
१२ कात्तिक, काठमाडौं । नोवेल कोरोना भाइरस (कोभिड-१९)का कारण असोज २० गतेदेखि बन्द भएको तातोपानी नाका आज (बुधबार)देखि सञ्चालनमा आएको छ ।चिनियाँ अधिकारीहरुबाट आजदेखि नेपाली भन्सार यार्डसम्म सामान पठाउन सुरु गरेको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताए । ‘साँझसम्म तातोपानीमा चीनतर्फबाट सामान ल्याइदिने जानकारी ल्हासास्थित नेपाली महावाणिज्य दूतावासले गराएको थियो,’ प्रमुख जिल्ला अधिारी ढकालले भने । बुधबार मध्याहृनसम्म नाकामा कुनै सामान आइनपुगेको भन्दै उनले छिट्टै नाकाबाट माल वस्तु आयात सुरु हुने जानकारी दिए । कोरोना संक्रमणको जोखिमका कारण सर्तकता अपनाउँदै नाका सञ्चालन गर्न लागिएको ढकालले बताए । चिनियाँ अधिकारीहरुसँग भएको समझदारीअनुसार नेपालले नाकामा तयार पारेको आइसोलेसन यार्डमा चिनियाँ ट्रकले माल वस्तु ल्याएर छोडेर जानेछ । नेपालतर्फ चिनियाँ कन्टेनरले सामान ल्याएर राख्ने आइसोलेटेड ठाउँको मार्किङ्ग गर्ने काम सकिएको तातोपानी भन्सार कार्यालय प्रमुख लालबहादुर खत्रीले बताए ।
भन्सार प्रमुख खत्रीकाअनुसार अब नेपाली श्रमिकहरु चीनतर्फ जानु पर्दैन, चिनियाँहरुले नै कन्टेनर नेपाली यार्डमा ल्याइदिनेछन् ।नेपाली यार्डमा रहेको आइसोलेटेड ठाउँमा चिनियाँले ट्रक छोडर जाने र त्यहाँबाट नेपालीले सामान लोड गर्ने गरी सबै तयारी सकीएको छ । यसरी सामान ढुवानी गर्दा दैनिक ७ वटासम्म चिनियाँ कन्टेनर नेपालतर्फ आइपुग्ने छन् । बाढी र पहिरो जोखिमका कारण तीन महिनादेखि बन्द भएको नाका १९ असोजमा सञ्चालनमा आएको थियो, तर चीनतर्फ गएर सामान लोड गर्न खटिएका ७ जना नेपाली श्रमिकमा कोरोना देखिएपछि सञ्चालनको दोस्रो दिनमै चीनले सीमा नाका बन्द गरेको थियो ।सो नाका आजदेखि पुन:संचालन भएको हो।
कमेन्ट गर्नुहोस्