लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

प्राधिकरणलाई ऊर्जामन्त्रीको निर्देशन- दशैंमा कतै बत्ती ननिभोस्

tillotmacitynews - 2020 Oct 22 07:27 PM
IMG

२०७७ कार्तिक ६ तिलोत्तमा।

ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले बडादशैंमा देशैभर विद्युत् सेवा थप भरपर्दो र प्रभावकारी बनाउन नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएका छन्।

चाडपर्वका बेला अन्य समयभन्दा विद्युत् खपत बढ्ने भएकाले चनाखो भएर सेवा प्रवाह गर्न तथा विद्युत् प्रवाहमा अनियमित हुन नदिन मन्त्री पुनले निर्देशन दिएका हुन्। मन्त्रालयका सचिव दिनेशकुमार घिमिरे, प्राधिकरणका निमित्त कार्यकारी निर्देशक लेखनाथ कोइराला, प्रसारण निर्देशनालयका उपकार्यकारी निर्देशक ब्रजभूषण चौधरी, सोही निर्देशनालयका दीर्घकुमार श्रेष्ठ र भारप्रेषण केन्द्रका निर्देशक सुरेश भट्टराईसँग बिहीबार बैठक आयोजना गरी मन्त्री पुनले यस्तो निर्देशन दिएका हुन्।


दशैंका बेला कहीँ पनि विद्युत् काटिने समस्या नआओस् भन्दै मन्त्री पुनले प्राधिकरणसँग माथिदेखि तलसम्म अनुभवी र दक्ष टोली रहेकाले सेवा प्रवाहमा कुनै समस्या नआउने विश्वास पनि व्यक्त गरे।उनले प्राधिकरणको उत्पादन, प्रसारण वा वितरणमध्ये कुनै पनि प्रणालीमा समस्या आए तत्काल समाधान गर्न २४ सै घण्टा ‘रेस्पोन्स’ टोली तयारी अवस्थामा राख्न आग्रह गरेका छन्। “जहाँ समस्या आउँछ, त्यहाँ तत्काल समाधान गराउनूस्”, निमित्त कार्यकारी निर्देशक कोइरालालाई मन्त्री पुनले भने, “त्यसका लागि सञ्चालक समितिबाटै नीतिगत निर्णय गर्नुपर्ने भए मलाई खबर गर्नुस्।”


मन्त्री पुनका अनुसार दशैं सकिएपछि तिहारका लागि पुनः अर्को बैठक बसेर योजना तय गरिनेछ।  मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले राष्ट्रिय प्रणालीमा पर्याप्त विद्युत् उपलब्ध रहेको जानकारी दिँदै विद्युत् सेवा नियमित गराउन इमान्दारीपूर्वक काममा खटिन प्राधिकरणका सबै तहका कर्मचारीलाई आग्रह गरे।प्राधिकरणका निमित्त कार्यकारी निर्देशक कोइरालाले कोरोना महामारीका कारण उद्योगहरु पूर्ण क्षमतामा नचलेका कारण विद्युत् माग कम रहेको तथा वितरण र प्रसारणको अवस्था राम्रो रहेकाले चाडपर्वमा विद्युत् सेवा अनियमित हुने कुनै सम्भावना नरहेको बताए। रासस 

कमेन्ट गर्नुहोस्