
तिलोत्तमा २०७७कात्तिक१९। रगतको मौज्दात कम भएपछि बुटवलमा आकस्मिक रुपमा रक्तदान कार्यक्रम गरिएको छ । रक्त सञ्चार सेवा केन्द्र बुटवलमा रगतको मौज्दात कम भएपछि नेपाल स्वयम् सेवी रक्तदाता समाज रुपन्देहीले बुधबार आकस्मिक रुपमा रक्तदान कार्यक्रम गरेको हो ।रगतको मौज्दात कम भएपछि रगतको अभाव हुन नदिनको लागि आकस्मिक रुपमा रक्त सञ्चार सेवा केन्द्रमै कार्यक्रम गरिएको र ७ जना प्लाज्मा सहित ५० जनाले आकस्मिक रक्तदान गरेको समाज रुपन्देहीका कार्यसमिति सदस्य आकाश पन्थले जानकारी दिनुभयो ।
कोरोना भाईरस (कोभिड–१९)को महामारी र यहि बिचमा परेका चाडपर्वका कारण यो समयमा नियमित रुपमा रक्तदान कार्यक्रमहरु हुन सकेका छैनन् । जसका कारण रक्त सञ्चार सेवा केन्द्र (ब्लड बैंक) बुटवलमा रगतको मौज्दात कम भएको रक्त सञ्चार सेवा केन्द्र बुटवलले जनाएको छ ।
नेपाल रेडक्रस शोसाईटी रुपन्देही शाखाले सञ्चालन गरेको बुटवलको रक्त सञ्चार सेवा केन्द्रमा सरदर ५ सय युनिट रगत मौज्दात रहने गर्दथ्यो । रक्त सञ्चार सेवा केन्द्र बुटवलकी प्राबिधिक राधा ज्ञवालीका अनुसार त्यस्तै दैनिक पनि सरदर सय युनिट रगत संकलन भइनै रहन्थ्यो । तर अहिले कोरोना भाईरस महामारी र यसकै बिचमा परेका चाडपर्वका कारण रक्तदानका कार्यक्रम पनि नियमित रुपमा हुन सकेका छैनन् ।एकातिर रगतको मौज्दात कम छ, त्यसमा पनि ‘ए’ पोजिटिभ र ‘एबी’ पोजिटिभ समुहको रगतको मौज्दात एकदमै कम रहेको उहाँले बताउनु भयो ।
कमेन्ट गर्नुहोस्