लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

परिवारमा एक जना कोरोना संक्रमित भए के गर्ने?के नगर्ने ?

IMG

अनुप सुवेदी 

तिलोत्तमा २०७८ बैशाख १३ गते सोमबार।  कुनै एउटा परिवारमा एकभन्दा धेरै सदस्यमा कोरोना संक्रमण छ भने उनीहरुसँग सँगै बसेमा सबै सदस्यलाई संक्रमण हुने जोखिम हुन्छ । कसैको आइसोलेसन अवधि चाँडो सकिन्छ । आइसोलेसन अवधि सकिएको व्यक्ति आइसोलेशन नसकिएको व्यक्तिसँगै बसे पनि हुन्छ, संक्रमण नभएको अर्को व्यक्तिसँग बसे पनि हुन्छ । 


ज्वरो आएमा, खोकी लागेमा, पखाला चलेमा प्यारासिटामोल, खोकी कम गर्ने औषधी, जीवन–जल बाहेकका अन्य औषधी नखानुहोस् । विभिन्न थरीका भिटामिन, जिङ्क, एजिथ्रोमाइसिन जस्ता एन्टिबायोटिक जस्ता औषधी कि त हानीकारक छन्, कि अनावश्यक छन् । 


कोरोना पोजिटिभ हुनेहरुले गर्नैपर्ने मुख्य कुरा रगतमा ‘अक्सिजन स्याचुरेशन’को निगरानी नै हो । (अक्सिजन स्याचुरेसनले रगतमा अक्सिजनको मात्रा दिन्छ । ९४ भन्दा कम भएमा जोखिम हुनसक्छ ।)  त्यो दिनमा २–३ पटक हेर्नुपर्छ । (यसलाई नाप्न अक्सिमिटरको प्रयोग गर्नुपर्छ ।) कालोबजारी छ, त्यसैले सबैले किन्न संभव छैन । एक टोलमा एक ‘पल्स अक्सिमिटर’को जोहो गर्ने अभियान चलाउनुपर्ने मैले देख्छु । एउटै मेशिनलाई निर्मलिकरण गरेर टोलभरि डुलाएर प्रयोग गर्न सकिन्छ । 


मैले देखेको मुख्य समस्याः 

संक्रमितको संपर्कमा आएका परिवारका अरू सदस्य पनि एक अर्कासँग छुट्टाछुट्टै (क्वारन्टिनमा) बस्नुपर्ने हो, तर आपसमा घुलमिल भएरै बसेका हुन्छन् । त्यसो गर्दा यदि एकजनालाई विषाणु सरिसकेको रहेछ भने अरूलाई पनि सर्ने खतरा हुन्छ । यसरी घरभरि, टोलभर संक्रमण सल्किंदैछ । 


संभव भएसम्म छुट्टाछुट्टै कोठामा क्वारन्टिन बस्नुपर्छ, तर अधिकांश नागरिकलाई असंभव हुनसक्छ ।  त्यसैले समस्या हुनेलाई क्वारन्टिन÷आइसोलेशनको लागि ठाउँ जुटाइदिने दायित्व समुदाय÷राज्यको छ । महामारी फैलिन नदिन राज्यले गर्न सक्ने लगानीको अनुपातमा प्रतिफल सबैभन्दा बढी हुने काममध्ये एउटा यो पनि हो । 


यदि कोठा वा सामुदायिक क्वारन्टिनको अभावले छुट्टाछुट्टै कोठामा बस्न संभव छैन भने के गर्न सकिन्छ ? वा एक्लै कोठामा थुनिएर बस्न नसक्ने साना केटाकेटीलाई के गर्ने ?  


सजिलो छैन, त्यस्तो अवस्थामा । छुट्टाछुट्टै बस्न गाह्रो हुनेहरु जस्तै साना नानीबाबुहरु र आमा, स्थानाभावले एउटा कोठैमा बस्नुपर्ने अन्य सदस्यहरुले तुरुन्तै पिसिआर गर्ने, ताकि कसैको पिसिआर पोजिटिभ रहेछ भने पहिले नै थाहा होस् । 


यदि दुवैको नेगेटिभ आए एउटै कोठामा पनि मास्क लगाएरै (नानीले बाहेक), सकभर दूरी कायम गरेर बस्ने । साना नानीलाई एक जना अभिभावकसँग मात्र बस्न फकाउने । खुला ठाउँ÷आँगन छ भने मास्क लगाएर, दूरी कायम गरेर एकै समय बसे पनि भयो । 


अनि ८–१० दिनमा फेरि पीसीआर दोहोर्‍याउने । 


छुट्टै क्वारन्टिन गर्न पाउनेले चाहिं लक्षण देखिएमा तुरुन्तै, नत्र छुट्टै बस्न थालेको ८–१० दिनमा १ पटक पिसिआर गरे हुन्छ । 

अर्को समस्या खाना खाँदा देखेको छु । प्राकृतिक मानवीय गुणले होला, छुट्टाछुट्टै बस्नेले पनि खाना खाँदा चाहिं सँगै वा पहिलेभन्दा साना समूहमा (जस्तै बा-आमा, छोरा-बुहारी) खान बसेको देखेको छु । खाना खाँदा पालैपालो एक्लै जाने, पस्कने, खाने गर्नुको विकल्प छैन । 


शौचालय एउटै छ भने नि ? भेन्टिलेशन नहुने ठाउँमा पालैपालो जाँदा पनि हावामा तैरिरहेका ‘एरोसोल’बाट धेरै जना संक्रमित हुने डर हुन्छ । त्यसैले शौचालयमा पूरै समय मास्क लगाउनुपर्छ । सानै झ्याल छ भने पनि बिचबिचमा खोल्ने गर्नुपर्छ । कतिले ‘फ्लश’ गर्दा कमोडको ढक्कन बन्द गर्न पनि सल्लाह दिन्छन् । 


धाराका टुटी वा पानीका जगका ह्यान्डललाई पनि साबुन पानीले धोएर पखाल्नुपर्छ ।  आ-आफ्नो फरक तौलिया प्रयोग गर्नुपर्छ । 

जाडो नहुने बेला कोठाका झ्यालहरू खोलेर राखौं । अरू बेला के प्रयास गर्नुपर्छ भने कुनै पनि समयमा एकै कोठा वा स्पेशमा मास्क नलगाई २ जना वा बढी मान्छे नहोइयोस् । 


-संक्रामक रोग विशेषज्ञ अनुप सुवेदीको ट्वीट( @AnupSubedee ) बाट यहाँ साभार गरिएको हो ।  

कमेन्ट गर्नुहोस्