
विगत ६ महिनादेखि बन्द रहेका हलहरु कहिले खुल्छन् अझै टुंगो छैन । नेपालीहरुको ठूलो पर्व दशैं आउन एक महिना पनि बाँकी छैन । दशैंमा नेपाली चलचित्रको राम्रो व्यापार हुने गर्दछ । अघिल्ला बर्षका रेकर्ड हेर्दा पनि दशैंमा रिलिज भएका चलचित्रले राम्रो कमाई मात्र गरेका छैनन्, चलचित्र क्षेत्रलाई गतिशिल बनाउन ठूलो भूमिका पनि खेलेका छन् । दशैं लगतै तिहार पनि सुरु हुने भएकाले यो समयमा चलचित्र रिलिज गर्न निर्माता तछाडमछाड नै गर्छन् ।तर, यो बर्षको दशैंमा हल संचालनमा आउँछन् या आउँदैनन् भन्ने नै अन्यौल छ । हल व्यवसायीहरु भने दशैंमा चलचित्र हल संचालन हुनेमा आशावादी छन् ।
हल व्यवसायी कपिल द्धाले सामाजिक संजालमा स्टाटस लेख्दै दशैंमा कुन चलचित्र रिलिज हुन्छ होला भनेर सोधेका छन् । उनले, हल खोल्न हल व्यवसायी तयार भएको भन्दै निर्मातालाई चलचित्र रिलिजको मिति तय गर्न आग्रह गरेका छन् ।सरकारले आन्तरिक हवाई उडान, रेष्टुरेन्ट, लामो दुरीका गाडी संचालन गरिसकेकाले पनि हल खोल्दा कुनै समस्या नहुने उनीहरुको तर्क छ । पूर्ण क्षमतासहित यात्रु बोकेर हवाइजहाज उड्दा कोरोना नसर्ने, सुरक्षित उपाय अपनाएर हल संचालन गर्दा कोरोना सर्ने भन्ने नहुने तर्क चलचित्र संघका पूर्व अध्यक्ष प्रदिपकुमार उदयको छ ।हल व्यवसायीहरु दशैंमा हल खुल्ने र दर्शक पनि हलसम्म आउने दाबी गरिरहेका छन् । तर, चलचित्र निर्माण गरेर बसेका कुनै पनि निर्माताले दशैंमा चलचित्र रिलिज गर्ने योजना बनाएको देखिदैन । अहिलेसम्म, हल खुलेको अवस्थामा चलचित्र ‘लक्ष्मीपूजा’ रिलिज गर्ने योजना निर्माता शोभित बस्नेतले बनाएका छन् ।
बलिउड चलचित्रले पनि दशैं लक्षित रिलिज मिति तय गरेका छैनन् । बलिउडमा त चलचित्रको नै अभाव छ । यस्तो अवस्थामा को अगाडि सर्ने भन्ने दुविधा देखिएको छ । दशैंमा हल खुले के निर्माता चलचित्र चलाउन तयार छन् त ?
कमेन्ट गर्नुहोस्