लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

कोरोना बाट बच्न यस्ता बने सन्देशमूलक गीत

tillotmacitynews - 2020 Oct 29 06:58 PM
IMG

कोरोना संक्रमण महामारीबाट जोगिन चर्चित गीतका धुनमा बनाइएका सन्देशमूलक गीतहरू जनचेतना जगाउन प्रभावकारी भइरहेका छन्।

काठमाडौं कपन निवासी कमल थापा आफ्ना ७० वर्षीय बुवाले जनचेतनामूलक गीतको म्यूजिक भिडिओ हेरेर मास्क प्रयोग गर्न, हात धुन सिकेको बताउँछन्। “हामीले सिकाउँदा बुवाले मलाई आउँछ भनेर मान्नुभएन”, थापाले भने, “पछि टिभीमा यस्ता भिडिओ देखेपछि हामीले त हात धुन जानेकै रहेनछौं भन्दै हामीलाई पनि हेर्न भन्नुभयो।”कोरोनाभाइरस संक्रमणबाट बच्न सन्देश दिने चेतनामूलक दर्जनौं गीतहरु बजारमा आइसकेका छन्। बजारमा पहिले नै चर्चित भइसकेका गीतको धुनमा चेतनामूलक गीत पनि आइरहेका छन्। अहिलेका चर्चित गायक निशान भट्टराई, अलमोडा राना उप्रेती लगायत गायकहरुले आफ्ना चर्चित गीतहरुको धुनमा कोरोनाबाट बच्न पालना गर्नुपर्ने स्वास्थ्य सजगताबारे गीत गाएका छन्। 


गायक भट्टराई र एलिना चौहानले गाएको लोकप्रिय गीत ‘के माया लाग्छ र’ को धुनमा ‘हात धुन्छौ र’ बनाइएको छ। गीतको भिडिओमा मुकुन भुसाल र सुरविना कार्कीको अभिनय मार्फत कोरोनाबाट बच्न अपनाउनुपर्ने सुरक्षाका उपाय सिकाइएको छ।यस बाहेक विभिन्न संस्थाले बनाएका सन्देशमूलक गीत पनि छन्। संयुक्त राष्ट्रसंघीय बालकोष (युनिसेफ) सँगको सहकार्यमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र एनसेलले पनि कोरोनाबाट बच्ने चेतनामूलक गीत बनाएर टेलिभिजनबाट प्रसारण गराइरहेका छन्।यस्ता सन्देशमूलक गीतको म्युजिक भिडिओमा कतिपयमा कलाकारलाई अभिनय गराइएको छ भने केहीमा एनिमेसन पनि बनाइएको छ। गीतका भिडिओहरुमा मास्क प्रयोग गर्ने तथा हात धुने तरिका, संक्रमितलाई गर्नुपर्ने सकारात्मक व्यवहारहरु सिकाइएका हुन्छन्। यस्ता भिडिओहरु ज्येष्ठ नागरिक र बालबालिकालाई सिकाउन प्रभावकारी भइरहेका छन्। कपन निवासी रुपा खड्काले आफ्नो पाँच वर्षीय छोराले सन्देशमूलक गीतको भिडिओ हेरेर मास्क प्रयोग गर्ने तरिका सिकेको बताउँछिन्। भन्छिन् “मास्क लगाउँदा कहिलेकाहीं नाक राम्ररी नछोपिंदा यसरी हैन ममी भनेर मिलाएर लगाइदिन्छ।”



देशभर कोरोना संक्रमण फैलिरहेका सामान्य लक्षण देखिएका तथा लक्षण नै नदेखिएका संक्रमितले कोरोनादेखि डराउनै पर्दैन भनिरहेका छन्। जसका कारण यो भाइरस त सामान्य रहेछ भन्ने भ्रमका कारण एकथरी मानिसहरू त्यति सचेत छैनन्। अर्कातिर, गम्भीर लक्षण देखिएका र कोरोना संक्रमणकै कारण आफन्त गुमाएकाहरुले सजग हुन र जनस्वास्थ्यका मापदण्ड पालना गर्न सचेत गराइरहेका छन्। कोरोना संक्रमणबाट जोगिने उपाय पनि स्वास्थ्य सुरक्षाको मापदण्ड पालना अन्तर्गत आपसमा भौतिक दूरी कायम गर्ने, बाहिर निस्किंदा मास्क प्रयोग गर्ने र बेलाबेलामा हात साबुनपानीले धुने है। महामारीका बेला आएका केही गीतका म्यूजिक भिडियोहरुले यही सन्देश फैलाउन प्रभावकारी काम गरिरहेका छन्।


कमेन्ट गर्नुहोस्