
तिलोत्तमा २०७८ बैशाख ८ गते बुधबार। इन्धनको मूल्य बढ्नुमा कच्चा तेलको अन्तर्राष्ट्रिय मूल्य बढ्नु र डलरको तुलनामा नेपाली रुपैयाँको अवमूल्यन हुनु प्रमुख कारण रहेको निगमको दाबी छ । पहिलो चरणको लकडाउन सकिएपछि नेपालले खरीद गर्ने बे्रन्ट कच्चा तेलको मूल्य निकै उकालो लागेको निगमका प्रवक्ता विनितमणि उपाध्याय बताउँछन् ।नेपालले तेलको रकम भुक्तानी गर्ने डलर महँगो हुनु र नेपाली रुपैयाँको अवमूल्यन बढ्दै जाँदा त्यसको असर पेट्रोलियम पदार्थको मूल्यमा परेको निगमको दाबी छ ।अन्तर्राष्ट्रिय मूल्य घटे घट्ने र बढे बढ्ने स्वाभाविक प्रक्रिया भएकाले इन्धनको मूल्य वृद्धिमा निगमको भूमिका खासै नभएको दाबी प्रवक्ता उपाध्याय गर्छन् । अन्तर्राष्ट्रिय मूल्य वृद्धिकै कारण १५ दिनमा अहिले पनि ७० करोड ६६ लाख रुपैयाँ घाटामा निगम रहेको उनले बताए ।
‘हामीलाई अझै पनि पेट्रोलमा ६.७२ पैसा, डिजलमा ४४ पैसा र खाना पकाउने एउटा ग्याँस सिलिण्डरमा ४१८ रुपैयाँ घाटा छ । हरेक महिना झण्डै डेढ अर्बका दरले निगमको घाटा बढिरहेको छ’, प्रवक्ता उपाध्यायले भने ।पछिल्लो चार महिनामा निगम झण्डै ७ अर्ब रुपैयाँ घाटामा रहेको र यही अनुपातमा घाटा बढे निगमको नाफा र मूल्य सञ्चित कोषको रकमले पनि नधान्ने अवस्था आउने उनको भनाइ छ ।‘कोषमा अहिले १२/१३ अर्ब रुपैयाँ बाँकी छ, मासिक हामीले १६/१७ अर्बको पेट्रोलियम किनिरहेका छौं, अहिलेकै दरले घाटा बढ्ने हो भने निगम टाटपल्टिन्छ र आपूर्तिमा पनि समस्या आउन सक्छ’, उनले भने ।खाना पकाउने ग्यासमा मात्रै निगमलाई हरेक १५ दिनमा ६० करोड रुपैयाँ घाटा रहेको निगमको दाबी छ ।
कति बढ्यो कच्चा तेलको अन्तर्राष्ट्रिय मूल्य ?
चालु आर्थिक वर्षमा निगमले साउन १७ गते (एक जुलाई २०२०) देखि मूल्य वृद्धि शुरू गरेको थियो । सो दिन अन्तर्राष्ट्रिय बजारमा निगमले किन्ने ब्रेन्ट क्रुडको मूल्य प्रतिब्यारेल ४३.१३ डलर थियो । त्यसयताको १० महिनामा उच्चतम बिन्दु ६९.९५ डलर प्रति ब्यारेलसम्म भाउ पुगेको तेलको अन्तर्राष्ट्रिय मूल्य इतिहास तथ्यांक राख्ने वेबसाइट म्याक्रोट्रेन्डमा उल्लेख छ ।१ सेप्टेम्बरदेखि ३० अगष्टसम्म निरन्तर ओरालो लागेर ३५ डलर प्रतिब्यारेलसम्म झरेको कच्चा तेलको भाउ ५ मार्चमा उच्च बिन्दु प्रति ब्यारेल ६९.९५ मा पुगेको थियो । १९ अप्रिलसम्म आइपुग्दा प्रति ब्यारेल ६७.०८ डलरमा झरेको छ । एक ब्यारेलमा १५८.९८ लिटर कच्चा इन्धन हुन्छ ।भारतसँग प्रतिलिटर ६० रुपैयाँ ५५ पैसामा किनेको पेट्रोलमा सरकारले ५५.८६ पैसा कर लगाएको छ । व्यावसायिक प्रयोजनमा उपभोग हुने हवाई इन्धन ५२ रुपैयाँ २३ पैसामा खरीद गरेर सबैभन्दा थोरै १३ रुपैयाँ ८२ पैसा कर लगाएको छ ।
६० रुपैयाँको पेट्रोलमा ५५ रुपैयाँ कर
सरकारले कर असुल गर्ने प्रमुख अस्त्रको रूपमा पेट्रोलियम पदार्थलाई बनाएको छ । भारतसँग प्रतिलिटर ६० रुपैयाँ ५५ पैसामा किनेको पेट्रोलमा सरकारले ५५.८६ पैसा कर लगाएको छ ।यस्तै ५७ रुपैयाँ २५ पैसामा किनेको डिजलमा ३८.५३ रुपैयाँ र ५५ रुपैयाँ ६१ पैसामा किनेको मट्टितेलमा १९.९८ रुपैयाँ कर लगाइएको छ ।व्यवसायिक प्रयोजनमा उपभोग हुने हवाई इन्धन ५२ रुपैयाँ २३ पैसामा खरीद गरेर सबैभन्दा थोरै १३ रुपैयाँ ८२ पैसा कर लगाएको छ ।सरकारले १२४६ रुपैयाँ ९ पैसामा खरीद गरेको एक सिलिण्डर खाना पकाउने ग्याँसमा २३७ रुपैयाँ ८१ पैसा कर थपेको छ ।
कर पुनर्मूल्यांकन गर्छौं
इन्धनमा लगाइँदै आएको कर सम्बन्धमा विवाद चलिरहेकै बेला उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले भने करको पुनर्मूल्यांकनबारे छलफल थालेको जनाएको छ ।इन्धनमा लगाइएको कर अत्यधिक भएको र यसले उपभोक्तामा परेको असरबारे मन्त्रालयले प्राथमिक चरणको छलफल शुरू गरेको निगमका अध्यक्ष एवं वाणिज्य सचिव दिनेश भट्टराईले बताए ।बजेटमार्फत आर्थिक ऐनले मात्रै करको दरमा हेरफेर गर्ने भएकाले बजेट आउँदासम्म करको पुनर्मूल्यांकनका लागि कुर्नुपर्ने सचिव भट्टराईले बताए ।‘प्राइमरी तहको छलफल भएको छ, कर आर्थिक ऐनमार्फत बजेटले व्यवस्था गर्छ । अब नयाँ बजेटसम्मै यसबारे पर्खनुपर्ने अवस्था छ’, सचिव भट्टराईले भने ।करको दर घटाएर बढ्दो मूल्यमा उपभोक्तालाई राहत दिन मन्त्रालयले उच्चतम प्रयास गरिरहेको उनको भनाइ थियो ।
कमेन्ट गर्नुहोस्