लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

बिद्यालयको पाठ्यक्रम र विद्यार्थी

IMG
पदम भुसाल बुटवल । नेपालको शिक्षा पद्धति र विद्यार्थीको अवस्था कहालीलाग्दो छ । माध्यमिक तह उत्तीर्ण बिद्यार्थीले नेपालीमा सम्पर्क नम्बर दिएमा शुद्धसंग लेख्न जान्दैनन् । सामान्य कसैले ऋण लगेमा फिर्ता गर्ने बेलामा सावाँको ब्याज कति हुन्छ भनेर हिसाब निकाल्ने सामर्थ्य अधिकांश विद्यार्थीमा छैन।विद्यार्थी आफ्नो सामान्य स्वास्थका बारेमा अनविज्ञ छन्। कक्षा दसमा पढेको एघारमा बिर्सन्छ अनि कक्षा एघारमा पढेको बाह्र मा पुग्दा नपुग्दै बिर्सन्छ।सय पूर्णाङ्कमा बत्तीस ल्याएर कुनै विद्यार्थी कुनै विषयमा उतीर्ण भई दक्ष साबित हुन्छ।सय पूर्णाङ्क मा बत्तीस भनेको त्यो विद्यार्थी उक्त बिषयमा कतिको दक्ष वा दखल राख्छ यसको बारेमा कसैले मुल्याङ्कन गर्दैन।आधाअाधी विद्यार्थी बिद्यालय वा कलेज बाध्यता र कसैलाइ देखाउनका लागि जान्छ्न् अनि अभिभावक छोराछोरी विद्यालय गएका छन भोली राम्रो मान्छे बन्छ्न् भनी सपना बुनेर बस्छन। अधिकांश अभिभावकलाई आफ्ना छोराछोरी पढ्ने बिद्यालय कलेज चिन्दैनन् न त अधिकांश विद्यालयले अभिभावक भेला नै गर्छ।नेपाल सरकारले गत साल देखि साक्षरता बढाउने भनेर कोहि पनि फेला नहुने नीति अवलम्बन गरेको छ।सय मा बीस ल्याउने विद्यार्थीले माथिल्लो कक्षा पढन पाउने।क्या गजब नीति,यसो गर्दा विद्यार्थीको पढाइ खस्केको छ।विद्यार्थीले मेहनत गर्न छाडिसकेका छन भने विद्यार्थीमा प्रतिस्पर्धाको भावनमा हराएको छ।एक बर्षमा बल्लतल्ल २२० दिन बिद्यालय खुल्छ तर विद्यार्थी कति दिन बिद्यालय उपस्थिति हुन्छ कसैले मुल्याङ्कन गर्दैन।विद्यार्थीलाइ केही कुराको बन्देज छैन संसारका सबै व्यक्ती ले प्रयोग र उपभोग गर्ने सबैथोक विद्यार्थीका लागि छुट छन्
विद्यालयमा अनुशासनको विषय, नैतिकताको विषय,नागरिकको कर्तव्य र अधिकारको बिषय,रास्ट्र र राष्ट्रियताको बिषय,देशको कानुन र नियमको विषय यस्ता कुनै पनि बिषयमा पढाइ हुँदैन ।यस्ता बिषयलाई पाठयक्रममा किन समेट्न सकिंदैन ?कि यी बिषयसंग सम्बन्धित विशेषज्ञ नै छैनन् नेपालमा?छन् भने किन आवाज उठाउँदैन्न? बिद्यार्थीलाई आफ्नो क्षेत्र अधिकारका बारेमा समेत ज्ञान छैन।विद्यालय ब्यवस्थापन समितिमा विद्यार्थीको प्रतिनिधित्व खै?उपभोक्त समितिमा विद्यार्थीको प्रतिनिधित्व खै?वडा , नगरपालिकामा विद्यार्थी को सहभागीता खै? सामाजिक सुधार गर्ने उद्देश्यले खोलीएका संस्थामा विद्यार्थीको भुमिका के? समाजको कुन क्षेत्रलाई विद्यार्थीले प्रतिनिधित्व गरेर काम गरेको छन्? सामान्य स्वास्थ चौकीमा कति प्रकारका औषधि पाईन्छन्? अधिकांश विद्यार्थीलाई थाहा छैन। वडा , नगरपालिकाको क्षेत्र अधिकार कति? र त्यी संस्थाबाट के कस्ता सेवासुबिधा पाइन्छन्? यी र यस्ता बिषयमा के विद्यार्थीले दखल राख्नु पर्छ कि पर्दैन?सामान्य भन्दा सामान्य कुराको ज्ञान नहुँदा विद्यार्थीले आफुले पाउनु पार्ने अधिकार बाट पनि वन्चित हुनुपरेको छ। जसले गर्दा दलित कोटामा दलितको छोराछोरी पर्दैन न त जनजातिको कोटामा जनजातिका छोराछोरी पर्छन् । ।आफ्नो अधिकारको अरु कसैले दुरुपयोग गर्नुमा तपाईंको अनविज्ञताको पनि ठुलो हात हुनसक्छ।
सरकारी र सामुदायिक बिधालय भन्दा पृथक ठान्ने निजी बिधालयले पनि समयसापेक्ष शिक्षालाई जोड दिन खासै सकेको जस्तो देखिदैन।निजि बिधालयबाट निस्केका अधिकमास विद्यार्थी बिदेश पलायन भएका छन त्यी मध्य कोहीले बिदेशमा पनि राम्रै स्थान पाएका छन भने त अधिकामसले सामान्य स्थरको काममा चित्त बुझाउन परेको छ। ।निजि विद्यालय बाट उत्पादित बिद्यार्थीले स्वदेशका लागी कति योगदान गरे त्यसको लेखाजोखा गर्ने हो भने सरकारी र सामुदायिक विद्यालय भन्दा धेरै पछि छ निजि विद्यालय।निजि विद्यालयले विद्यार्थी बाट उठाउने शुल्क, निजि विद्यालयको पोसाक र पाठयक्रमको भारका बारेमा सम्बन्धित निकाय किन मौन छ?
नेपालमा पाठयक्रम समय सापेक्ष र ब्यबहारिक छैन।हाम्रो विद्यालयमा पढाउने पाठयक्रम पढाउने समयसम्मका लागि मात्र हो कक्षा कोठा बाट निक्लेपछी त्यसको खासै काम हुँदैन।प्राविधिक शिक्षा विद्यालयमा छैन।बाहिर गएर चर्को मूल्य तिरेर प्राविधिक शिक्षा पढ्ने विद्यार्थीलाई हामीले कम्जोर विद्यार्थी भनेर बिश्लेलेषण गर्छौं, किनकि नेपालको सन्दर्भमा कमजोर बिद्यार्थीले पढ्ने शिक्षा प्राविधिक शिक्षा हो भन्ने गलत मानसिकताको बिकास भएको छ।जसले गर्दा मेहनती बिद्यार्थी त्यस क्षेत्रमा जान खासै चाहदैन र समाजको संकीर्ण सोचका कारण जान चाहने विद्यार्थी पनि खुम्चीएर बस्नु परेको छ।

कृषिमा ८० प्रतिशत जनसंख्या आबद्ध छ तर ५० प्रतिशत जनसंख्यालाई पनि खान पुग्दैन किनकि हामीले कृषिमा अझै पनि प्रविधिको प्रयोग गरेका छैनौं न त कृषकसंग कृषि सम्बन्धि तालीम र ज्ञान नै छ।कृषिलाई सम्मानित पेशाको रुपमा स्वीकार्न नसक्दा पढे लेखेका कोहि पनि कृषि गर्न रुचाउँदैन।पहिचान गर्ने अभावका कारण हाम्रा जडिबुटीले बजार पाउन सकेका छैन्न।पानी बगेर खेर गहिरहेको छ न त सिँचाइ गर्न सक्यौं ,न त बिजुली निकाल्न ।यस्तो कहालीलाग्दो अवस्था कहिले सम्म बेहोर्नु पर्ने हो नेपालले?हाम्रो देशको श्रोत र साधनको उपभोग गर्न सकिने प्राविधिक र व्यवहारिक ज्ञान् विद्यालय र कलेजमा पढाई हुनेहो भने हाम्रै देशको श्रोत र साधनले देशको समृद्धिको खाका कोर्न सकिन्छ।
अबको निकास र विकास भनेकै विद्यालय मा जुन बिषय पढाई हुन्छ त्यो कुरा वास्तविक जीवनमा उपयोगी खालको हुनुपर्यो।अबको शिक्षा पद्धतिले विकास र समृद्धिको गोरेटो खन्न सक्नुपर्छ त्यसका लागि आवश्यक छ प्राविधिक ज्ञान र जीवनोपयोगी शिक्षा ।
अब पनि शिक्षाक्षेत्र र पाठयक्रममा ध्यान नपुर्‍याउने हो भने स्नातकोत्तर उत्तीर्ण हाम्रा विद्यार्थी खाडि जानुपर्ने बाध्यतालाई कसैले रोक्न सक्दैन।जीवनउपयोगी पाठयक्रमको विकास गरि प्राविधिक ज्ञानलाई जोड दिऊँ ।कुनै विषयमा दक्ष व्यक्तीले आफ्नै देशमा गरि खान पाईन्छ भन्ने कुराको सुनिश्चित गरौं।यसो गर्न सकेमा हामीले भनेजस्तै सुखी नेपाली समृद्ध नेपाल बन्न लामो समय लाग्ने छैन।

कमेन्ट गर्नुहोस्