लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

कथा :नेताजीको फोन

IMG
–गुरुदत्त ज्ञवाली     
 नेताजीको मोबाइलमा कुखुरो बास्यो । रिङ्ग टोन पनि कस्तो राखेका हुन् कुन्नि ? फोन आयो कि मोबाइलले कुखुरी काँ.... गर्छ । ‘‘हेलो..., ए...ए.. म अहिले हेटौँडा छु,  तिम्रो काम भयो होला, मैले हिजै भनिदिएको हुँ ढुक्क भएर बस ।” फोनमा कुरा सकेर नेताजी एक्लै बर्बराए । कसले के कामले फोन गरेको थियो र के कुरा भन्न खोजेको थियो । नेताजीले सुन्दै सुनेनन् । ऊ मान्छेले आफ्ना कुरा भन्नै पाएको थिएन । नेताजीले कर्तव्य पूरा गरे र भने, ‘‘साला.. सबैको जागिरको ठेक्का लिएको छु र ? लौजा, काम भइसक्यो भनिदिएँ जे हुन्छ हुन्छ ।” हुन त उनी त्यो बेला सुनवलतिर थिए । फोन कहाँबाट आएको हो भन्ने कुरा मेसै पाएनन्, हो न हो बुटवलबाट आएको होला भन्ने ठाने । त्यो कलभन्दा पहिले एउटा कल बुटवलबाटै आएको रहेछ त्यसैको सुरमा नेताजी बोले । 

 नेताजीको मोबाइलमा फेरि कुखुरो बास्यो, यस पटक भने उतैको मान्छे सुरुमै बोल्यो, ‘‘होइन, के बतुराएको हो ? जनताको कुरो र हाम्रो कुरो त चिन्नु प¥यो नि, तपाईं सुनवलमै बस्नुस् केन्द्रबाट सुस्ता निरीक्षण गर्न साथीहरु आउनु भएको छ त्यहाँ भाषण गरेर आजै फर्कने कार्यक्रम छ रे, हामी आउँदै छौँ, सँगै जाने हो ।” नेताजी झसङ्ग भए । उनी सुनवलमा छन् भन्ने कुरो कसले थाहा दिएछ कुन्नि ? उनी त सुनवलमा गाँठको निजी कारोबार मिलाउन सुटुक्क गएका हुन् । साथमा पार्टी र राजनीति भन्ने कुरा नबुझेको नवागन्तुक एक जना हनुमान मात्र थियो । नेताजीले ‘‘हस्” भनेर फोन काटे । वास्तवमा त्यो फोन पनि सुस्ताको नाममा व्यापार गर्ने गैर राजनीतिक समूहको रहेछ । फोन गर्ने समूहको स्थानीय अगुवा सुनवलमै भएकोले फोन गरेको, अन्तिमको नम्बर ५४ हान्नु पर्नेमा ४५ हान्यो । त्यो नम्बरले नेताजीको फोन बास्यो । उनी दिनभर सुनवलमा ती ठूला मान्छे भन्नेलाई कुरेर बसे । को मान्छेले फोन गरेको हो भन्ने एकिन गर्नेतिर लागेनन् । फलानाको जस्तो बोली थियो भन्ने आधारमा रहे । 

 नेताजीले धेरै बेरसम्म सुनवलमा बसेर ती आगन्तुलाई कुरे । अब त त्यहाँबाट सुस्ता पुगेर मात्रै पनि फर्कने समय ढल्केको थियो । उनले अघिको कलब्याक गरे तर फोन लागेन । त्यसपछि जुन मान्छेको आवाज जस्तो मानेका थिए उनैको नम्बर सर्च गरेर फोन गरे । ती मान्छेले भने, ‘‘सुस्ताको विषयमा त कुनै कार्यक्रम छैन कसले भन्यो ? बरु तपाईं नेपालगञ्ज भएको मान्छे  कसरी सुनवलमा हुनुहुन्छ त ?” नेताजीले उसै दिन बिहान आफू नेपालगञ्जमा भएकोले बुुटवलको मिटिङ्गमा आउन नसक्ने कुरा गरेका रहेछन् । त्यस कुराको खासै जवाफ नदिएर गज्याङ्ग–गुजुङ्ग पारेर बोल्दै ‘‘हेलो..हेलो...” मात्र भने । कुरो नसुनिएको अभिनय गरे । त्यो दिन उनको सुनवलको काम पनि बनेन ।नेताजी साँच्चै कुखुरे नेता हुन् । उनको कुनै सिद्धान्त, अध्ययन र अडान केही पनि छैन । चुनावमा अमुक दलको पछि लागेको हुनाले त्यो दलले सामान्य जिम्मेवारी सहितको पद दिएर नेता बनाइदिएको थियो । नेता शब्दको सामान्य भूमिका वा हैसियत उनको छैन । भोट दिने बेलामा अरु दलको नेतालाई दिए । उनले त्यसै गर्छन् । चुनावमा उठेका सबै दलका नेतासँग साँठ–गाँठ गरेर, ‘‘म बाहिर अमुक दलको मान्छे भनेर देखिएको भए पनि हजुर कै हुँ, कुरो त्यसरी नै बुझिदिनु होला” भन्ने गर्छन् र पैसा खान्छन् । त्यसबाहेक उनको धन्दा दलाली हो । खास गरेर जग्गाको । 

 उनले आफूले पैसा लगानी गर्दैनन् । अमुक दलको आडमा जग्गाको कारोबार गर्नेहरुमा भाँजो हाल्ने, लफडा पैदा गराउने जस्ता काम गरेर कमिसन खाने गर्छन् । सामान्य जनताले नेता नै ठानेर बिन्ती बिसाउने माध्यम पनि बनेका छन् । धेरै युवाहरुको खास गरेर प्रहरीमा भर्ती गराइदिने, विदेश पठाइदिने जस्ता काममा ‘‘पावरवाला हुँ” भन्ने गर्छन् । भन्ने मात्र हुन् । न उनको कसैसँग पहुँच हुन्छ, न त्यस्तो सहयोग गर्छन् नै । आफूभन्दा माथिल्लो नेतासँग यसो कुरो झोँस्ने गर्छन् । युवाहरुमा कसैको त उनीहरुकै क्षमताले पनि जागिर पाएका हुन्छन् वा विदेश जाने वातावरण बनेको हुन्छ । ती सबै कुरा पत्तो लगाएर ‘‘तिम्रो काम हुनै नसक्नेवाला थियो मैले भनिदिएर बनेको हो” भनेर पैसा खाने गर्छन् । रोजगार पाउनेहरुले होला नै भन्ने ठानेर पैसा दिन्छन् । पैसा पनि फलानालाई यति, फलानालाई यति दिनु पर्छ, मलाई चाहिन्न भनेर असाध्यै साँचिलो बन्ने गर्छन् । त्यसै कुराले सोझा सिधा युवक वा जनताले गतिलो नेता भनेर मान्ने गरेको पाइन्छ । 
 नेताजी राजनीतिको हनुमानदास हुन् । नेताका कारिन्दाको पनि दास । हाम्रो समाजले त्यस्तै नेतालाई नेता मान्ने गरेको हुन्छ । उनले पनि अरु दास बनाएका हुन्छन् भनेपछि सामान्य जनतामा कति राजनीतिक चेतना छ भन्ने कुरा सजिलै अनुमान लगाउन सकिन्छ । नेताजीको साथमा त्यस्तै महादास सधैँ सँगै हुन्छ, उसको नाम रैदास हो । रैदास अमुक दलको पनि जुझारु युवक हो । ऊ नेताजीको त सङ्कटमोचक हो । हरेक लफडा उसैले उत्पन्न गराउँछ र नेताजीबाट फैसला गर्ने गराउँछ । त्यसैले पनि जोसुकैले नेताजीमा लप्पन–छप्पन मेसो पाएका हुन्नन् । रैदासले अहिलेसम्म नेपालमा भएका सबै दलमा प्रवेश गर्दै छोड्दै गरेर धेरै दलका अनुभव बटुलेको छ । अमुक दलमा रैदासको राजनीतिक अनुभव भएको युवक भनेर चिनिने गरेको छ । नेताजीको चातुर्य रैदासको जत्तिको पनि नभएकोले उसले नेताजीलाई नचाएको ठानेको छ । 

 बुटवलमा अमुक दलको अञ्चल भेला हुँदै थियो । नेताजीको भूमिका अतिथिको स्वागत तथा आवासको व्यवस्था मिलाउने भनेर तोकिएको थियो । उनको भेला कार्यक्रमको मञ्चमा पुग्ने हैसियत अझै नबनेको हुनाले त्यसको आशा थिएन । तर त्यस भेलामा आउनु पर्ने पदाधिकारी सबै नआएकाले मञ्च खाली जस्तो देखिने भएको हुँदा आयोजकले नेताजीलाई पनि मञ्चमा बोलाए ।  उनी भने कुन लफडामा कति पैसा आउँछ भनेर बाहिर निस्केको बेला परेछ । फोनमा कुरा हुँदा होटलको चाँजो पाँजो मिलाउनु परेकोले बाहिर भएको कुरा गरे । संयोगले त्यस भेलाको आवासीय जिम्मा कुनै व्यापारीले सौजन्य गरे  । व्यापारीले आफैले सबै व्यवस्था मिलाएर कार्यक्रमस्थलमा जानकारी दिन गएका थिए । उता नेताजी भने पैसा दिए पछि बुटवलका होटल फालाफाल पाइन्छन् भन्ने लागेछ र खासै तयारी गरेका रहेनछन् ।उनको मनमा फोन गरेर सबै कुरा मिलाउँछु भन्ने पनि हुँदो हो । त्यस्तैमा नेताजीको मोबाइलमा कुखुरो बास्यो । त्यो कुखुरो बास्दा उनी खैरेनीमा गाँठ बुझ्न गएका रहेछन् । खैरेनीवालाले यसै पनि नेताजीलाई पैसा दिनै पर्छ भनेर सुरुमै थोरै पैसाले उम्काउन बोलाएका रहेछन् । खैरेनीको कुरो रैदासले पनि थाहा पाएन । नत्र उसले उसको हिस्सा मागेरै छोड्नेवाला थियो । यो फोन रैदासको थियो । उसले, ‘‘धकधइमा जग्गाको ठुलै प्लट किन–बेच हुँदैछ, मैले खिचलो तयार गरेर ठिक्क पारेको छु, कुरो मिल्ला जस्तो छ र पैसा पनि राम्रै हात पर्छ तुरुन्त आउनुस्” भन्यो । नेताजीले खैरेनीको दाम हात पारेपछि हान्निएर धकधइ पुगे । फर्केर बुटवलमा आउँदा साँझ पर्नै लागेको थियो तर कार्यक्रम सकिएको थिएन । 

 आउँदा आउँदै उनलाई मञ्चमा बोलाइयो । मञ्चमा बस्न नपाउँदै कार्यक्रम सकिन लागेकोले उनलाई धन्यवाद मन्तव्य दिन लगाइयो । के बोलुन् बिचरा...? कुरो फुरेन, बोल्नु पर्ने कुराको जानकारी पनि पाएका थिएनन् । ‘‘सभापति कमरेड, जयनेपाल, देशमा प्रतिगामी शक्ति जुर्मुराएको छ, हामीले हातमा हात मिलाउनु पर्छ, पञ्चेले पनि देश खायो, अरुले पनि खाए, अब हाम्रो पालो आएको छ, त्यसैले हाम्रो क्रान्तिले फट्को मारेर अग्रगमनको धुलो पखालेर धुजा–धुजा नपार्ने हो भने माओले भन्नुभए जस्तै र अर्को कुरा यहाँ स्वागत गर्न पनि मलाई भनिएको हुनाले त्यसको निम्ति हामी एक जुट भएर देशमा काँचुली फेर्न कटिबद्ध हुने बेला भएको छ । त्यसो भएको हुनाले आजको दिनमा हामी मिलेनौँ र फुट्यौँ भने दुस्मनले आँखा खोलेको छ र म सबैलाई यसै भन्दै स्वागत गर्न चाहन्छु, धन्यवाद ।” नेताजीको त्यही अन्तिमको धन्यवाद शब्दले धन्यवादको काम ग¥यो । उनको मन्तव्य पछि तररर ताली त बज्यो नै, हाँसोको फोहरा छुट्यो । सहभागी सबैले पेट मिचेर हाँसे । त्यो देखेर नेताजीले मनमा भाषण गज्जबको भएको महसुस गरे र मख्ख परे । उनलाई साँझको होटलको चिन्ता थियो र फोन हातमै समातेर निस्के । 

 नेताजी बाहिर निस्केर कुनै होटलमा फोन गरेर यति जनालाई कोठा चाहिएको छ कति पैसा हो ? भनेर सोधे । होटलवालाले ननभेज खाना र आवासको गरेर तीन दिनको असी हजार पर्छ भने । त्यसपछि भने उनी कार्यक्रम स्थलतिरै फर्के र होटलको पैसा निकासाको कुरो गर्दै थिए । आवासको सौजन्य गरेका व्यापारी त्यहीँ रहेछन् । ती व्यापारीले त सबै कुरो बुझेनन् तर ठूला नेताजीले उः..उहाँले सौजन्य गर्नुभएको छ भनेर सुनाए । नेताजीले घण्टी नै नआएको मोबाइल कानमा राखेर, ‘‘हेलो म गुल्मी छु, को बोलेको ?” भन्दै अलि परै पुगे ।  आयोजकले ती नेताजीसँग अरु कुरा गर्नु थियो त्यसैले उनलार्ई साँच्चै फोन गरे ।  नेताजीको मोबाइलमा फेरि कुखुरो बास्यो । उनले झर्केर ‘‘म गुल्मी छु त्यहाँ आउन सक्दिन भनेको सुनेनौ ? को बोलेको हो ?” भने । तबसम्म फोन गर्ने आयोजक नेताजीको नजिकै पुगे र भने, ‘‘यो गुल्मी हो ? जानुस् होटलको बुकिङ्ग रद्द गर्नुस्” । नेताजी झसङ्ग भए । होटलमा बुक गरेको भए पो रद्द गर्नु ......? 
( १० मङ्सिर २०७१ मा प्रकाशित मुख्खेनीको मसान कथासंग्रहबाट साभार )

कमेन्ट गर्नुहोस्