लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

रोजगार विभागको अनलाइनबाट पुनः श्रम स्वीकृति शुरु

IMG

पौष १७, २०७७, तिलोत्तमा ।  वैदेशिक रोजगार विभागले शुक्रबारदेखि अनलाइन माध्यमबाट पुनः श्रम स्वीकृति शुरु गरेको छ। विभागले श्रम स्वीकृति लिएका र पुनः श्रम स्वीकृति लिन चाहने वैदेशिक रोजगारीमा कार्यरत नेपाली नागरिकहरुले म्यादी जीवन बीमा र कल्याणकारी कोषको रकम भुक्तानी गरी अनलाइन माध्यमबाट आवेदन दिई श्रम स्वीकृति लिन सक्ने व्यवस्था मिलाएको हो।


शुक्रबारदेखि नै अनलाइन आवेदन भरेर पुनः श्रम स्वीकृति लिन सक्ने व्यवस्था गरिएको विभागका महानिर्देशक कुमारप्रसाद दाहालले बताए । यो सेवा लागू भएसँगै पुनः श्रम स्वीकृति लिनका लागि विभागको कार्यालय धाउनुपर्ने बाध्यता अन्त्य हुने पनि उनले बताए।एकपटक विभागबाट आईडी लिएका, फिंगर प्रिन्ट गराएका, बायोमेट्रिक लिइसकेका व्यक्तिहरुलाई पुरानै विवरणको आधारमा श्रम स्वीकृति दिने व्यवस्था मिलाइएपछि अनलाइनबाटै आवेदन दिएर निःशल्क सेवा लिन सकिने व्यवस्था गरिएको दहालले बताए । नयाँ श्रम स्वीकृतिका लागि पनि विभागले मेनपावर, मेडिकल र ओरेन्टेशन संस्थाहरुबाट बायोमेट्रिक विवरण तानेर अनलाइनबाट श्रम स्वीकृति दिने व्यवस्था गर्ने विषयमा छलफल गरिरहेको समेत दहालले बताए । अबको दुई महिना भित्रमा नयाँ श्रम स्वीकृति पनि अनलाइन मार्फत दिन सक्ने गरी काम भइराखेको बताए ।


बैदेशिक रोजगारीमा जान एकपटक श्रम स्वीकृति लिइसकेका व्यक्तिहरुले पुनः श्रम स्वीकृति लिनुपरेमा विभागको वेबसाइटमा रहेको अनलाइन श्रम स्वीकृति (feims) मार्फत फारम भर्न सक्नेछन्।) अनलाइनबाट पुनः श्रम स्वीकृति लिने व्यवस्था गरेपछि विदेशमा बसेका नेपालीहरुलाई श्रम स्वीकृति लिन नेपाल आउनुपर्ने बाध्यता हट्ने पनि दहालले बताए। अनलाइनमार्फत पुनः श्रम स्वीकृतिका लागि विभागको वेवसाइट  www.dpfe.gov.np को अनलाइन श्रम स्वीकृतिमा क्लिक गरी फारम भर्न सकिनेछ । फारम भरिसकेपछि कुन शाखाबाट पुनः श्रम स्वीकृति लिने हो त्यो छान्नुपर्छ ।विभागले विराटनगर, जनकपुर, पोखरा, बुटवल, सुर्खेत र धनगढीका साथै काठमाडौँको ताहचलबाट श्रम स्वीकृति प्रदान गर्दै आएको छ । श्रम स्वीकृतिका क्रममा कुनै कारणले आवेदन फिर्ता भएमा सोको कारणसहितको एसएमएस आवेदकको मोबाइल नम्बरमा जानेछ । विभागले फारम भर्दा सही मोबाइल नम्बर, इमेल उल्लेख गर्न आग्रह गरेको छ। श्रम स्वीकृतिका लागि आवेदन गर्दाको ‘युजरनेम’ र ‘पासर्वड’ सुरक्षित राख्न पनि विभागले अनुरोध गरेको छ । श्रम स्वीकृति प्राप्त भएपछि आवेदकको इमेलमा श्रम स्वीकृतिको निस्सा प्राप्त हुनेछ । आवेदक आफैले आवश्यकतानुसार प्रिन्ट गरेर राख्न सक्ने विभागले जनाएको छ ।

कमेन्ट गर्नुहोस्