लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

कोरोना संक्रमणको उच्च जोखिममा लुम्बिनी प्रादेशिक अस्पताल

tillotmacitynews - 2020 Sep 22 08:31 PM
IMG

अस्पतालमा उपचारको लागि आउनु भएको त छैन ? यदि हो भने तपाई कोरोना भाईरस संक्रमणको उच्च जोखिममा हुनुहुन्छ । अस्पताल व्यबस्थापनले महामारीको रुपमा फैलिएको कोरोना भाईरस भए/नभएको परिक्षण गर्ने ज्वरो क्लिनिक र स्वाव संकलन गर्ने स्थान अन्य थुप्रै सेवा प्रवाह भैरहेको स्थानको बिचमा राखेका कारण अन्य रोगको उपचारमा आएका बिरामीलाई कोरोना भाईरस संक्रमणको उच्च जोखिम देखिएको हो । अस्पताल प्रशासनले कोरोना भाईरस संक्रमण भएको आशंकामा पीसीआर परिक्षण गर्न आउने बिरामीको लागि अस्पतालको उत्तर तर्फको मुल गेटसंगै पश्चिम पट्टी ज्वरो क्लिनिक सञ्चालन गर्दै आएको छ । त्यस्तै मुलगेटसंगै पूर्वतर्फ आकस्मिक बिरामीहरुको कुरुवा बस्ने ठाउँ व्यबस्थापन गरेको छ भने त्यससंगैको कोठामा पीसीआर परिक्षण गर्नको लागि स्वाबसंकलन गर्दै आईरहेको छ। 


त्यस्तैगरी ज्वरो क्लिनिक र स्वाव संकलन गर्ने स्थान नजिकै अस्पतालको आकस्मिक कक्ष, अस्पतालको फार्मेसी, साझा औषधी पसल सञ्चालनमा छन् । क्षयरोग, कुष्टरोग, एचआईभि भएका बिरामीलाई औषधी उपचार, त्यस्तै गर्भवती जाँच तथा नवजात शिशुलाई खोप लगाउन र ओपीडी समेतका बिरामी तथा उनका सहयोगी समेत पनि त्यही बाटो भएर ओहोर दोहोर गर्नुपर्छ ।दैनिक सयौं बिरामी तथा उनका सहयोगी आउजाउ गर्ने ठाउँमा पीसीआर परिक्षण गर्ने व्यबस्था गर्नुले महामारीको रुपलाई अझै बढवा दिने कतिपयको विश्लेषण छ । पीसीआर परिक्षण गर्नको लागि संक्रमण नभएका व्यक्ति मात्रै आउँदैनन् । संक्रमित समेत आफू संक्रमण मुक्त भए/नभएको पत्ता लगाउन पटक–पटक परिक्षण गर्ने गरेका छन् । संक्रमित भएका व्यक्तिहरुलाई समेत त्यहा छुट्टै लाईनेको सम्म पनि व्यबस्था छैन । संक्रमणको आशंकामा आएको र संक्रमित एउटै लाईनमा बस्दा नभएका व्यक्तिलाई समेत संक्रमणको जोखिम बढी देखिएको हो ।


अन्य क्षेत्रमा सामाजिक दुरी कायम गर्न र मास्क तथा सेनिटाईजरको प्रयोग गर्ने लगायतका स्वास्थ्य उपकरणको प्रयोगमा जोड दिने स्वास्थ्य संस्थामा आउने बिरामी तथा उनका सहयोगीलाई कुनै सामाजिक दुरी व्यबस्थापन गरिएको पाईँदैन । त्यस्तै मास्कको समेत सही प्रयोग भएको देखिँदैन । कोरोना संक्रमण भएका बुटवलका एक व्यक्ति पुनः परिक्षणका लागि ४ पटक पुगेको र त्यस क्रममा अस्पतालले छुट्टै लाईनको व्यबस्था नगरेका कारण सबैसंग एउटै लाईनमा बसेर स्वाव दिएको बताए । अस्पतालको मुल गेटमै ती बिरामीको लाईन हुनु भएकाले अन्य बिरामी समेत उनीहरुको संपर्कमा नआई नहुने बाध्यता छ ।


यस बिषयमा अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ड डा. राजेन्द्र खनालले अस्पताल भित्र ठाउँ नभएका कारण जसोतसो पीसीआर परिक्षणको सेवा प्रदान गरिएको बताउनु भयो । उहाँले भन्नुभयो–‘सेवा बन्द गर्न पनि सकिएन, बाहिरैबाट स्वाब संकलन गर्ने सोचेका थियौं, त्यो पनि भएन ।’ हाल अस्पतालमा दैनिक सरदर ७ सय जना बिरामी उपचारका लागि आउने गरेका छन् । त्यस्तै अस्पतालले सञ्चालन गरेको कोरोना परिक्षणको लागि दैनिक सरदर ३ सय जनाको स्वाव संकलन हुने पनि उहाँले जानकारी दिनुभयो ।

कमेन्ट गर्नुहोस्