लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

सालकको अवैध कारोवारी १० जना प्रहरीको नियन्त्रणमा

IMG

बुटवल, भदौ ३० । प्रहरीले दुर्लभ वन्यजन्तु सालकको कारोवारमा सम्लग्न १० जनालाई नियन्त्रणमा लिएको छ ।बिशेष सुचनाका आधारमा इलाका प्रहरी कार्यालय बुटवलको टोलीले बुटवल ५ नेपालगञ्ज रोडबाट उनीहरुलाई सालकसहित पक्राउ गरेको हो ।भदौ २६ गते प्रहरी टोलीले सवारी साधन चेक जाँच गर्ने क्रममा ग २ च ९३१९ नम्बरको कारको पछाडिको बस्ने सिटको मुनी २ थानसालकको छाला फेला पारेको थियो ।उक्त दिन प्रहरीले कार चालक गोर्खाको शहीद लखन गाउँपालिका वडा नम्बर १ बस्ने वर्ष २५ को अशोक रोका सहित गोर्खाकै सिरानचोक गाउँपालिका वडा नम्बर ६ बस्ने खुसिमान गुरूङ र टिका गुरूङ अर्घाखांची छत्रदेवका राजेन्द्र रावल र गुल्मीको धुर्कोटका प्रकाश सुनारलाई नियन्त्रणमा लिएको थियो ।


भदौ २६ गते नियन्त्रणमा लिएकाहरुको सुराकीका आधारमा मंगलवार अपरान्ह प्रहरीले बुटवलकै नेपालगन्ज रोडबाट जिउदो सालक सहित थप ५ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरिक्षक प्रविण पोखरेलले बताए ।

पक्राउ पर्नेहरुमा सिराहा नगरपालिका ७ बस्ने मनोजकुमार कर्ण, सिन्धुलीको तिनपाटन गाउँपालिका ३ बस्ने लोकबहादुर तामाङ र लालबहादुर तामाङ, सर्लाहीको हरिओम गाउँपालिका १० बस्ने सूर्य लामा र उदयपुर गाईघाट नगरपालिका १ बस्ने नेत्रमाया राना रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक खड्कबहादुर खत्रीले जानकारी दिए।


उनीहरुले दुर्लभ वन्यजन्तु सालकलाई लुकाईछिपाई साथमा लिएर हिँडेको अवस्थामा मंगलबार दिउँसो पक्राउ गरिएको खत्रीले जानकारी दिए । बरामद गरिएको सालक, सालकको छाला र नियन्त्रणमा लिईएका सबैलाई वन्यजन्तु कसुर सम्बन्धी कारबाहीको लागि डिभिजन वन कार्यालय भैरहवा पठाइएको प्रहरीले जनाएको छ ।बिश्वमै दुर्लभ मानिएका ८ प्रजातीका सालक मध्ये २ प्रजातीका सालक बिशेष गरेर नेपालको महाभारत र चुरेक्षेत्रमा रहेका मकवानपुरा,धादिंङ,काभ्रेपलान्चोक, सिन्धुपाल्चोक लगायतका जिल्लाहरुमा पाईने गर्दछ ।जिल्ला प्रहरी प्रमुख पोखरेलका अनुसार सालकको मासु खानका लागि सिकार गरीने भएपनि सालकको छालाबाट चिनियां परम्परागत बहुमुल्य औषधी बनाउनका लागि चोरी सिकार गरी अवैध ढंगले बेच बिखन हुने गरेको छ ।


यस्तै प्रहरीले रुपन्देहीका विभिन्न नाकाबाट भन्सार छली भारततर्फ लैजाँदै र नेपाल तर्फ ल्याउँदै गरेका सामान बरामद गरी आन्तरिक राजश्व कार्यालय बुटवल र भन्सार कार्यालय पठाएको जनाएको छ।प्रहरीले ६ हजार ९ सय ७५ किलो केराउको दाल र एक ट्रक छोडा भन्सार छली नेपालबाट भारततर्फ लैजांदै गर्दा बरामद गरिएको जनाएको छ।त्यस्तै भारतबाट नेपालतर्फ ल्याउँदै गरेको किराना सामान, अष्ट्रिजको दानासमेत बरामद गरी भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ। बरामद गरिएका सामानको बजार मूल्य करिब २० लाख रुपैयाँ रहेको प्रहरीको भनाइ छ।

कमेन्ट गर्नुहोस्