लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमाले गर्‍यो कोरोना संक्रमितको शव व्यवस्थापन

IMG

तिलोत्तमा, ५ कात्तिक । कोरोना संक्रमणबाट मृत्यु भएका तिलोत्तमाका एक पुरुषको बुधबार तिलोत्तमा नगरपालिकाले शव व्यवस्थापन गरेको छ । जिल्ला प्रशासन कार्यालयको समन्वयमा नेपाली सेनाले शव व्यवस्थापन गर्दै आएकोमा तिलोत्तमाले भने बुधबारदेखि आफैले शव व्यवस्थापन गर्न थालेको हो । नगरस्तरीय  कोभिड संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) को मंगलबारको बैठकले कोरोना संक्रमणबाट नगरबासीको मृत्यु भए शव व्यवस्थापनको जिम्मा नगरपालिकाले लिने निर्णय गरेको थियो ।


सोही निर्णय अनुसार बुधबार बिहानै मृत्यु भएका कोरोना संक्रमित पुरुषको शव नगरपालिकाकै खर्चमा पुर्ण व्यवस्थापन गरिएको नगरपालिका स्वास्थ्य शाखाका सिनियर अहेव अधिकृत गणेश गौतमले जानकारी दिए । बुधबार बिहानै तिलोत्तमा नगरपालिका वडा नम्बर ५ निवासी ४७ बर्षिय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको हो । लामो समयदेखि श्वासप्रश्वास, उच्च रक्तचापको समस्या रहेका उनी ७ दिन देखी होम आइसोलेसनमै रहेका थिए । स्वास्थ्यमा समस्या देखीएपछि उनलाइ बुधबार बिहान क्रिमशन अस्पताल लैजाँदैं गर्दा बाटोमै मृत्यु भएको तिलोत्तमा नगरपालिकाका प्रवक्ता सुरेन्द्र श्रीले जानकारी दिएका छन् । मृत्यु भएपछि शंकरनगर सामुदायिक वन क्षेत्रमा नगरपालिकाको स्वास्थ्य शाखाको टोलीले शव व्यवस्थापन गरेको सिनियर अहेव अधिकृत गौतमले बताए । यो संगै तिलोत्तमामा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ९ पुगेको छ ।


हालसम्म तिलोत्तमाका ७२६ जनालाई कोरोना संक्रमण भएकोमा ३९३ जना निको भएका छन् भने ३२५ जना सक्रिय संक्रमित छन् ।तिलोत्तमाले कन्ट्रयाक्ट ट्रेसिङमा परेका नगरबासीको पहिलो पटकको परीक्षण समेत निःशुल्क गर्ने निर्णय गरेको छ ।

कमेन्ट गर्नुहोस्