लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

पत्रकारलाई कामबाट ननिकाल्न महासङ्घको चेतावनी

IMG

जेष्ठ ५ गते बुधबार २०७८ तिलोत्तमा सिटी।नेपाल पत्रकार महासङ्घले कोरोना महामारीको समयमा पत्रकारलाई कामबाट ननिकाल्न निजी सञ्चार गृहहरूलाई चेतावनी दिएको छ । कोरोना महामारीको दोस्रो लहरमा पनि निजी सञ्चार गृहहरूले श्रमजीवी पत्रकारलाई निकाल्न थालिएको सूचना आएको भन्दै महासङ्घले कुनै पनि बहानामा पत्रकारकाे रोजगारी नखोस्न चेतावनी दिएको हो ।नेपाल पत्रकार महासङ्घका महासचिव रोशन पुरीले कोरोना महामारीका बेला कुनै पनि बहानामा पत्रकारलाई निष्कासन नगर्न आग्रह गर्नुभयो । उहाँले कोभिड १९ को पहिलो लहरमा जस्तै दोस्राे लहरमा पनि पत्रकारलाई निष्कासन गर्न सुरु गरिएको र निष्कासित भएका पत्रकारका निम्ति महासङ्घले कानुनी लडाइँ लड्नुको साथै दबाबमूलक काम गरिरहेको बताउनुभयो । महासङ्घले कोभिडको दोस्राे लहरमा निष्कासनमा परेका नाै जनाको पुनर्नियुक्तिसमेत गराएको महासचिव पुरीले जानकारी दिनुभयो । त्यसैगरी पाँच सञ्चार माध्यमलाई सात दिनभित्र पत्रकारको समस्या समाधान गर्न अल्टिमेटम दिएको पनि उहाँले जानकारी दिनुभयो ।


महासङ्घले महामारीको समयमा पत्रकार फ्रन्टलाइनमा बसेर काम गरिरहेको भन्दै फ्रन्टलाइनरको परिभाषाभित्र पत्रकारलाई पनि समेटेर त्यही प्रकारको सेवा, सुविधा र व्यवहार गर्न पनि सरकारसँग आग्रह गरेको महासचिव पुरीले भन्नुभयो। पत्रकार महासङ्घले कोरोना सङ्क्रमित पत्रकारलाई उपचारका लागि सहजीकरण पनि गरिरहेको छ । पत्रकार महासङ्घको केन्द्रीय कार्यालयमा रहेको आवास गृहमा आइसाेलेशन बेड निर्माण गरेको गरिएको छ ।दाङ, रोल्पा, कपिलवस्तु, पाल्पा, गुल्मी, अर्घाखाँची, प्युठान, बाग्लुङ, पर्वत लगायतका जिल्लामा अक्सिजन, चिकित्सकसहितको आइसाेलेशन सेन्टर बनाएर उपचार गर्ने वातावरण बनाएको महासचिव पुरीले जानकारी दिनुभयो । काठमाण्डाै उपत्यकामा सङ्क्रमित पत्रकारका लागि बेड, अक्सिजन, औषधि खोज्ने र बाहिरी जिल्लाबाट रिफर भइ आएका पत्रकारलाई काठमाण्डाैमा बेड मिलाउने, आईसीयू, भेन्टिलेटर मिलाउने जस्ता काम महासङ्घले गरिरहेको उहाँले बताउनुभयो ।


महासङ्घका अनुसार, जेठ २ गतेसम्म देशभर गरी झन्डै आठ सय जना पत्रकार कोरोना सङ्क्रमित भएका छन् । दुई सय ५० भन्दा बढी सक्रिय सङ्क्रमित छन् । ४० जनाकाे अस्पतालमा उपचार भइरहेकाे छ । ६ जनाको आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको छ भने सङ्क्रमणबाट १३ जना पत्रकारले ज्यान गुमाएका छन् ।

कमेन्ट गर्नुहोस्