लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

बाढीले तिलोत्तमामा ५० घर डुबान, टिम सहित राती १२ बजे पुगे मेयर

IMG

१० असोज, तिलोत्तमा । रुपन्देहीको रोहिणी नदी बस्तीतिर पसेपछि तिलोत्तमा नगरपालिका–११ भूपू सैनिकमा करिब ५० घर डुबानमा परेका छन् । रोहिणी नदी र सुखौरा खोलाको बीचमा रहेको उक्त बस्तीका बासिन्दा रातभर थुनिएका र बिहान भएपछि सुरक्षित स्थानमा सारिएको तिलोत्तमा नगरपाकिलाका प्रमुख बासुदेव घिमिरेले बताए । बस्तीमा बाढी पसेपछि मध्यरातदेखि नै नगर प्रमुख घिमिरेको नेतृत्वमा जनप्रतिनिधि, सुरक्षाकर्मी, नगर प्रहरी, टोल विकास संस्थाका पदाधिकारी उद्धारका लागि पुगेका थिए । नगरपालिकाको ११ बजे निस्केको टोलीले नगरबासिका घरमै पुगेर डुबानमा परेका परिवारलाई सुरक्षित स्थानमा उद्दार गरेका थिए। रातभरको वर्षाले रुपन्देहीको अन्य स्थानमा समेत वस्तीहरु डुबानमा परेका छन् भने बाढीले दर्जन बढी घर बगाएको छ । तिलोत्तमा नगरपालिकामा विभिन्न स्थानमा ७ वटा घर बाढीले बगाएको छ।  




त्यस्तै बुटवल उपमहानगरको लक्ष्मीनगरको डाँडामा सुखौरा खोलामा आएको बाढीले कम्तीमा ४ वटा घर, बाख्राको खोर र केही सवारी साधन बगाएको स्थानीय अगुवा टेकराज पन्थीले बताए ।तिनाउ नदीको बाढीले बुटवल उपमहानगरपालिकाको वडा नं. १७ रानीगन्ज मनकामना टोलमा एउटा घर र देवदहको चरंगेमा एउटा घर खोलाले बगाएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार रुपन्देहीका बुटवल, तिलोत्तमा, देवदह र लुम्बिनी सांस्कृतिक नगरपालिकामा बाढीले क्षति पु¥याएको छ ।


विद्युत सेवा अवरुद्ध

तिलोत्तमामै सुखौरा खोलाको बाढीले सुखौरा खोला पुल नजिक विद्युत पोल ढाल्दा विद्युत अवरुद्ध भएको छ भने तिलोत्तमा–११ गणेशनगर क्षेत्रमा नदी तटीय क्षेत्र कटान गरेर नदी बस्ती नजिक आउन थालेको छ । बुटवलको रानीगन्जमा बाढीले  विद्युतको पोल बगाएको छ ।

देवदहको भलुहीमा ५ वटा घर डुबानमा परेका छन् । लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं. १२ मा ४ वटा घर भारी वर्षाका कारण भत्किएका रुपन्देही प्रहरी प्रवक्ता डीएसपी खड्गबहादुर खत्रीले बताए । बाढीले डुबान र कटान गरेपनि मानवीय क्षति नभएको खत्रीले बताए । तिलोत्तमामा भने बिद्धुत केहि छिन गए पनि बाढि प्रभावित क्षेत्रमा पुन: संचालनमा आएको थियो।   

कमेन्ट गर्नुहोस्