लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

गुट-उपगुटको कथा :लुम्बिनी प्रदेशमा को बलियो ? (नेताहरूको नामावलीसहित)

IMG

पुस ११, २०७७ तिलोत्तमा। प्रतिनिधि सभा विघटनसँगै नेकपामा नेता कार्यकताहरू तानातानमा परेका छन् । दुवै गुटले आफूलाई बलियो देखाउन नेता कार्यकर्ताहरू तान्‍ने कसरत तीव्र बनाएका छन् । यस्तो तानातानमा मध्यमार्गी नेता/कार्यकर्ताहरू कता जाने अन्यौलमा देखिन्छन् ।नेकपाको गुटमा पूर्वएमाले र पूर्वमाओवादी घुलमिल भएपछि समस्या सिर्जना भएको हो । ओली गुटमा माओवादीका प्रभावशाली नेताहरू मिसिएका छन् भने दाहाल-माधव गुटमा त शीर्ष नेतृत्व मिसिएको छ । जसका कारण तल्लो तहका कार्यकर्ताहरूले कित्ताकट गर्न समय लाग्‍ने देखिन्छ । उता ओली समूहले कतिपय नेताहरूलाई केन्द्रीय सदस्य बनाएपछि विवाद पनि भएको छ । लुम्बिनी प्रदेशमा एक दर्जन भन्दा बढीले ओली पक्षद्वारा थपिएको केन्द्रीय सदस्य पद त्यागेको उक्त समूहका नेता अनुप बरालले बताए ।


उनले अझै केही नेताहरूले पनि पद त्याग्‍ने अवस्था रहेको दाबी गरेका छन् । उनले भने, ‘विना सोधपुझ केन्द्रीय सदस्य बनाएपछि विवाद हुने राजीनामा दिने मात्रै होइन ओली समूहले आत्मसम्मानमा चोट पुर्‍याएको छ ।’ उनले लुम्बिनी प्रदेश सभामा आफूहरू बलियो रहेकोले सरकारको नेतृत्व परिर्वतन हुने पनि दाबी गरे ।यता ओली समूहले भने लुम्बिनी प्रदेशलाई सबैभन्दा बलियो जनाधार भएको क्षेत्र भएको बताएको छ । ओली समूहका महासचिव विष्णु पौडेलदेखि अर्को समूहबाट आएर मन्त्री बनेका प्रभावशाली नेता टोपबहादुर रायमाझीको क्षेत्र भएकोले लुम्बिनी प्रदेशमा आफूहरूको वहुमत रहेको समूहको दाबी छ ।सो समूहका नेता मोहन चापागाईले लुम्बिनी प्रदेशमा विभाजनसँग सम्बन्धित कुनै औपचारिक गतिविधि नभएको र कुनै गुट वा समूहले गर्ने कुरा संस्थागत नहुने बताउँछन् । उनले भने, ‘हामीहरू नै आधिकारी नेकपा हौं , स-साना गुटको भेलाको अर्थ रहदैन ।’


लुम्बिनी प्रदेशका नेताहरू को कता ?

दाहाल-नेपाल समूह

घनश्याम भुसाल-रुपन्देही 

कृष्णबहादुर महरा-दाङ

वर्षमान पुन-रोल्पा 

गोकर्ण विष्ट-गुल्मी 

वेदुराम भुसाल-अर्घाखाची 

सोमप्रसाद  पाण्डे -पाल्पा 

चक्रपाणि खनाल-कपिलवस्तु 

गणेशमान पुन-रुकुम पूर्व


ओली समूह  

महामन्त्री विष्णु पौडेल-रुपन्देही 

मुख्यमन्त्री शंकर पोख्रेल-दाङ

टोप वहादुर रायमाझी-अर्घाखाची 

प्रदिप ज्ञवाली-गुल्मी 

दलबहादुर राना-पाल्पा 

बलराम अधिकारी-कपिलवस्तु 

मणि थापा-प्यु्ठान

हृदयेश त्रिपाठी - नवलपरासी पश्‍चिम (नेकपामा नभएपनि समर्थन ओलीलाई)

वामदेव गौतम  अनिणित वर्दिया 


पार्टी औपचारिक रूपमा मात्र विभाजन हुन बाँकी रहँदा लुम्बिनीका प्रभावशाली नेताहरू केपी शर्मा ओली र पुष्पकमल दाहाल-माधव नेपाल समूहमा आफूलाई उभ्याइसकेका छन् । लुम्बिनी प्रदेशमा धेरैजसो नेताहरू दुवै समूहका विश्‍वास पात्रमा पर्छन ।ओली समूहका विश्‍वास पात्र विष्णु पौडेल र शंकर पोखरेलदेखि दाहाल-नेपालका विश्‍वासपत्र वर्षमान पुन, घनश्याम भुसाल पनि यसै प्रदेशबाट प्रतिनिधित्व गर्छन् । कुनै समूहमा नखुलेका नेकपाका उपाध्यक्ष वामदेव गौतम पनि यसै प्रदेशका हुन् ।यसले नेकपामा विभाजनपछि प्रदेशमा कुन समूहले ‘लिड’ गर्छ भन्‍ने निकै चासोपूर्वक हेरिएको छ । प्रदेशका १२ वटै जिल्लाका प्रभावशाली नेताहरू दुई खेमामा विभाजित भइसकेका छन् ।


राष्ट्रिय राजनीतिका प्रभावशाली नेता एवं रूपन्देही (बुटवल)बाट निर्वाचित सांसद तथा अर्थमन्त्री विष्णु पौडेल प्रधानमन्त्री ओलीका विश्‍वासपात्र हुन् । रूपन्देहीबाटै अर्का प्रभावशाली नेता घनश्याम भुसाल अर्को समूहमा छन् ।आफ्नो क्षेत्रमा उनको पनि कम आंकलन गर्न हुँदैन । प्रतिनिधिसभा विघटनपछि कृषि तथा पशुपन्छी मन्त्रीबाट राजीनामा दिँदै भुसाल दाहाल-नेपाल समूहमा रहे । गुल्मीमा दुई जना प्रभावशाली नेताहरू प्रदीप ज्ञवाली र गोकर्ण विष्ट छन् । ज्ञवाली ओली समूहमा र विष्ट दाहाल-नेपाल समूहमा छन् । परराष्ट्रमन्त्री ज्ञवालीलाई ओली समूहले पार्टी प्रवक्ताबाट नारायणकाजी श्रेष्ठलाई प्रवक्ता बनाइसकेको छ । 


दाङबाट ओली र प्रचण्डका नजिकका नेताहरू दुई खेमामा विभाजित छन् । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल ओली र पूर्वसभामुख कृष्णबहादुर महरा अर्को समूहमा छन् । यौन दुर्यवहारको मुद्दामा सफाइ पाएपछि महरा हालै राष्ट्रिय राजनीतिमा फर्किएका छन् । महरा प्रतिनिधिसभा र पोखरेल सोही क्षेत्रबाट प्रदेश सभामा निर्वाचित भएका थिए । पोखरेल नेकपा लुम्बिनी प्रदेश इञ्‍चार्ज पनि हुन् ।पाल्पाबाट लगातार तीनपटक निर्वाचन जितेका पूर्वउद्योगमन्त्री सोमप्रसाद पाण्डे दाहाल-नेपाल समूहमा लागेका छन् भने पूर्वभूमिसुधार मन्त्री दलबहादुर राना ओली समूहमा छन् । पाण्डे माधवकुमार नेपालका आफन्त पनि हुन् । 


 नेकपाको गुटमा पूर्वएमाले र पूर्वमाओवादी घुलमिल भएपछि समस्या सिर्जना भएको हो । ओली गुटमा माओवादीका प्रभावशाली नेताहरू मिसिएका छन् भने दाहाल-माधव गुटमा त शीर्ष नेतृत्व मिसिएको छ ।कपिलवस्तुका दुई नेताहरू चक्रपाणि खनाल र बलराम अधिकारी दुई समूहमा लागेका छन् । प्रचण्ड प्रधानमन्त्री हुँदा राजनीतिक सल्लाहकार र पूर्वकृषिमन्त्री खनाल दाहाल-नेपाल र  संविधानसभा सदस्य अधिकारी ओली समूहमा लागेका छन् । रोल्पाबाट प्रतिनिधित्व गर्ने निवर्तमान ऊर्जामन्त्री वर्षमान पुन र पूर्वसभामुख ओनसरी घर्ती दुवै दाहाल-नेपाल समूहमा छन् । नेकपा प्रदेश अध्यक्ष रहेकी घर्ती र पुन श्रीमान श्रीमती पनि हुन् ।


रोल्पामा प्रभावशाली धेरै नेता दाहाल-नेपाल समूहमा रहेकाले ओली समूह कमजोर देखिन्छ । रुकुम पूर्वका नेता पूर्वआपूर्तिमन्त्री गणेशमान पुन र पूर्वखेलकूद मन्त्री कमला रोका दाहाल-नेपाल समूहमा र नेकपा केन्द्रीय सदस्य खेममान खड्का ओली समूहमा लागेका छन् । कुनै समय एकीकृत माओवादी हुँदा बाबुराम भट्टराईका विश्वासपात्र अर्घाखाँचीका नेता टोपबहादुर रायमाझी माओवादी विभाजन भएपछि दाहाल निकट हुँदै नेकपा विभाजन हुँदा ओली समूहमा पुगेका छन् । पार्टीको सैध्दान्तिक पक्षमा दख्खल राख्‍ने नेकपाका पाका नेता वेदुराम भुसाल दाहाल-नेपाल समूहमा छन् ।प्युठानका दाहाल निकट प्रभावशाली नेता मणि थापा ओलीतिर लागेका छन् । त्यस्तै प्रदेश सभाका प्रभावशाली नेता कृष्णध्वज खड्का दाहाल निकट नेता हुन् ।पश्‍चिम नवलरासीवाट संघीय सरकारका सामान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठी ओली समूहमा लागेका छन् । 


जिल्ला अध्यक्ष को कता ?

सविक लुम्बिनी अञ्‍चलमा केपी समूह बलियो देखिए पनि साविक राप्ती र भेरी अञ्‍चलमा दाहाल-नेपाल समूहको पकड देखिन्छ । लुम्बिनी प्रदेशका १२ अध्यक्षमध्ये पाँच जना ओली पक्षमा खुलेका छन् भने सात जना दाहाल-नेपाल पक्षमा खुलेका छन् । 

रोल्पा : सुरेन्द्र घर्ती, दाहाल-नेपाल समूह

रुकुम : (पूर्व) मेघबहादुर श्रेष्ठ, दाहाल-नेपाल समूह

प्यूठान : तुलसीराम शर्मा, दाहाल-नेपाल समूह

नवलपरासी : (पश्चिम) भविश्वर तिवारी, दाहाल-नेपाल समूह

दाङ : टीकाराम खड्का, दाहाल-नेपाल समूह

बाँके : आईपी खरेल, दाहाल-नेपाल समूह

बर्दिया  : भवनकुमार थारु, दाहाल-नेपाल समूह

रुपन्देही : शिवराज सुवेदी, ओली समूह

कपिलवस्तु : झविलाल पोख्रेल, ओली समूह

अर्घाखाँची : चेतनारायण आचार्य, ओली समूह

गुल्मी : मधुकृष्ण पन्त, ओली समूह

पाल्पा : नारायण आचार्य, ओली समूह


पार्टी नेतृत्व विभाजन भएसँगै नेकपाका नेता कार्यकर्ताहरू आन्तरिक छलफलमा जुटेका छन् ।  दाहाल-नेपाल समुहले आइतबार १२ वटै जिल्लामा भेला आयोजना गरेको छ । राजधानी पुगेका नेताहरू फर्किएसँगै अब जिल्लामा छलफल तिव्र नेताहरूले बताउँछन् । पार्टीको आधिकारीक ब्यानरमै कार्यक्रमको तयारी गरिएको छ ।

उता ओली समूहले पनि आन्तरिक छलफल तीव्र बनाएको छ । थपिएका केन्द्रीय सदस्यहरूको विवरणसमेत औपचारिक रूपमा सार्वजनिक नगरेको सो समूहहले एउटै जिल्लावाट ४० भन्दा वढि केन्द्रिय सदस्य थप गरेको छ ।

सुरुमा विधार्थी भेलाको तयारी गरेको ओली समूहले नवलपरासीमा पार्टी कार्यालयमा तालाबन्दी गरेको छ ।  अगुवा नेताहरू विभाजन भएर समुहगत भेला थालेपनि मतदातामात्रै रहेका कार्यकर्ताहरू अझै पनि रनभुल्लमै देखिएका छन् । 

साभार ई कागज 

कमेन्ट गर्नुहोस्