
८ पुस, २०७७ तिलोत्तमा। आफ्नो सहमति नलिइ केपी शर्मा ओली समूहको केन्द्रीय सदस्य बनाइएको भन्दै तिलोत्तमा नगरपालिकाकि उपप्रमुख जागेश्वरीदेवी चौधरी सहित लुम्बिनी प्रदेशका केही नेताहरुले पद अस्वीकार गरेका छन् ।तिलोत्तमा नगरपालिकाकी उपप्रमुख समेत रहेकी नेकपा नेता जागेश्वरीदेवी चौधरी सहमतिविना केन्द्रीय सदस्य बनाइएको भन्दै पद अस्वीकार गरेकी छन् । उपप्रमुख चौधरीले एक प्रेस नोट जारी गर्दै आफूसँग सर-सल्लाह तथा पूर्व जानकारीविना मनोगढन्ते हिसाबले केन्द्रीय कमिटी सदस्यमा आफ्नो नाम राखेर सपथका लागि काठमाडौं आमन्त्रण गरिएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएकी छन् ।
‘ओली समूहले पार्टी विधान र कार्यकर्ताको भावनाविपरीत विस्तार गरेको केन्द्रीय कमिटी सदस्यमा नरहने घोषणा गर्दै र सीमित व्यक्तिको लाभ र प्रतिष्ठाको लागि सार्वभौम प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको व्यक्तिवादी प्रवृत्तिबाट सामाजिक रुपान्तरण सम्भव नभएको आफ्नो निष्कर्ष भएको ’ विज्ञप्तिमा उल्लेख छ, ‘म नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को मूलधारमै रहेको जानकारी गराउँदै पार्टीलाई विधि-विधान, प्रक्रियाअनुसार चलाउन नेतृत्वलाई आग्रह गर्दछु ।’एक तिहाई केन्द्रीय सदस्य उपस्थित रहेको बैठकले गरेको निर्णय बैधानिक नहुने उपमेयर चौधरीले जनाएकी छिन् । आफुले समाज रुपान्तरण गर्न खाएको कसम यस्तो प्रवृतिले तुहिने बताउदै चौधरीले ओलीको यस्तो प्रवृतिले समाज रुपान्तरण सम्भव नभएको स्पस्ट पारेकी छिन।
यस्तै नवलपरासी पश्चिमबाट प्रतिनिधित्व गर्ने प्रदेश सभा सदस्य भगवतीदेवी भण्डारी, सोही जिल्लाकै पुराना कम्युनिस्ट नेता वृहस्पति अधिकारीलगायतले आफ्नो सहमति बेगर ओली समूहको बैठकले केन्द्रीय सदस्य बनाएको भन्दै असहमति जनाएका छन् । प्रदेश सांसद भण्डारीले आफूलाई नसोधी केन्द्रीय सदस्य मनोनित गरिएको भन्दै केन्द्रीय सदस्य पद स्वीकार्य नभएको बताइन् ।अर्का नेता अधिकारीले आफ्नो सहमति बेगर केन्द्रीय सदस्य बनाइएको बताए । ‘म पर्ख र हेरको अवस्थामा छु, तर ओली पक्षमा गएको होइन,’ उनले प्रष्ट पारे ।
कमेन्ट गर्नुहोस्