
विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले कोरोना रोकथाम र नियन्त्रणको काममा अरु प्रदेशले भन्दा प्रभावकारी काम गरेको दावी गरेका छन् ।
बुधबारको प्रदेशसभा बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै मुख्यमन्त्री राईले कोरोना महामारीका विरुद्ध प्रदेश सरकारले अलमल नगरी योजनाबद्ध रुपमा काम गरिरहेको बताए ।
कोरोना संक्रमितको उचारको लागि कोभिड अस्पताल बनाएको, परीक्षणको दायरा विस्तार गरी १३ हजार बढीको पीसीआर विधिबाट कोरोना संक्रमण परीक्षण गर्नु प्रदेश १ को उपलब्धी रहेको उनले बताए । मुख्यमन्त्री राईले प्रदेश सरकारले ५० हजार जनाको पीसीआर परीक्षण गर्ने पनि जानकारी गराए ।
कोरोनाको महामारी र लकडाउन एउटै अवस्थामा नरहने बताउँदै उनले भौतिक दुरी र सुरक्षा सतर्कता अपनाएर सबै काम सञ्चालन गर्ने बताए ।
स्थायी संरचना पनि बनाइन्छ
मुख्यमन्त्री शेरधन राईले प्रदेश राजधानीका लागि नयाँ संरचना आगामी वर्षबाट निर्माण सुरु हुने बताएका छन् । प्रदेशको नामका विषयमा भने राजनीतिक दलहरूसँगको सहकार्य र छलफलबाट टुंगोमा पुगिने उनले बताए ।
नामांकनको विषय प्रदेशसभाको क्षेत्राधिकारभित्र रहेको बताउँदै उनले सबै दलको सहमतिमा प्रदेश सभाले पारित गर्ने बताए ।
नीति तथा कार्यक्रम पारित
प्रदेश १ सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रदेश सभाबाट बहुमतले पारित भएको छ । २३ जेठमा सभामा प्रस्तुत भएको नीति तथा कार्यक्रममाथिको छलफलमा तीन दिनसम्म सत्ता र प्रतिपक्षका जम्मा ५२ सांसदले भाग लिएका थिए ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भने नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्यो । नीति तथा कार्यक्रम संशोधन गर्न कांग्रेसका सांसद केदार कार्की र शेखरचन्द्र थापा र समाजवादी दलका नेता जयराम यादवले संशोधन प्रस्ताव दर्ता गराएका थिए ।
तर बुधबारको बैठकमा यादवले संसोधन फिर्ता लिएका थिए ।कांग्रेसले मोरङको मंगलबारेस्थित प्राथमिक स्वास्थ्य केन्द्रलाई स्वर्गीय नेकपा नेता मदन भण्डारीको नामको बनाउन नहुने, ४५ करोडको राहत प्याकेजलाई बढाउनुपर्ने, यही वर्ष प्रदेशको नामाकरण प्रस्ताव दर्ता गराउनुपर्ने, कोरोनासँग म लड्छु भन्ने कार्यक्रम सञ्चालन गराउनुपर्ने माग गरेको थियो ।
कमेन्ट गर्नुहोस्