
तिलोत्तमा २०७८ बैशाख २१ गते मंगलबार। देशभर कोरोना संक्रमण बढ्दै गएपछि उत्तरी व्यापारिक नाकामा उच्च सुरक्षा सतर्कता अपनाउन शुरु गरिएको छ । व्यापार सहजताका लागि नेपालले अधिकतम सुरक्षा अपनाउनुपर्ने भन्दै चिनियाँ प्रशासनको आग्रहपछि तातोपानी र रसुवागढीमा बाह्य मानिसको प्रवेश समेत रोकिएको भन्सार कार्यालयहरुले जनाएका छन् ।रसुवागढी नाकाभन्दा डेढ किलोमिटर वरबाटै मानिसहरुको प्रवेशलाई अहिले निषेध गरिएको रसुवागढी भन्सार कार्यालय प्रमुख रामप्रसाद रेग्मीले अनलाइनखबरलाई बताए । खोपको मात्रा पूरा गरेका, क्वारेन्टिनमा बसेका र व्यापारसँग सम्बिन्धत जनशक्ति मात्रै अहिले नाकामा रहेको भन्सारका कार्यालय प्रमुख रेग्मीले बताए । कोभिड सुरक्षा सतर्कताका लागि चिनियाँ पक्षले निकै चासो दिएको पनि उनले बताए ।
‘नेपालमा संक्रमण बढेपछि चिनियाँहरुले निकै चासो देखाएका छन् । बोर्डरमा रहेका सबै जनशक्तिले खोप लगाएका छन् भने पीपीई, स्यानिटाइज र ज्वरो नापेर मात्र काममा खटिने गरेका छन्’ भन्सार प्रमुख रेग्मीले थपे, ‘बोर्डर प्वाइन्टभन्दा डेढ किलोमिटर पर नै प्रहरीले नयाँ मानिसलाई प्रवेश रोकेको छ । नाकासम्म कोभिडको असर पर्न नदिन हामी सचेत छौं ।’सरकारले तोकेको पूर्ण स्वास्थ्य मापदण्डको बोर्डरमा अधिकतम पालना गरेको पनि उनले बताए । कुनै पनि हालतमा नाकाको व्यापार कोभिडका कारण प्रभावित नहोस् भन्नेमा भन्सार प्रशासन सचेत रहेको रेग्मीले बताए । पछिल्लो समय नाका भएर आउने कन्टेनरको संख्या पनि बढेको उनले बताए । पहिले दैनिक पाँच सात वटा मात्रै कन्टेनर नेपाल भित्रिने गरेकोमा त्यो संख्या अहिले दैनिक ८ वटासम्म पुगेको उनले बताए । नाकाबाट स्याउ, लसुन, ओखर, जलविद्युत परियोजनाका सामानहरु आयात भइरहेका छन् ।
यता नेपाल–चीन व्यापारको अर्को नाका तातोपानीमा पनि उच्च सुरक्षा सतर्कता अपनाएर व्यापार सहजीकरण गरेको भन्सार कार्यालयले जनाएको छ । नाकालाई कोभिडमुक्त बनाउन त्यहाँ खटिएका झण्डै पाँच सय जनशक्तिले खोपको मात्रा पूरा गरेको भन्सार प्रमुख लालबहादुर खत्रीले बताए । सामान ओसार्ने कन्टेनरका चालक तथा लोड अनलोडमा खटिने सबै कर्मचारीहरुलाई अनिवार्य क्वारेन्टिनमा राखिएको र पीपीई तथा शरीरको तापक्रम मापनलाई अनिवार्य गरिएको भन्सार प्रमुख खत्रीको भनाइ छ ।‘नयाँ मानिसहरु भन्सारमा आउन सक्दैनन्, भएकाहरु क्वारेन्टिनमा बसेका छन् भने स्वास्थ्य सुरक्षा मापदण्ड पनि पूर्ण पालना गरेका छन्,’ खत्रीले भने ।मालवस्तुको निसंक्रमण तथा स्वास्थ्य सुरक्षा मापदण्ड पालनामा चिनियाँ अधिकारीहरुले पनि निकै चासो राख्ने गरेको उनले बताए। ‘नाकामा अवरोध नहोस् भन्नेमा हामीहरु सबै जना सचेत छौं, यहाँ कोभिड असार नपरोस् भन्ने हाम्रो प्राथमिकता हो,’ भन्सार प्रमुख खत्रीले भने ।
कमेन्ट गर्नुहोस्