लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

सडकले निम्त्याएको विपद्, सरकारी बेवास्ताको शिकार : स्याङ्जा पहिरो

tillotmacitynews - 2020 Sep 24 05:18 PM
IMG

८ असोज, पोखरा । गएको वर्ष स्याङ्जाको वालिङ नगरपालिका–१४ पुग्दा भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री पद्‍मा अर्यालको टोलीलाई गाउँलेले बाटो छेके ।सडक विभागका उच्च अधिकारीसहित सडक अवलोकन गर्न पुगेकी अर्याललाई वालिङको तमादी गाउँका स्थानीयले बाटो छेकेर भने, ‘यो सडकले बस्ती नै जोखिममा पर्‍यो । वाल लगाइदिनुस्, पानी तर्काउने व्यवस्था मिलाइदिनुस् ।’यो गाउँ मन्त्री अर्यालको माइती गाउँसमेत हो । सो ठाउँमा सडक विभागले पर्वतसम्म पुग्ने सडक निर्माण गरिरहेको थियो । स्याङ्जाको वालिङ र पर्वतको हुवाससम्म जोड्ने प्रदेशस्तरको सडक पनि निर्माणाधीन छ । त्यही सडकसँग जोडिने गरी विभागले अर्को सडक बनाइरहेको छ । भुम्रे, अर्चलबोट, तमादी, डुम्रे भञ्ज्याङ, हुँदै सेतीबेनी जाने सडकका रुपमा यसलाई विकास गर्ने भनिएको छ । विभागले खनेको सडककै कारण बस्ती जोखिममा रहेको भनेर मन्त्रीकै ध्यानाकर्षण गराएपछि विभागले वाल लगाउन टेन्डर पनि निकाल्यो । केही ठाउँमा लगाउने काम पनि भयो । तर, सबैभन्दा जोखिममा रहेको र जनप्रतिनिधिसम्म आवाजसमेत पु¥याउन नसक्ने थोरै घर रहेको ठाउँमा न वाल लगाइयो न पानी तर्काउने अरु कुनै उपाय नै खोजियो । जुन ठाउँमा गएको वर्षदेखि नै सानो सानो पहिरोसमेत गइरहेको थियो । सडकले सबैभन्दा पहिरोको जोखिममा रहेको ठाउँका वासिन्दाको आवाज नसुनिँदा र सरकारी बेवास्ताका कारण बिहीबार एकाबिहानै खसेको पहिरोले ठूलो धनजनको क्षति पुर्‍याएको छ ।


स्याङ्जाको वालिङ नगरपालिका वडा नम्बर १४ को तमादीमा बिहीबार एकाबिहानै खसेको पहिरोले परिवारकै ९ जनाको ज्यान लियो । विभागले खनेको त्यही सडकभन्दा मुनि जम्मा ३ घर थिए । ती घर तलमाथि गरी लस्करै थिए । जहाँ बिहीबार सडकबाटै पहिरो खस्यो ।

सबैभन्दा माथिल्लो घरमा परियार र तलका २ घरमा खनाल परिवार बस्दै आएका थिए । सबैभन्दा माथिल्लो सानी परियारको घरका १० जनामध्ये ७ महिने शिशुसहित ९ जनालाई पहिरोले निलेको हो । १ जनाको पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

‘मन्त्रीको ध्यानाकर्षण गरायौं । वडाध्यक्ष, मेयरलाई भन्यौं तर कसैले सुनुवाइ गरेनन्,’ पहिरोले बगाएको परिवारकी छिमेकीसमेत श्यामकला क्षेत्री खनालले भनिन्, ‘बेलैमा हाम्रो माग कसैले सुनिदिएको भए । माथ्लो घरका आज सबै सोत्तर हुँदैनथे ।’सोही सडकको अरु जोखिमै नभएका ठाउँमा वाल लगाउने तर ती ३ घरप्रति कसैले नसोचेको खनालले बताइन् । ‘पोहोरदेखि नै सानो सानो पहिरो जान थालेको हो । वर्षौंदेखि बस्दै आएको घरमाथिबाट सडक गएदेखि भलपानी त सधैं आउँथ्यो, कुनबेला पहिरोले पुर्ने हो भन्ने डर हुन्थ्यो,’ उनले भनिन्, ‘अहिले पहिरोले परिवारै बगाउँदा कठै भन्नेहरुले हिजो हाम्रो मागै सुनेनन् ।’


सडककै कारण एउटा परिवारको विभत्स मृत्यु भएको र आफूहरुको घर परिवार नै बिस्थापित भएको सोही ठाउँकी रेनुका क्षेत्रीले बताइन् । ‘माथिल्लो घरको एक जनाबाहेक सबैलाई लगिहाल्यो । हामी पनि अब यो ठाउँमा कसरी बस्न सक्छौं,’ क्षेत्रीले भनिन्, ‘सोच्नेले बेलैमा नसोचिदिएपछि आज यो दिन देख्नुपर्‍यो ।’वालिङ नगरपालिकाका मेयर दिलिपप्रताप खाँडले सडक खनेदेखि नै त्यहाँका परिवारलाई डर थपिएको र बिहीबारको घटना पनि सडककै कारण भएको बताउँछन् । सानो सानो पहिरो जाँदा नगरपालिकाले प्लास्टिक लगाएर रोकथाम गर्ने गरेको भए पनि विभागले खनेको सडक भएकाले आफूहरुले केही गर्न नसकेको उनको भनाइ छ ।‘त्यहाँका वासिन्दाले मन्त्री र विभागका मान्छेलाई बाटो नै छेकेर कुरा राखेको पनि सत्य हो । उनीहरु वाल घर सुरक्षित हुने गरी वाल लगाइदिन भने,’ मेयर खाँडले भने, ‘विभाग अन्तर्गत टेन्डर निस्किएर केही काम पनि भएको हो । तर, तिनै घर भएतिर कसैको ध्यान गएन ।’


त्यो ठाउँ पहिलेदेखि नै जोखिम क्षेत्र हो भने पनि विकल्पसहित उनीहरुको स्थानान्तण गर्न सरकारी निकायले ध्यान दिनुपर्नेमा बेवास्ता गरेको स्थानीय बताउँछन् । विभागको सडक नगरपालिकाको अधिकार क्षेत्रभित्र नपर्ने भएर पनि त्यहाँ आफुहरुले वाल लगाउने काम गर्न नसकेको उनको भनाइ छ ।सोही ठाउँका वडाध्यक्ष झम्मरबहादुर श्रेष्ठले सडकले जोखिम निम्त्याएको र त्यहाँ पानीको मूलसमेत भएकाले पहिरो खसेको बताए ।त्यो बेला ३ करोड रुपैयाँमा सडकको ट्रयाक खोल्ने र रिटेनिङ वाल बनाउने ठेक्का पाएको निर्माण व्यवसायी मनोज श्रेष्ठले बताए । ‘हामी त निर्माण व्यवसायी हौं । जहाँ जस्तो ठेक्का पाएका छौं, त्यही गर्छौं,’ श्रेष्ठले भने, ‘जिम्मा पाएको ठाउँमा वाल लगाएका हौं ।’आर्थिक वर्ष ०७५/०६६ मा १ करोड रुपैयाँमा सुधार गर्ने काम भएको तर यो प्राकृतिक हिसाबले पहिले नै त्यो ठाउँ जोखिमयुक्त रहेको सडक डिभिजन कार्यालय पोखराका डिभिजन इन्जिनियर सुनीलबाबु पन्तले बताए ।सीमित बजेटले सन्तुलित हिसाबले काम गर्नुपर्ने भएकाले सबै ठाउँमा विचार पुग्न नसकेको पनि हुन सक्ने र आफुहरुले पानी व्यवस्थापनको काम भने भएको पन्तको भनाइ छ । साभार अनलाइन खबर 

कमेन्ट गर्नुहोस्