लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

माधव नेपाल समूहको अभियान घोषणा भोलि

tillotmacitynews - 2021 Apr 02 09:32 PM
IMG

२०७७ चैत २० गते  तिलोत्तमा। नेकपा एमालेको माधवकुमार नेपाल समूहले संगठन विस्तार तथा सुदृढीकरणसम्बन्धी अभियान भोलि (शनिबार) घोषणा गर्ने भएको छ । साथै राष्ट्रिय भेलाबाट पारित भएको ‘राजनीतिक प्रतिवेदन’लाई कार्यकर्तामाझ लैजाने बताएको छ ।नेपाल समूहका स्थायी कमिटी सदस्यहरुको शुक्रबार बसेको बैठकले चैत ४ र ५ गतेको राष्ट्रिय कार्यकर्ता भेलाको निष्कर्षअनुसार ‘संगठन विस्तार तथा सुदृढीकरण अभियान’लाई अगाडि बढाउने निर्णय गरेको छ ।‘आज केही कार्यक्रम प्रस्ताव भएको छ, भोलिको छलफलले राष्ट्रव्यापी संगठन निर्माण, प्रशिक्षण र अभियानलाई अन्तिम रुप दिन्छौं’ बैठकपछि नेता योगेश भट्टराईले भनेका छन् ।उनका अनुसार बैठकमा राष्ट्रिय कार्यकर्ता भेलामा प्रस्तुत भएको अवधारणामा १० वटा टोलीबाट आएको सुझावलाई समेटेर तयार भएको ‘राजनीतिक प्रतिवेदन’माथि समेत छलफल भएको छ । यसलाई भोलिको बैठकले अन्तिम रुप दिने र देशभर लैजाने नेता भट्टराईले बताए ।


कारबाहीको विरोध

बैठकले पार्टी उपमहासचिव घनश्याम भुसाल र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेमाथि गरिएको कारबाहीको विरोध गरेको छ । कारबाही पार्टीको नवौं महाधिवेशनबाट पारित विधान विपरीत र पूर्वाग्रही भएको निष्कर्ष सुुनाउँदै नेता भट्टराईले भने, ‘यसले कमरेड केपी ओली एमालेलाई विभाजित गर्न उद्यत हुनुहुन्छ भन्ने पुष्टि हुन्छ । यसकोे निन्दा र भर्त्सना गर्छौं ।’एमाले अध्यक्ष केपी शर्मा ओलीले बिहीबार नेताद्वय भुसाल र पाण्डेलाई पार्टी सदस्यबाट ६ महिना निलम्बन गर्ने निर्णय गरेका थिए । उनले चैत १६ गते वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावललाई पनि यही कारबाही गरेका थिए ।नेपाल समूहले एमाले पुनर्जिवित गर्ने सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्न पार्टी अध्यक्ष ओलीलाई आग्रह गरेको छ भने पार्टी एकता रक्षा गर्न र यसको पक्षमा जनमत निर्माण गर्न देशभरका कार्यकर्तालाई अपील गरेको छ ।

कमेन्ट गर्नुहोस्