
३० मंसिर, तिलोत्तमा। रुपन्देहीको तिलोत्तमा नगरपालिका प्रमुख बासुदेव घिमिरेले आफ्नो सेवा–सुविधा बापतको रकमबाट सामुदायिक विद्यालयमा अध्ययनरत ४३ विद्यार्थीलाई सुम्पिदै छात्रवृत्ति प्रदान गरेका छन् । नगरप्रमुख घिमिरेले यसअघि नैं घोषणा गरेअनुसार चालु शैक्षिक सत्रको लागि ४३ सामुदायिक विद्यालयका ४३ जना विद्यार्थीलाई मंगलबार छात्रवृत्ति प्रदान गरिएको हो । नगरप्रमुख घिमिरेले आफ्नो कार्यकालको सम्पूर्ण पारिश्रमिक छात्रवृत्तिमा लगाउने घोषणा गरेसँगै हरेक वर्ष सबै सामुदायिक विद्यालयका एक/एक जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिँदै आइएको छ । सोही अनुसार मंगलबार कक्षा १ देखि ८ सम्म छात्रवृत्तिको लागि छनौट विद्यार्थीलाई जनहीँ ५ हजार र कक्षा ९ देखि १२ सम्मका विद्यार्थीलाई जनहीँ ७ हजार रुपैंयाँ छात्रवृत्ति रकम प्रदान गरिएको हो ।
नगरपालिकाले छात्रवृत्ति वितरणलाई व्यवस्थित बनाउन कार्यविधि बनाई छनौट तथा व्यवस्थापन समिति गठन गरेको छ । सम्बन्धित विद्यालय व्यवस्थापन समितिको निर्णय र वडा कार्यालयको सिफारिसको आधारमा जेहेन्दार तथा विपन्न वर्गका विद्यार्थीले छात्रवृत्ति प्राप्त गर्दै आएका छन् । छात्रवृत्तिलाई दिगो बनाउन कार्यविधिअनुसार कोषको समेत व्यवस्था मिलाइएको शिक्षा शाखा अधिकृत शारदा भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार यो वर्ष छात्रवृत्तिमा २ लाख ४३ हजार खर्च भएको छ भने १ लाख ७१ हजार कोषमा जम्मा गरिएको छ ।
छात्रवृत्ति वितरण कार्यक्रममा नगर प्रमुख घिमिरेले सामुदायिक विद्यालयमा अध्ययनरत जेहेन्दार विद्यार्थीलाई प्रोत्साहन गर्न आफूलाई प्राप्त हुने पारिश्रमिक रकमबाट नगरका सबै सामुदायिक विद्यालयका एक/एक जना जना विद्यार्थीलाई छात्रवृत्तिको रुपमा उपलब्ध गराएको बताए । कार्यक्रममा उप–प्रमुख जगेश्वरदेवी चौधरी, नेपाली काँग्रेसका नगर सभापति हरिलाल पाण्डे, शान्ति माविका प्रअ कुलप्रसाद लामिछाने, छात्रवृत्ति व्यवस्थापन समितिका सदस्य टंक पौडेल, विद्यार्थी अञ्जन खड्कालगायतले पारिश्रमिकको रकम छात्रवृत्तिमा लगाउनु भएकोमा नगरप्रमुख घिमिरलेको प्रशंसा गरेका थिए ।
कमेन्ट गर्नुहोस्