लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

६ महिनापछि धमाधम सञ्चालनमा आउन थाले होटल, स्वास्थ्य सुरक्षामा कडाइ

IMG

बुटवल । रुपन्देहीमा साना होटलहरुसँगै तारे होटलहरु पनि सञ्चालनमा आउन थालेका छन्। कोरोना महामारीसँगै गरिएको लकडाउन खुकुलो भएपछि होटल तथा रेष्टूरेण्टहरु सञ्चालनमा आएका हुन् । होटल व्यवसायी संघ,रुपन्देहीले यसअघि नै निर्णय गरेअनुसार असोज १ गतेदेखि जिल्लामा ठूला तथा साना होटलहरु सञ्चालनमा आएका छन्। विश्वव्यापी कोरोना महामारीसँगै मुलुक बन्दाबन्दीका कारण ६ महिनादेखि ठप्प होटल व्यवसाय सञ्चालनमा आएपनि ग्राहकको चहल–पहल निकै कम भएतापनि आंशिक रुपमा कर्मचारी राखी सञ्चालनमा ल्याइएको होटल एशोसियशन नेपाल(हान)का केन्द्रीय सदस्य गोपाल रानाले बताए ।


बाह्य पर्यटकहरुलाई लक्षित गरी खोलिएका तारे होटल तथा ठूला होटलहरुमा अधिकांशले २५ प्रतिशतभन्दा कम कर्मचारीहरु राखेर सञ्चालनमा ल्याएका छन् । तीनतारे ‘थ्री स्टार ’ मान्यता प्राप्त ड्रिमल्याण्ड गोल्ड रिसोर्टका सञ्चालक समेत रहेका रानाले महामारीले बाह्य पर्यटकहरुको आगमन नहुनु तथा आन्तरिक पर्यटकहरु समेत नआउँदा होटलहरु सञ्चालनमा आएपनि कारोबार भने ठप्प जस्तै भएको बताए । ‘विशेष गरी तारे होटल तथा अन्य ठूला होटलहरु बाह्य पर्यटक लक्षित भएको हुँदा सञ्चालनमा आएपनि आर्थिक कारोबार नगन्य नै हुन्छ ।’–रानाले भने, महामारीले ठूला साना सबै होटल व्यवसाय आर्थिक रुपमा धरासायी बनेका छन् । सय बढी कर्मचारी रहेको होटलमा हाल १५देखि २० जना मात्रै कर्मचारीहरुले काम गरिरहेको उनले बताए ।हाल होटलमा आउने आगन्तुक र कर्मचारीहरुमा स्वास्थ्य सुरक्षा अपनाई ग्राहकको माग अनुसारका सेवा प्रदान गर्दै आएको रुपन्देहीको तिलोत्तमा नगरपालिकामा संचालित ड्रिमल्याण्ड गोल्ड रिसोर्ट चलाएका रानाको भनाइ छ।  

कमेन्ट गर्नुहोस्