
तिलोत्तमा २०७७ कार्तिक १७ गते। अघिल्लो शनिबार मात्रै समर्थन मुल्यमा धान खरिद गर्ने निर्णय गरेको तिलोत्तमा नगरपालिकाले सहजीकरण गरेपछि नगरभित्रका साना किसान सहकारीहरु सरकारले तोकेको न्यूनतम समर्थन मूल्यमा धान खरिद गर्न तयार भएका हुन् ।संघीय सरकारले गत जेठमै धानको न्यूनतम समर्थन मूल्य निर्धारण गरेपनि त्यो कार्यान्वयन भएको थिएन । संघीय सरकारले गत जेठ २ गते चालु आर्थिक वर्षका लागि मोटा धानको प्रतिक्विन्टल २ हजार ७ सय ३५ रुपैंयाँ र मध्यम धानको प्रतिक्विन्टल २ हजार ८ सय ८५ रुपैयाँ न्यूनतम समर्थन मूल्य तोकेको थियो ।
साना किसान सहकारीमार्फत धान खरिद गर्ने गरी कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले निर्देशिकासमेत जारी गरिसके पनि यस क्षेत्रका सहकारीले किसानको धान तोकिएको न्यूनतम समर्थन मूल्यमा खरिद गरेका थिएनन् । नगरपालिकाले बोलाएको बैठकपछि तिलोत्तमाका ६ वटा साना किसान कृषि सहकारीहरु किसानको धान खरिद गर्ने आवश्यक तयारीमा जुट्न सहमत भए संगै खरिद प्रक्रिया अगाडी बढेको नगर प्रमुख बासुदेव घिमिरेले बताए । नगरपालिकाले सहकारीसँग नगर क्षेत्रमा धान उत्पादनको अवस्था, भण्डारण क्षमता, आर्थिक व्यवस्थापनलगायतका विषयमा छलफल गरेपछि सहकारीहरु नगरका वास्तविक किसानले उत्पादन गरेको मापदण्डअनुसारको धान तोकिएका मूल्य र स्थानमा खरिद गर्न तयार भएका हुन् । यो निर्णयसँगै सहकारीले आवश्यक तयारी गरी किसानको धान तोकिएको मूल्यमा खरिद गर्न सक्ने नगरप्रमुखको भनाइ छ।
सोही अनुसार वडा नं. १७ स्थित साना किसान कृषि सहकारी संस्था लि. गंगोलियाले आजदेखि सरकारले निर्धारण गरेको न्यूनतम समर्थन मूल्यमा धानको खरिद सुरु गरेको छ । नगर प्रमुख बासुदेव घिमिरे र उप–प्रमुख जगेश्वरदेवी चौधरीले कार्यक्रमको सुभारम्भ गर्नुभयो । त्यस्तै तिलोत्तमा नगरपालिका भित्रै रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेड टिकुलिगढले पनि धानको खरिद सुरु गरिसकेको र बाँकी अन्य साना किसान सहकारीहरु आवश्यक तयारीमा रहेको नगरप्रमुख घिमिरेले बताएका छन् ।
कमेन्ट गर्नुहोस्