लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमा र सैनामैनामा औद्योगिक ग्रामको तयारी,साना उद्यमी उत्साहित

IMG

संघीय सरकारको एक गाउँपालिका एक औद्योगिक ग्राम बनाउने योजना अनुसार रुपन्देहीको सैनामैना र तिलोत्तमा नगरपालिकामा औद्योगिक ग्राम बन्दैछ । आफ्नै नगरमा औद्योगिक ग्राम बन्न लागेपछि स्थान अभावले उद्योग खोल्न र विस्तार गर्न नसकेका उद्यमी उत्साहित भएका छन् ।


बजारभित्र छरिएका साना तथा घरेलु उद्योगहरुलाई एकितृत गरी नगरपालिकालाई फोहोर र प्रदुषण मुक्त बनाउने एवं उद्योगको विकास गर्ने उद्धेश्यसहित रुपन्देहीको सैनामैना नगरपालिकाले औद्योगिक ग्राम निर्माण थालेको छ । सैनामैना ७ लम्टियामा २२ बिगाह क्षेत्रफलमा निर्माणधिन औद्योगिक ग्राममा ५० वटा उद्योग स्थापना हुनेछन् । त्यसका लागि ६९ लाख १० हजार रुपैयाँमा औद्योगिक ग्राममा तारबार गर्ने, माटो पटाउने, रुख व्यवस्थापन गर्ने लगायतका काम गरिएको छ । सडक, विद्युतीकरण र टि्रटमेन्ट प्लाण्ट जडान गर्ने काम अब थालिंदैछ । आउँदो वर्षदेखि उद्योग स्थापना गरिने यस ग्राममा वैदेशिक रोजगारीबाट सीप सिकेर आएका युवालाई पहिलो प्राथमिकतामा राखिने छ ।

 

औद्योगिक ग्राममा संघीय सरकारले ६० एवं प्रदेश र स्थानीय तहले २०, २० प्रतिशत लगानी गर्ने कार्यविधि छ । त्यसअनुसार रुपन्देहीको तिलोत्तमा नगरपालिकाले वडा नम्बर १० सग्रहवामा रोहिणी नदी उकासको करिब २० बिगाहा क्षेत्रफलमा औद्योगिक ग्राम निर्माण थालेको छ । रोहिणी नदी ड्राइभर्सनको काम समेत गर्ने गरी औद्योगिक ग्राम बनाउन ५२ करोड रुपैयाँ लाग्ने विस्तृत अध्ययन प्रतिवेदनले देखाएको छ । यसवर्ष २ करोड ५० लाख रुपैयाँ लागतमा औद्योगिक ग्रामसम्म पुग्ने एप्रोज रोड, पुल, गेट, सेक्युरिटी पोष्ट, रोड मार्किङ लगायतका थालिएको छ । जसमा ५३ वटा साना तथा घरेलु उद्योग स्थापना हुनेछन् । 


जग्गाको मूल्य उच्च हुने, प्रदुषणका डरले सहजरुपमा जग्गा भाडामा समेत नपाउँदा रुपन्देहीमा धेरै उद्योग खोल्न चाहने युवा खुम्चिएका छन् । खुलेका उद्योग विस्तारका काम रोकिएका छन् । यस्तो बेलामा आफ्नै नगरमा औद्योगिक ग्राम बन्न लागेपछि स्थान अभावले उद्योग खोल्न र विस्तार गर्न नसकेका उद्यमी उत्साहित भएका छन् । उद्योग अर्थतन्त्र र रोजगारी प्रवर्द्धनका मेरुदण्ड हुन् । सबै स्थानीय तहले औद्योगिक ग्राम बनाउने हो भने स्थानीय कच्चा पदार्थ र सीप उपयोग हुने, घरेलु र साना उद्योग फस्टाउने  र स्थानीय तहमा आयआर्जन र रोजगारी बढाउन सहज हुने छ । 

कमेन्ट गर्नुहोस्