
तिलोत्तमा फागुन २२,२०७७ । प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत न्यूनतम रोजगारीमा आबद्ध हुनका लागि तिलोत्तमा नगरपालिकाले आग्रह गरेको छ । न्यून आय भएको वा स्वरोजगारसमेत नरहेका १८ देखि ५९ वर्षसम्मका बेरोजगार नागरिकले आफु बसोबास गरेको सम्बन्धित वडा कार्यालयमा गएर यही फागुन मसान्तसम्म निवेदन दिन सक्नेछन । सूचीकृत बेरोजगारले प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत न्यूनतम १०० दिनको रोजगारी प्राप्त गर्नेछन् । न्यूनतम रोजगारी प्रदान गरी विपन्न तथा जीवनयापन जोखिममा परेका वर्गलाई सामाजिक सुरक्षाको दायराभित्र ल्याउने सहयोग पु¥याउने उद्देश्यका साथ सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यान्वयनमा ल्याएको प्रधानमन्त्री रोजगार शाखा तिलोत्तमा नगरपालिकाका संयोजक देबेन्द्र ज्ञवालीले जानकारी दिनुभयो।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत सम्पूर्ण स्थानीय तहलाई आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि बेरोजगार व्यक्ति सूचीकरणका लागि परिपत्र गरे लगत्तै बेरोजगारको आबेदन लिन तिलोत्तमा नगरपालिकाले काम शुरु गरेको हो। बेरोजगार व्यक्तिका र निजका परिवारको यथार्थ र सम्पूर्ण विवरण सङ्कलन गरी वास्तविक लक्षित वर्ग केन्द्रित कार्यक्रम सञ्चालन हुने व्यवस्था मिलाउन रोजगार शाखा तयार रहेको संयोजक ज्ञवालीको भनाइ छ। यस कार्यक्रमअन्तर्गत सञ्चालन हुने न्यूनतम रोजगारीले गरीब तथा जीवनयापन जोखिममा परेका वर्गलाई सामाजिक सुरक्षा र संरक्षण प्रदान हुने नगरपालिकाले जनाएको छ ।हालसम्म अघिल्लो बर्षको तुलनामा यस बर्ष बेरोजगारको आबेदन दिने संख्यामा वृद्धि भएको उहाको भनाइ छ।
कमेन्ट गर्नुहोस्