोल्दै उनले जनता समाजवादी पार्टीका चारजना सांसदलाई पदमुक्त गरिएको विषयलाई इंगित गर्दै यस्तो आरोप लगाएका हुन् ।‘कुनै व्यक्तिलाई दल छाड्न छुट छ, हामी जो कोही पार्टी छाडेर अन्त जान सक्छौं, जाँदा के हुने भन्ने विधिले किटान गर्छ,’ उनले भने, ‘तर छापामार शैलीमा प्रदेशसभा सचिवालयबाट भेदभावपूर्ण व्यवहार र अत्यन्त छिनाझपटीका साथ यो बीचमा जसरी खेल देखियो त्यो राम्रो संकेत होइन ।’


जनता समाजवादी पार्टीका सांसदहरु सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डेय पार्टी निर्णय विपरीत सरकारमा सहभागी भएपछि जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्षले पार्टीको बहुमतको निर्णयबाट उनीहरुलाई निष्कासन गरेको पत्र प्रदेशसभा सचिवालयमा पठाएका थिए । उक्त पत्रलाई आधार मान्दै प्रदेशसभा सचिवालयले सूचना प्रकाशन गरेपछि ती सांसदहरु पदमुक्त भएका थिए । तर सर्वोच्च अदालतको आदेशपछि ती चार नेताको सांसद पद कायमै रहेको छ । गिरीले सभामुख प्रदेशसभाको अभिभावक भएकाले सबैलाई संरक्षण गर्ने, कन्भिन्स गर्ने र आफ्नो विवेकअनुसार चल्न दिने उनको कर्तव्य हुने उल्लेख गर्दै सभामुखको भूमिकामा तलमाथि भयो भने समाजमा नकारात्मक सन्देश जाने बताए ।


गिरीले विपक्षी दलहरुले मुख्यमन्त्री शंकर पोखरेलको नियुक्ति र शपथमाथि उठाएको प्रश्नको पनि जवाफ दिए । उनले कानून अनुसार गठन भएको सरकारले शपथ ग्रहण गर्न नदिन प्रहरी प्रशासनलाई छापामार शैलीमा प्रभावमा पार्ने प्रयास भएकाले मुख्यमन्त्री कार्यालयमा लगेर शपथ लिइएको भन्दै बचाउ गरे ।उनले अहिलेको सरकार बाध्यात्मक अवस्थामा संविधानको धारा १६८ को उपधारा १ अनुसार नै गठन भएको र सरकारसँग पूर्ण बहुमत भएको दाबी गरे । ‘मैले दाबाका साथ भन्छु सरकार अल्पमतमा छैन पूर्ण बहुमतमा छ । दुई दल या अरुसँग मिलेको प्रसंग छ त्यो समयक्रमसँगै एडजस्ट हुँदै जान्छ,’ सांसद गिरीले भने ।

कमेन्ट गर्नुहोस्