
आइतबार २६ बैशाख, २०७८ तिलोत्तमा सिटी। बिरामीलाई आवश्यक पर्ने अक्सिजनको अभाव देखाउँदै भैरहवा स्थित युनिभर्सल कलेज अफ मेडिकल साईन्सेजले नयाँ कोभिडका बिरामी भर्ना नलिने जनाएको छ । मेडिकल कलेजले आईतबार एक पत्र जारी गर्दै अक्सिजनको नियमित आपूर्तिको व्यवस्था नभए सम्म सिमित शैया मात्र सञ्चालनमा ल्याउने जनाएको छ ।मेडिकल कलेजका मेडिकल सुपरिडेन्टेन डाक्टर साधन मुखीले जारी गरेको पत्रमा अस्पतालले दैनिक रुपमा २ सय जना गम्भिर प्रकिृतिका बिरामीहरुको उपचार प्रदान गर्दै आएकोमा अक्सिजनको अभावमा उपचार गाह््रो भएको बताएका छन् । दैनिक ७ सय भन्दा बढी सिलिण्डरबाट अक्सिजनको नियमित आपूर्ति गर्नु पर्नेमा हाल त्यो पुरा नभएको हुदा उपचार प्रभावित भएको उनको भनाई छ । यसले गर्दा अब थप कोरोनाका बिरामी भर्ना गरि उपचार गर्न असहज परिस्थिति भएको बताउँदै अस्पतालले सोमबार देखी नियमित शैया मात्र सञ्चालन गर्ने जनाएको छ ।
मेडिकल कलेजका जन सम्पर्क अधिकृत शुसिल गुरुङ्गले सोमबार देखी कोभिड बाहेक अन्य बिरामीको मात्र उपचार हुने जनाएका छन् । उनले अस्पताललाई अहिले प्रति दिन ७ सय सिलिण्डर आवश्यक रहेको जनाए । स्थानिय प्रशासनले अस्पताललाई दैनिक ४ सय २० वटा सिलिण्डर दिने प्रतिवद्धता जनाएको छ । तर प्रतिवद्धता अनुसार पनि सिलिण्डर नआएको कारण उपचार गर्न नसकिएको उनले बताए । “हाम्रोमा २५ देखी ३० वटा सिलिण्डर प्रति घण्टा खपत भई रहेको छ, प्रशासनले आज १ सय ६८ वटा मात्र सिलिण्डर पठाएको छ । अनि कसरी उपचार सम्भव छ ?” गुरुङ्गले भने भैरहवामा रहेको मेडिकल कलेजमा अहिले कोभिड बिरामीका लागी १० वटा आइसियु, ९० वटा एचडियु बेड रहेका छन् । यस संगै थप ६० शैयाको थप आईसोलेसन निर्माण सम्पन्न भई सकेको उनले जानकारी दिए । यस संगै अस्पतालाई प्रतिदिन १ हजार अक्सिजन सिलिण्डर आवश्यक पर्ने गुरुङ्गको भनाई छ ।
यसले कोभिडका बिरामीको उपचारमा ठूलो राहत देखिएको थियो । भोली देखी अस्पतालले त्यो सेवा बन्द गर्दा यसको प्रत्यक्ष प्रभाव पनि कोभिड बिरामीलाई नै पर्ने हो।यस बिषयमा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ्गलाई सम्पर्क गर्दा उनले अस्पतालले भर्ना लिन नछोड्ने दावी गरेका छन् । “आज मात्रै मैले २ पटक अस्पतालको अनुगमन गरेको छु, २ सय ५५ जनालाई अक्सिजन दिएर राखिएको छ।” तामाङ्गले भने अहिले सबै भन्दा ठूलो समस्या भनेकै अक्सिजनको रहेको हुदा यसको समाधानको लागी छलफल भै रहेको उनले जानकारी दिए ।
कमेन्ट गर्नुहोस्