लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

नाकामा कडाई नगर्दा जिल्लामा महामारीको समस्या

IMG

तिलोत्तमा २०७८ बैशाख २३ गते बिहिबार। भारतमा कोरोनाभाइरसको नयाँ प्रकारको संक्रमण फैलिएपछि रोजगारीको लागि भारतमा रहेकाहरू नेपाल फर्किने क्रम अहिले पनि जारी छ।केही अघिसम्म भारतीय सीमा जोडिएका जिल्लाका नाकामा हेल्थडेस्क राखी स्वास्थ्य परीक्षणको लगत राखेरमात्र नेपाल प्रवेश गराउन थालिएको थियो। भारतसँग सीमा जोडिएको रूपन्देहीको बेलहियामा हेल्थडेस्क स्थापना गरी तापक्रम लिने र व्यक्तिगत विवरण लिएरमात्र प्रवेश गराउने गरिएको छ। पछिल्लो पटक कोरोना संक्रमण फैलिएपछि चैत १० गतेयता बेलहिया नाका हुँदै २२ हजारभन्दा बढी नेपाली भारतका विभिन्न सहरबाट स्वदेश फर्किएको तथ्यांक छ।इलाका प्रहरी कार्यालय बेलहियाका अनुसार अहिले पनि दैनिक ३/४ सय जना यही नाकाबाट भित्रिइरहेका छन्।


कोरोना महामारीसँग युद्ध गरिरहेको भारतबाट फर्किनेहरूको सामान्य परीक्षणमात्र गरेर प्रवेश गराउँदा रूपन्देही कोरोना महामारीको चपेटामा परेको छ। सीमामा स्थापना गरिएको हेल्थडेस्कमा परीक्षण गर्दा उच्च ज्वरो देखिए उनीहरूको स्वाब संकलन गर्ने गरिएको हेल्थडेस्कमा सक्रिय भूमिका निर्वाह गरिरहेको सीमा सुरक्षा कार्यालय बेलहियाले जनाएको छ।सीमामा स्थापना भएको हेल्थडेस्कको जिल्ला प्रशासन कार्यालय रूपन्देहीले व्यवस्थापन गरिरहेको जनाएको छ।जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत जनक थापाका अनुसार वैशाख २ गतेदेखि बेलहिया नाकामा एन्टिजेन परीक्षण गर्न थालिएको छ।वैशाख २ गतेदेखि २० गतेसम्म नेपाल प्रवेश गरेका र उच्च ज्वरो देखिएकाहरूको एन्टिजेन परीक्षण गर्दा ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।तापक्रम परीक्षण गर्दा उच्च ज्वरो देखिएका ५ सय २३ जनाको एन्टिजेन परीक्षण गरिएकोमा ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।वैशाख २ गतेदेखि २० गतेसम्म ८ हजार ५६ जना नेपाली स्वदेश फर्किएका छन्।


२० गतेमात्र नेपाल प्रवेश गरेका ३ सय ८७ जनामध्ये ३६ जनामा ज्वरो देखिएपछि एन्टिजेन परीक्षण गर्दा ४ जनाको रिपोर्ट पोजेटिभ आएको सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय बेलहियाका प्रहरी उपरीक्षक राजेश उप्रेतीले जानकारी दिए।यसरी सीमानाकामा भेटिएका संक्रमितलाई रूपन्देहीका विभिन्न अस्पताल र स्थानीय तहहरूले बनाएका आइसोलेसनमा राख्ने व्यवस्था मिलाइएको रूपन्देहीका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले जानकारी दिए। तर सबै संक्रमितहरूलाई लक्षणको रूपमा ज्वरो नआउने भएकोले सीमानाकामा आउने जतिको परीक्षण नै गर्नुपर्ने भारतबाट फर्किएकाहरू बताउँछन्।सीमानाकामा परीक्षण नगरी सिधै घर जाँदा घरपरिवार तथा गाउँ समाजमा समेत  संक्रमण फैलने खतरा रहेको उनीहरूको भनाइ छ।दिल्लीबाट सोमबार बेलहिया आइपुगेका अर्घाखाँचीका रामकृष्ण पोखरेलले सिमानाकाबाट प्रवेश गर्ने सबै नेपालीको एन्टिजेन परीक्षण गर्ने व्यवस्था मिलाउनुपर्ने बताए।भारतको दिल्ली, पंजाव, महाराष्ट्र, गुजरात लगायतका सहरमा रहेका नेपालीहरू बेलहिया नाका हुँदै घर फर्किने गरेका छन्।

कमेन्ट गर्नुहोस्